कलेज जीवनको पहिलो अनुभूति - भानुभक्त क्याम्पस, बेलचौतारा, तनहुँ
ट्रिर्रिङ… ट्रिर्रिङ… ट्रिर्रिङ…
मोबाइलको अलार्मले निद्राको संसार चिर्दा, म कसैको सपना अधुरो बनाएर फर्किएको यात्रु झैँ आँखामै अलमलिँदै उठें। मोबाइल हेर्दा बिहानको पाँच बजिसकेको रहेछ।
“ओहो! आज त कलेजको पहिलो दिन! यस्तो अबेरसम्म सुतिन्छ?”
स्वगत संवादमा मैले आफैंलाई धिक्कार्दै ओछ्यानबाट उफ्रिएँ।
बिहानको चिसोमा हात-मुख धोएँ, कपडा फेरेँ, जुत्ता पोलिस गरेँ अनि आत्तिएको मनलाई चिया र पाउरोटीले अलिकति शान्त पारें। झोला बोकेर सडकमा निस्कँदा गाउँको त्यो कचकचबिहीन स्वतन्त्रता सम्झिँदै थिएँ—सहरमा अबेर उठ्दा पनि कसैले केही भन्दैन, तर आज भने अबेर उठ्नु अपराधझैँ लागिरहेको थियो।
बस चोकमा ढिलो आउँदा रिस उम्लिए पनि केही गर्न सक्दिनँ भन्ने बुझाइले शान्त पार्यो। अखेर पाँच–दस मिनेटपछि बस आयो। बसभित्र नजर घुमाउँदै गर्दा छेवैमा भेटिएकी एउटा सुन्दरी केटीले ‘बस्नुहोस्’ भनिन्।
सुरु भयो संवाद—उनको बोलीमा अपरिचित ठाउँको आत्मीयता मिसिएको थियो। “मालेबगरकी हुँ,” उनले भनिन्।
“ओ, म त भानुभक्त झर्ने हो।”
उनको हाँसोमै मेरो गन्तव्य छुट्यो, खलासीलाई खप्की दिने साहस पनि उही उपस्थितिले भरिदिएको थियो। नाम र नम्बर लिन नपाएको पीर भने मनभरि बाँकी रह्यो।
मंसिरको चिसो बिहान, कालो हुस्सु र सुनसान वातावरणबीच म ‘भानुभक्त बहुमुखी क्याम्पस’ लेखिएको गेटबाट भित्र पसेँ। अपरिचित अनुहारहरूको बीचमा आफ्नो ठाउँ खोज्दै म एक कक्षाकोठातिर लागेँ।
“बी.एड. फर्स्ट इयर कहाँ हो?” मैले डरपोक स्वरमा सोध्दा, मोबाइलमा व्यस्त रहेकी एउटी केटीले भित्र बस्न इशारा गरिन्। उनको ‘समीक्षा’ जस्तो लाग्ने नाम कानमा बजिरह्यो तर पक्का भएन।
सुरुका प्रश्न–उत्तरहरू एक रेडियो अन्तर्वार्ताजस्तै थिए—उनी ब्राइटचोककी, म स्याङ्जाको मल्याङकोट। यी स-साना परिचयले अपरिचित सहरलाई चिन्न सुरु गराइरहेका थिए।
त्यतिबेला साथी सुमन भेटियो, अनि पढाइ सुरु भयो। तर कस्तो विडम्बना—कुन विषय पढ्दै छु थाहा नभई नोट टिप्दै गरेको आफूलाई हेर्दा हाँसो पनि उठ्थ्यो। सरहरू परिचय नै नगरी नोट्स लेखाउँथे, केही कठोर, केही हँसिला, तर सबैकै अनुशासनको स्वाद फरक–फरक।
कक्षामा केटीहरूको भीड, केटा मात्र चार–पाँच। कतिपयको हाँसो बुझ्नै नसकिने, कतिपयको कठोर स्वरले कोठा कम्पाइ दिने।
नेपाली पढाउने म्याडम आएपछि हल्ला रोकियो, तर दुई जना केटी चुपचाप बाहिर निस्कँदा कसैले रोक्न सकेन।
त्यो दृश्यले मलाई कलेज जीवन नर्सरीको स्वतन्त्र कक्षाजस्तै लाग्यो—मन लागे बस्ने, नत्र हिँड्ने।
तर सबै सरहरू एउटै शैलीका थिएनन्। अन्तिममा आएका अंग्रेजीका सरले पहिलोपटक मेरो परिचय गराएर कक्षाको वातावरण न्यानो बनाइदिनुभयो। उहाँको पढाइ मिठासले भरिएको थियो, तर हप्ता दिनमै सरुवा हुँदै हुनुहुन्छ भन्ने कुरा सुन्दा मनमा चिसो पस्यो।
पहिलो दिनकै अनुभवले मलाई बुझायो—कलेज भनेको मित्रता, स्वतन्त्रता र जिम्मेवारीको संगम रहेछ। साथीहरूले भनेझैँ “कलेज त टाइम पास हो” भन्ने कुरा अधुरो सत्य मात्रै रहेछ। वास्तवमा, कलेज पनि स्कुलकै निरन्तरता हो, जहाँ अनुशासन र स्वतन्त्रता दुबैलाई सन्तुलनमा राख्न सक्नुपर्छ।
सहरको पहिलो दिनमा पाएको अपरिचित आत्मीयता, खलासीलाई हप्काउन आएको अनौठो साहस, समीक्षाजस्तो लाग्ने नाम र अन्तिम सरको आत्मीय व्यवहार—यी नै मेरो कलेज जीवनको सुरुवाती पृष्ठका अक्षर बने।
Post a Comment