ब्लाक भ्यालेन्टाइन (Black Valentine)

0
Black Valentine by Bikas Gurung
✍ बिकास गुरुङ 'उदासी'
जीवन यस्तो उकाली ओराली हो जुन हिँडेर सकिँदैन, जीवन यस्तो रहस्य हो जुन खुलेर सकिँदैन । जीवन एउटा किताब हो जो पढेर सकिदैन अनि जीवन यस्तो रहस्य हो जो खोलेर सकिँदैन । अनन्तः जीवनयात्राको दोबाटोमा कयौं साथीहरु आए । कतिबाट सुख दुःखमा साथ पाएँ, कतिबाट निर्दोष चरित्रमा दाग लाग्ने गरी लात खाएँ । कसैबाट सुमार्गमा हिँड्न हात पाएँ त कसैबाट झेली र मिठा बात पाएँ । कतिले हँसाए कतिले रुवाए । कति आफै जले कतिले जलाए । कसैले मबाट अलिक बढीनै आश गरे जसको इच्छा पूरा गर्न मैले सकिन र उनीहरुको अहममा चोट पुर्याएँ । त्यस्तै कयौबाट मैले पनि अलिक बढीनै आश गरें जसले मेरो इच्छा पुरा गराउन सकिन र मेरो अहममा चोट पुग्यो । तर तितो सत्य कुरा म दुखी हुँदा मैले आफ्नो भावनामा चोट पुर्याएको सम्झें र उनीहरु दुखी हुँदा मैले उनीहरुको भावनामा चोट पुर्याएको सम्झे । राम्रो माने होलान नहोलान त्यो उनीहरुलाई नै थाहा होला । मैले पनि राम्रो माने नमाने यहिँ मनलाई थाहा छ । यस्तै यस्तै अनगिन्ती चोटहरुबाट मैले फलस्वरुप एउटा निष्कर्ष निकालें । त्यो हो - हामीले कसैबाट केही कुराको चाहना राख्न छोड्नुपर्छ जसले हाम्रो पवित्र साइनोमा कालो पर्दा उघारिदिँदो रहेछ । आखिर जे होस् : जो मेरो हाँसो, आँसु, दुःख, सुखमा सहयात्रीको रुपमा हिँड्छ उसैले मेरो यो ललिते बोलीबाट प्रसंसा पाउँछ ।
मान्छेको जीन्दगीमा हर कुराहरु रहस्यमय छ अनि निर्उत्तर पनि । आफूसँग जीन्दगीभर मोज मस्तीमा रमेर हिँड्ने ति अनगिन्ती साथीहरु जसले म जस्ता मामूली साथीको मुखबाट भक्ति पाउन सक्दैनँ तर हाम्रो मनभित्र बास भैरहेको हुन्छ सधैं त्यस्ता मित्रहरु जो हर पल दुःख सुखमा साथ दिन्छ र उनीहरूबाट पाठ सिक्न सकिन्छ अनि जीवन जीउने प्रेरणा मिल्छ । जसको अमिर छाप हाम्रो मुटुमा कहिल्यै मेटिएको हुँदैनँ । धेरै भेटिए त्यस्ता मित्रहरू जस्तो कि हाइस्कुल देखि कलेजकै कुरा गर्दा - नबिना, रिमा, रमा, दिलमाया, अनिल, पूर्णिमा, आयुश, प्रकाश, पल्लब, बिनोद, सुनम, ममता, उमा, पबित्रा, बबिता, सरु, सुस्मिता, सबिना, ईशा, सन्जू, पुनम, लक्ष्मी, मनिसा, एन्जिल, मन्जु, सिमा, सर्मिला लगायत आदी आदी । तिनले लगाएका गुणहरु धेरै छन् जो म भावनाका दुईचार शब्दहरुले विलकुलै समेट्न सक्दिनँ । थाहा छैन उनीहरूले मलाई आफ्नो सुखमा सामेल गराउलान नगराउन तर म उनीहरुको हर दुःख सुखमा सामेल हुन चाहन्छु । यदि कसैले आवश्यकता पर्दा मात्र मलाई सम्झिन्छ भने पनि म दु:ख मान्दिनँ बरु गर्व गर्छु किनकि म मान्छु; घामको किरणको महत्त्व चन्द्रमालाई औंसीमा र उज्यालो हुँदा कण कण टुक्रा टुक्रा पारेर फालिने मैनबत्तिको याद तब आउछ जब अन्धकार हुन्छ ।
सहज भाषामा भन्दा प्रेममा दुई किसिमका अन्त्य हुन्छन् : एउटा पाउनु र अर्को गुमाउनु । भन्नेले पाउनु पनि एक किसिमको अन्त्य नै हो भन्छन् तर यसबारे यकिन कसैले गर्न सकेका छैनन् । संसारमा प्रेमको परिभाषामा कैयन् ग्रन्थ लेखिएका छन् त्यति नै कविता वा गीत । त्यति नै चित्र वा फिल्म खिँचिएका होलान् तर प्रेम एउटा शाश्वत सत्य हो जसका बारेमा कुनै बहस, चिन्तन वा चर्चाको अन्त्य भएको छैन । प्रसिद्ध स्पेनिश कवि पाब्लो नेरुदा भन्छन्, मान्छेको अन्त्य हुन सक्छ प्रेमको अन्त्य छैन । नेरुदाको कविता जति सत्य हो, त्यति नै सत्य हो आजको युगमा प्रेम । नेरुदाको कविताको अन्त्यमा यति भनिएको छ, “... प्रेम मरेर जाँदैन, केवल हामी मरेर जान्छौँ ।" प्रेमका बारेमा जति पनि कथा, कविता, नाटक लगायतका साहित्य; गीत संगित, इतिहास वा नारा लेखिएका छन् त्यसका साक्षी केवल ढुँगा नै हो । त्यस्तै ढुँगामा कहिँ लेखिएको हुनुपर्छ यी पंक्ति । संसारमा हरेक युगको ढुङ्गामा प्रेमका कुरा लेखिएका हुन्छन् र प्रेमी प्रेमिकाको कुराकानी अनि व्योहोराका साक्षी पनि तिनै हुन्छन् । ती ढुँगाले कैँयौ बर्ष यही प्रेमको कथा बोकेर कुनै न कुनै मन्दिर, मस्जिद, चर्च वा नदीको किनारमा साक्षी बनेर बसेका हुन्छन् । त्यसैले यसो भनिन्छ, जुन प्रेमको खण्डहरु हुँदैन अनि त्यसको इतिहासगत कथा हुँदैन । यही कथा बोकेर हरेक बर्ष ग्रेगेरियन क्यालेण्डरको दोस्रो महिनाको १४ तारिखमा भ्याइलान्टाइन डे मनाइन्छ । यो भ्यालेन्टाइन डे यस्तै प्रेमको अभिव्यक्ति भनिने एक सवाक् दिवस हो । प्रेम आफैँ एक सवाक् प्रस्ताव हो तर काल, समय र स्थितिको चिन्ताले अक्सर प्रेमी मौन बस्छन् अनि त्यो मौनता नै कविता बन्न पुग्छ यदाकदा । भ्यालेन्टाइन डेको एउटा नारा छ, प्रेममा जो पनि साहित्यकार हुन्छन् । अनि साहित्यकारहरु पनि त्यही भन्छन्, साहित्यमा जो पनि प्रेमी हुन्छन् । दुबै कुरा सत्य हो र दुवै स्थायी पनि । भ्यालेन्टाइन डे का अवसर पारेर कैयन कविता कृति, गीति क्यासेट निकालिन्छन् र ती सबै चर्चामा आउँछन् तर के ती चर्चाले हामी भित्रको विद्यामान प्रेम गितहरुलाई संगित दिन सक्छन् त ? के सबै प्रेमीको प्रेमलाई यस दिनले सम्मान गरेको छ त ? के सबै प्रेमीको प्रेम अमर बनेका छन् । सायद पक्कै पनि छैनन् । त्यसैले मलाई भ्यालेन्टाइन मन पर्दैन । केही प्रेमको उदय हुन्छन् तर अधिकाँश प्रेम हराउँछ यहाँ । केहीले प्रेम रुपि फूललाई सिरमा सजाउँछन् त धेरैले कुल्चिएर हिँड्छन् यहाँ । सबैको मनमा कुरा खेलेकै हुन्छ, दुःख सुखमा जीवन जेलेकै हुन्छ । बस् फरक यति हो कोही आफ्नो कथा ब्यथा मनभित्रै पिल्साएर राख्छन् त कोही कहि न कहि पोख्ने वाहना खोज्छन् । थाहा छैन मैले गल्ती गर्छु या गर्दैन तर मेरो यो मन कुनै कुरा आफैभित्र पिल्साएर राख्न खोज्दैन । खैर, कथा र ब्यथा सधैंको छ मनभित्र तर आज म विशेष दिनमा बिशेश कथा लेख्न गइरहेको छु - ब्लाक भ्यालेन्टाइ
कलेजमा विगत दुई दिन पहिलेदेखि टेस्ट एक्जाम चलिरहेको थियो । एक्जाम दिएर फर्करहेको थिएँ म । टाउको ह्याङ फिल भइरहेको थियो कारण मैलो सोंचेजस्तो एक्जामा लेख्न सकिरहेको थिइन । कोठामा पुगेर पेनलाई दस मिटर परबाट टेबलमा मिल्काएँ । कलेजको ड्रेसहरु फुकालेर भित्ताको काँटीमा झुन्ड्याएँ अनि खाटमा लम्पसार पछारिए । यस्तो महसुस भइरहेको थियो मानौ एक बतल भोड्का एक्लै सित्तन बिनै फिनस बनाएर फिलिङ झ्याप भइरहेको छ । सिरक ओडेर सुत्न खोँजे तर मरिगए निद्रा लागेन । उठेर ल्यापटप खोले । ल्यापटप खुल्यो अनि साथसाथै फेसबुक पनि खोलेँ ।
दुई सय बढी नोटिफिकेसन, पचास बढी फ्रेण्ड रिक्वैस्ट र तीनसय बढी म्यासेजको संकेत देखिरहेको थिएँ । नोटिफिकेसनमा क्लिक गर्न के खोजेको थिए टिरिङ गरेर फ्रेस म्यासेज मोबाइल इन्बक्समा आइपुग्यो । मेसेज प्लस टु पढ्दा खेरिको साथीको रहेछ । अती घनिस्ट दोस्ती थियो ऊ मेरो प्लस टु पढ्दा खेरिको । हत्तपत्त ओपन गरेर हेरेँ । लेखेको थियो; ह्याप्पि प्रपोज डे बिकास, कसैलाई प्रपोज गरिस् ? मोबाइलमा उसको म्यासेज आएपछि थाहा भयो प्रेम दिवस आइरहेको छ । फेसबुकसँगै ब्राउजरको अर्को ट्याबमा ट्विटर पनि खोलें जताततै भ्यालेन्टाइन कै चर्चा परिचर्चा चलिरहेको थियो । पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित कथा तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ठानेर यसलाई प्रतिबन्ध गरेका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो - अनुशासनको सिमाभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाको हुकुम विरुद्ध लागेर विवाहका लागि प्रेरित मात्र गरेनन् एकअर्कालाई प्रेम गर्ने युवायुवतीका जोडीहरू एकत्रित गरी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । राजाज्ञा तोडेको आरोपमा ई. पू. २७० को फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि आफ्नो बलिदान गर्ने पादरीको सम्झनामा आज विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा यानकि Valentine Day भनेर मनाउने गरिन्छ ।
"थ्यानक्यु एण्ड सेम टु यु" हामी जस्तालाई कसले पो हेर्छ र यार ! थाहा छ, आफ्नो त स्यानोमा आमाले छोरालाई कसैको पनि आँखा नलागोस् भनेर निधारमा कालो टिका लगाइदिनुहुन्थ्यो, सायद त्यो कालो टिका अझै मेटीएको छैन जस्तो छ, कसैले हेर्ने आँट गर्दैन मलाई त यार । विगत दस बर्षदेखी अर्को साल त कसो गल्फ्रेण्ड नहोला र भन्दै सेकेन्ड पछि मिनेट, मिनेट पछि घण्टा, घण्टा पछि दिन, दिन पछि हप्ता, हप्ता पछि महिना अनि महिना पछि बर्ष काटेर आइयो तर अब त जुनी नै काटला भनेर डर लाग्न आँट्यो गाँठे ! योजनै योजनामा बित्यो जीन्दगी, उही पुरानै संरचनामा बित्यो जीन्दगी । अनि तैँले गरिस् त ?" मैले ठट्याउलो पाराले किबोर्डमा खटटटट्ट म्यासेज टाइप गरेर रिप्लाई गरें ।
कलेजमा चलिरहेको मासिक परीक्षाले एकतर्फी मनमा डर, त्रास, चिन्ता, अत्यास जागिरहेको थियो भने अर्कोतर्फी भ्यालेन्टाइन आइरहेकाले मनमा चन्चलता र उदास पनि साविक मात्रामा बढ्दै थियो । परीक्षा बिग्रिए बाल थिएन कारण बोर्ड एक्ज्याम हैन तर भ्यालेन्टाइन सपार्नु थियो कारण अहिल्यै सोज सास्ती गरे पूरा तीन बर्षे कलेज लाइफमा मोज मस्ती हुन्थ्यो । बच्चाहरु देखि प्रौढहरुसम्म सबैको मनमा एककिसिमको छुट्टै आभाष भैरहेको थियो । मेरो मन पनि के कम आफ्नै तरिकाले चुलबुल भैरहेको थियो । फेसबुकमा फेरि पाँचवटा नयाँ म्यासेज आएको रहेछ; अनिल, भुवन, सम्झना, सुस्मिता र अन्जुको । सबै क्लासमेट हुन प्लस टु पढ्दाको तर आज ब्याचर पढ्न शहर छिरेपछि सबैसँग पराई बन्न पर्‍यो । म्यासेज एक एक गरि पढ्दै गएँ । सबैले प्रेम दिवसको बारेमा लेखेको थियो । कसैले शुभकामना, कसैले सायरी त कसैले स्टिकर र इमोजी पठाएको थियो । अन्जुले लेखेर पठाएको सायरी पढेपछि त म झन्डै रोएको । तर रोइन कारण रोमान्टिक मुटमा थिइन सायद त्यतिबेला । एकचोटि त मनै बहकिने बनाइदियो मेरो । कस्तो मुडमा लेखेकी हुँदो हो अन्जुले त्यो सायरी । काली तर मिलेको अनुहार, मीठो बोल्ने, सुशील स्वभाव, आकर्षक पर्सानलिटी, आवश्यक भन्दा बढि नजिकिमात्र रहन्थी, सधैं जिस्किरहन्थी । कल्पनाको महासागरमा डुबुल्की मार्न लागेँ म विगतका दिनहरुमा कल्पिँदै । मोबाइलमा आएको म्यासेजको आवजसँगै झँल्याँस्स बिउँझिएँ म ।
जाँगर बटुल्दै मोबाइल हातमा लिएँ म्यासेज अघिकै साथिको रहिछ । लेखेको थियो - "ओए, भगवानले सबैको लागि माथीबाटै पठाएको हुन्छ भनेको सुन्या छैनस् ? कस्तो हिचडा रै'छ यार । यस्तो लाठे भएर पनि कुनै गल्फ्रेण्ड छैन ? उमेर कति पुग्यो थाहा छ तँलाई । कि बूढेसकालमा लब रोमान्स गर्ने बिचार छ । जवानीमा मस्ती नगरे कैले गर्छस् आर । सुन्तला पोटिलो र पहेलो हुँदै खाँदा रसिलो हुन्छ । पछि चाउरिएपछि जाबो छोक्रा के खानु छ र यार । सोँच बुझ यहीँ हो गोल्डेन चान्स मिस्टर भर्जिन । कसैलाई मन परा'को छस् भने प्रपोज हान्दे बालै भएन नत्र पछि पुर्पुरोमा हात राख्दै रुनुपर्ला... बरु कुनै हेल्प चाहिए भन ।"
पारा तातेर आयो मेरो । त्यसको गल्फ्रेण्ड छ भनेर जे पायो त्यहीँ भन्न पाइन्छ ? साला, त्यसको अगाडी आफ्नो गल्फ्रेण्ड लिएर हिँड्न नसके त मर्दको छोरोनै हैन भनेर ढुन्मुनिँन थालेँ म । तर कसरी त्यो काम सम्भव छैन मबाट । फसाद पर्‍यो, आफ्नो केटीसँग बोल्न लागे मुटुको गति बढ्छ अनि खुट्टा काँप्छ । निकै कमजोर महसुस गर्न थालेँ मैले आफैलाई । एकछिन सोंचे, अनि आफैसँग लाज महसुस भयो मलाई । मनले मनलाई भन्यो; हो पनि यार, धुन नदिने बाँसुरी अनि सपना नदिने निद्रा, छहारी नदिने पछ्यौरी अनि पानी नआउने धारा, अण्डा नदिने कुखुरी अनि सँधै डरफुक भई लर्खराउने क्या साइको मेरो पारा । के काम यी सबैको जबकी यसको उपयोग नै हुन्न भने ।
"उफ्... कस्लाई प्रपोज गर्ने त ? आफूलाई त कसैले बाल दिन्न यार । ए! साँच्चै तैंले प्लस टु पढ्दा कसरी पट्याइस् जस्मिन जस्तो क्युट र सोझी केटीलाई भन् न म पनि त्यहिँ म्याथोड फलो गर्छु यार । कतै अध्यारोमा गोली हान्दा दुस्मनलाई लागिहाल्छ कि…" उसलाई म्यासेज पठाएँ ।
म्यासेज आयो । हत्तपत्त खोलेर हेरें । लेखेको रहेछ - "बायाँ हातको खेल हो ब्रो ! लब लेटर लेखेर । तर मूला, चिठी लेख्ने जमाना हराए, इमेल वा फेसबुकमा म्यासेज पठाए... हा हा हा…"
ओ एम जी ! ट्वाइन्टी फस्ट सेन्चुरीमा आएर चिठी हा हा… आम्मै! यो त लास्टै ननसेन्स र पाखे पारा भो त यार । यस्तो जाबो चिठीबाट हुने गाउँले पाराको रोमान्स त आजकालका केटीहरुले हजारौं फिलिम हेरिरहेका छन् । उफ् ! के गर्ने होला… मनमा केही टेक्टिन आइरहेको थिएन । अन्तिममा साथीकै म्याथोड फलो गर्ने सोंच आयो मनमा - लब लेटर । तर कसलाई  पठाउने लब लेटर ? अर्को समस्या अगाडी तेर्सियो । यस्तो लाग्यो मानौ हिड्दा हिँड्दै अगाडी फलामे गेट आयो । जुन गेट म नत उफ्रिएर नाघ्न सक्छु नत त्यसलाई खोल्ने साँचो छ मसँग । मनले भन्यो - "त्यो रोहन त फर्वाड छ नि, त्यसैलाई सोध न ।" म मनको कुरासँग सहमति जनाउँदै भने हो मन तैँले ठिक भनिस् । म उसैलाई सोध्छु । "तर कसलाई पठाउने मैले लब लेटर, मेरो प्रस्ताव स्विकार गर्ने जस्तो कोहि छैन यार !" म्यासेज टाइप गरेर पठाएँ ।
म्यासेजको जवाफ आउन युगौं लाग्यो । यसपालि म्यासेज लामो आयो । खोलेर हेरें लेखेको रै'छ - "मलाई पठा मूला म आइ लब यु डार्लिङ, भनेर तेरो ओठमा किस गर्न लाउँला…। कस्तो बेकुफ हो यार तँ । तेरो मिग, स्काइप, फेसबुकमा र कलेजमा कुनै केटीहरु छैन ? आजको दिनमा त प्रायः सबैबाट प्रस्ताव स्विकार हुन्छ रे । अलि च्वाँख चाहिँ छानेर प्रपोज गर न । रिजेक्ट भएपनि के बाल भयो त अर्कोलाई ट्राई गर... । यस्तै यस्तै थुप्रै लेखेको थियो । म्यासेज नपढिकन त्यतिकै काटेर सोंच्न लागें आखिर को होला मेरो प्रस्ताव स्विकार गर्ने । मोबाइल सिरानीमुनि राखेर ओछ्यानमा पल्टिएर सोंच्न लागें । 
मन उकुसमुकुस हुँदै थियो, मुटुको धड्कन एक्कासि बढ्दै गयो । सिरानी मुनिबाट मोबाइल झिकेर उसलाई म्यासेज लेखें - "कलेजको केटीहरुको त सबैको ब्वाइफ्रेण्ड छ जस्तो छ यार ।" अनि हतार गर्दै पठाइदिएँ ।
उताबाट म्यासेज आयो - "ओए उल्लू, खाली पोष्टमा त जसले पनि गोल गर्न सक्छ, असली खेलाडी र मर्द होस् भने गोलकिपर भएको पोष्टमा गोल हानेर देखा अनि बल्ल तँ सच्चा खेलाडी र मर्द रहेछस् भनूँला ।"
मन रन्थनिनँ लाग्यो । आइडियाहरु दिमाग छोडेर कोशौं पर भाग्यो । च्वाँक त छ नि केटीहरु तर सब चोकमा बेच्न राखेका फलफूल जस्ता आँखाले हुरहुर मुखले खाँदा झुर । एकातिर सबै एक बिसे दुई तीन काटेका अनि म भन्दा दर्जनौं बढि भोटो फटालेका जस्ता देखिन्थे केटीहरु । दिदी भन्न सुहाउनेहरुलाई के साइड हान्ने । दैवको लिलाले आफ्नै क्लासमेट भएकाले कमसेकम साथी भनेर बोल्न पाइयो त्यो नै ठूलो कुरा थियो । फेरि कलेजमा लाली पाउडर घसेर च्वाँक भएर आउने केटीहरु न आफु पढ्छन न केटाहरुलाई नै पढ्न दिन्छन, अझ मै हुँ भनेर फन्किएर हिँड्छन् अनि त्यस्ताले म जस्तो खातेपातेलाई हेर्छ होला र ? आखिर कुन आउला जीवनमा मेरो अर्धाङ्गिनी बनेर ? सानो कोठा, सानानहरु जताततै छरिएको छ, झ्यालबाट चिसो हावा छिरेर शरिरमा आक्रमंण गरिरहेका छ, भित्तामा एउटा ऐना झुन्डिरहेको छ । ऐना निकालेर आफ्नो मुहार एकटकले नियाल्न लागें । कालो अनि कुरुप अनुहार, डल्ले, च्याँसे, ख्याउटे शरिर, जिङ्रिङ्ग परेको कपाल छि छि छि... डिस्गस्टिङ.., आफुले आफैलाई घृणा गरेर ऐना निकै पर मिल्काइदिएँ अनि धिक्कार्न लागें ती सृष्टि कर्तालाई जसले मेरो यति कुरुप भौतिक संरचना तयार गर्‍यो । लाग्छ, सृष्टिकर्ता पनि पक्षपाती छन् । कसैलाई बुट्टा भर्दै महिनौँ लगाएर बनाएको तस्बिर जस्तो त कसैलाई पिसाब लागेको बेला हतपत कोरेको सादा चित्र जस्तो संरचना तयार पार्दिन्छ । जीवनमा पहिलो पटक आफू कुरुप भएकोमा दुःख लाग्यो मलाई अनि सिरक ओडेर कुम्लुङ्ग परेर सुतेँ ।
दुई हातका दस औंलाहरु टाउकोमा पुर्‍याएँ, सन्किएर जगल्टो बल गरेर समाएँ तर अशान्त मनलाई धेरै बेरको प्रयासपछि सम्झाएँ । सोंच्न थालें; सृष्टिकर्ताले जस्तो सृष्टि गर्‍यो त्यसैमा सन्तोष मान्नुपर्छ मैले । निकै बेरको भुकम्पपछि स्थिरता छाउन लाग्यो मनमा अनि प्यासी मेरो मन पनि त्यहीँ मौका छोपेर भौतारिन थाल्यो मायाँ गर्ने मान्छेको खोजीमा । फेसबुक फ्रेण्ड लिस्टमा च्वाक केटीहरुको प्रोफाइल हेर्दै "आई लब यु स्विट हार्ट" भन्दै जाउँ ? अहँ यस्तो हुँदैन । च्याट रोमान्स त धेरैसँग गरियो तर एक महिना टिक्यो ?, अहँ टिकेन । आई लब यु, मिस यु, किस यु, कान्ट लिभ विदाउट यु के के भन्नेले पछि आफ्नो श्रीमानको फोटो हालेर मलाई नै ट्याग गरेको थिइन त ? पक्कै पनि थियो । अनि के भरोसा त्यो च्याट लबको छोड्दे त्यतातिर नलम्कि बुद्दिमानी मनले सम्झाउँदै भन्यो अनि म सतर्क बनेँ । बरु कलेजमा पो कोई छ कि ? आसे मनले आस देखाउँदै भन्यो । अनि मन त्यतातिरै मोडिन थाल्यो । को छ त कलेजमा मेरो लायकको केटी ? मैले यति आश गरेर प्रपोज गर्दा डाइरेक्ट रिजेक्ट भयो भने म कसरी मुख देखाएर हिँड्ने ? उफ्... सम्झँदै कस्तो उदेक लागेर आउने । उपरवालालाई प्राथना गर्न थालेँ - "हे भगवान ! मलाई शक्ति देउ । म आफ्नो प्रेमको श्रीगणेश गर्न चाहन्छु ।"
एउटी छ कलेजमा मैलै पहिलो नजरमै मन पराएको केटी । तडक भडक छैन, सिम्पल टाइप्सको, दिनहुँ कलेज आउँछे मुसुक्कै हाँस्छे अनि मेरो मनलाई सलाइ बिनै जलाएर जान्छे । 'सुन्दर मुहार, मृगनयनी आँखा, गुलाफी ओंठ, नागवेली चाल, बिद्रोही र शान्त स्वभाव' आहा ! यस्तो ब्युटीफुल पो केटी, जाबो हट त पोलेको आलु पनि त हुन्छ नि यार । तर उसको ब्वाइफ्रेण्ड रहिछ भने ? मुटुमा धड्कन बढ्दै जान लाग्यो । सोंचे रहिछ भने केहि छैन । अनि फेरि उनले मलाई साथीको रुपमा कलङ्क भन्यो भने ? मैले उनलाई प्रेम गर्न थालेको छु भने, उनको घृणाले पनि असर गर्दैन मलाई । यसरी डरफुक मनको जवाफ आशे मनले दिँदै गयो । 
'माया', यानकि प्रेम अनि स्नेह । आहा ! कति मीठो उसको नाम अनि त्यस्तै व्यबहार पनि । जताततै उनकै चर्चा थियो क्लासमा । उनको रुपको चर्चा भावबङ्गी र आनिबानीको चर्चा, शान्त अनि बिद्रोही स्वभाव मलाई पागल बनाउन उनको एक दृष्टि र मधुर मुस्काननै काफी थियो । कसम उनको मुस्कानमा मैले आफ्नो स्वर्णिम भविष्यको कल्पना गर्थें अनि वहाना बनाउँदै नजिक हुन खोज्थें । कयौंपटक भन्न खोजें - "माया, तिम्लाई म आफूभन्दा धेरै त सायद सक्दिनँ तर भगवान कसम ! आफू जति नै प्रेम गर्छु, म तिम्रो ममताको सागरमा डुब्न चाहन्छु के तिमी मलाई साथ दिन्छौ ?" तर जब काफ्ले सरको लेक्चरको भोलुम हाई हुन्थ्यो तब थाहा हुन्थ्यो म कतै हराइरहेको रहेछु । रिस साह्रै उठेर आउँथ्यो त्यो बुढा काफ्लेसँग तर के गर्न सक्थें म आफै निर्धो बुढाको एक कडा बचनले सातो पुत्लो जान्थ्यो । बुढाको लेक्चरलाई डाउन गरेर ठूलो ठूलो आवज निकालेर हल्ला गरेर बोल्न मन लाग्थ्यो तर ट्रकको हर्नको अगाडी जाबो साइकलको टिनटिन घण्टीको के जोर चल्थ्यो सधै हार खान्थे । साथमा किताब हुन्थ्यो, नोट हुन्थ्यो, कापी हुन्थ्यो, कलम हुन्थ्यो, दिमाग त झन् यस्तो थियो कि पढ्यो भने फस्ट डिभिजन ल्याउनबाट कुनै दैवी शक्तीले समेत रोक्न सक्दैनथ्यो मात्र एक चिजको कमि थियो मेरो कलेज लाइफमा त्यो हो "मूड" साला मरिगए आउँदैनथ्यो अनि यसैले गर्दा सोचेजस्तो पोजिसन कहिल्यै आउन सकिन मेरो ।
दिमाग बोर भैरहेको थियो । ओहो ल्यापटप सट डाउन नगरिकनै छोडेको रैछु । फेरि फेसबुक हेरेँ, स्टाटस कम फोटो ज्यादा थियो । कसैले मुख चुच्चो बनाउँदै दुई औंला देखाएको, कसैले कपालले अनुहार छोपेको, कोही पल्सर बाइक माथी बसेको, कसैले ससुराली हिँडेको भनेर त कसैले भ्यालेनटाइको इमेज हालेको थियो । ससुराली जाँदाको भनेर फेसबुकमा फोटो अपलोड गर्ने केटाहरूले पछि श्रीमतीसँग भोग गरिरहेको… भनेर फोटो हाल्न पनि बेर लाग्दैन गाँठे । यो कुरालाई फेसबुक स्टाटसमा लेख्न मन लागेको थियो केटाहरूलाई व्यङ्ग्य गर्दै अनि सरर लेखें तर कसले पो लेखिरहन्थ्यो खिस्रिमिस्री कुरा त्यो पनि स्टाटसमा आफ्नै मन मस्तिष्कमा लेखेर छोडिदिएँ । थाहा छैन के भएको थियो मलाई त्यो दिन सधैं कम्मेन्ट गर्न डराउने मान्छे उट्पट्याङ् कमेन्ट गर्न मन लाग्यो । एउटी केटी थिई, म सँग कहिले मुटुनै चिमोटिने भावानात्मक कुरा गर्थी त कहिले खुब जिस्किएर च्याट गर्थी फेसबुकमा । एक महिना अगाडी त फेसबुकमै बिहे भएर सुहगरात पनि मनाइसकेको थियो हामीले तर आजकाल स्ट्राइकरको सहायताबाट किस मात्र । घर पर्वत भन्थी, अनि मान्छे पनि राम्रै थियो । तर मलाई उसको एउटा बानि साह्रै मन पर्थेन । फेसबुकमा फोटो हाल्यो कि उसको फोटोमा छन्द मिलाउँदै कविताको रुपमा कमेन्ट गर्नुपर्थ्यो । बढी गुणगान गाउँदा जे पायो त्यहीँ भन्थी तर नराम्रो भन्दा उसको चित्त दुख्ला भन्ने ठूलो डर थियो । हप्ता दिन अघि भन्दै थिई; बिकास, मलाई मेरो आमाबाबाहरुले एरेन्ज म्यारिज गर्दिन लाउनुभा'को छ युके लाउरेसँग तर मलाई अहिले बिहे गर्ने मुड छैन । प्लिज सम्झाइदेउ न मेरो आमाबाबालाई… भनेर आफ्नो आमाबाबाको नंम्बर दिएकी थिई तर कुन साइनोले बोल्न सक्थेँ र म, कहिल्यै नदेखेको अझ कुनै नाता नभएको उसको बाबाआमासँग । अनि फोन लागेन भनेर झुलाइरहेको थिएँ । कस्तो छ केटो भनेर सोध्दा भन्थी - जस्तो सुकै होस् तर मलाई उसँग बिहे गर्नु छैन । मैले जिस्काउँदै भन्थे अनि कस्तोसँग बिहे गर्छौ त । उसले जवाफ दिन्थी - "तिमीजस्तै फटाहसित ।" 
मैले रिप्लाई दिन्थे - "भन्छन् संसारमा एउटै फेस भा'को चारपाँच जना हुन्छन् रे । त्यत्रो मुन्छेहरूको बिचमा म जस्तो भेट्टाउन तिम्लाई मुस्किल पर्ला नि त ।" 
उसले भन्थी - "ओहो ! मेरो निम्ति यत्रो चिन्ता… बिचरा ! ह्या छोड तिमी हुँदा हुँदा म अन्त खोज्दिनँ ।" 
मैले भन्थेँ - "होर भन्या, अनी म थिम उडेर आउँछौ कि गुडेर ।" उसले भन्थी - "ए, उल्लु तिमी कि म हो हो आउनुपर्ने ? हिम्मत छ भने गुडेरै आउन, नौमती बाजा र जन्ती समेत लिएर । म उसको भावनाको सागरबाट बाहिर निस्किन भन्थेँ - "इम्पोसिबल !" 
उसले भन्थी - "किन ?" मैले भन्थेँ - "म पर्वतमा गएकै छैन, फेरि पर्वत जान्छु भन्दा पाल्पा पुग्यो भने ?" उसले भन्थी - "पाल्पाबाट फेरि उकाली लाग्ने नी ।" 
मैले जिस्काउँदै भन्थेँ - "उकाली लाग्दा लाग्दै तिमी भन्दा सेक्सी केटी भेटेँ भने नी ?" 
उसले भन्थी "कस्तो फन्नी कुरा गर्छौ बाई । त्यति जाबो कुरा पनि मैले भन्नुपर्छ । नमस्ते दिदी ! "मेरो पर्वतको केटीसँग बिहे हुन लागिरहेको छ मैले हजुरलाई दिदी भन्छु हजुर मेरो दिदी बनिदिनु ल । तिहारमा यो भाइलाई नबिर्सिनुनी अनि यो मेरो बिहेको निम्तो" भनेर सुपारी दिनेँ । 
म मूर्छा परेर हास्थेँ सायद ऊ पनि पर्बतमा यसरी नै हाँसिरहेको हुँदो हो । मैले भन्थेँ - "तर म त्यसो भन्दिनँ ।" 
उसले भन्थी - "अनी के भन्छौ त ?" 
मैले भन्थेँ - "आइ लब यु बेबी विल यु म्यारी विथ मि भनेर ओँठमा किस गर्थे नि ।" 
उसले भनी - "तिमी फटाह भन्ने त थाहा थियो यति साह्रो फटाह भन्ने थाहा थिएन ।" 
मैले भन्थेँ - "अनि यो फटाहले त्यो केटीलाई बिहे गरेर ल्याएर तिम्लाई बिहेको निम्तो दियो भने आउँथ्यौ कि नाई ?" उसले भनी - "तिम्ले निम्तो नदिएपनि आउँथेँ अनि तिमीहरु दुबैलाई भुत्ल्याई दिन्थे ।" मैले भन्थेँ - "हैट, कडा !" उसले जवाफ फर्काउँथी - "तिम्ले सोँचे भन्दा बढी… ।"
म नै त्यस्तो हुँ या मेरो कामको व्यस्तता त्यती सम्मको ठट्याउलो च्याटपछि एक महिना फेसबुक खोल्ने फुर्सद मिलेन । मैले त जिस्किएको भन्ठान्थे तर बिचरीले साँचो बोलेकी रहेछ । फेसबुकमा भएको धेरै म्यासेज उसैको रहेछ । मलाई बिजुलेको झड्का लागेझै भयो । अस्ति भर्खर उसले साँच्चिकै बिवाहा गरेकी रहिछ । बिहेको फोटोसँग गजलका अनेकौँ सेरहरु लेखेर स्टाटसमा "फिलिङ पेइन" भनेर अपडेट गरेको रहेछ । बिचरी बिहेपछि पनि फोटो ट्याग गर्न नभूलेकी । धेरैले शुभकामनाको शब्दहरुले फोटोमा कमेन्ट् गरिरहेका थिए । मैले पनि उसको फोटोमा कमेन्टको निम्ति अन्तिम छन्द सोचिरहेको थिएँ तर अब त्यो छन्दको साँच्चिकै मूल्य रहेन । जुन कुराको मूल्य नै छैन त्यो कुराको पछि किन लागू म । तर खै कुन मुडमा रिसले हो कि आवेगले, ईर्ष्याले हो कि जलनले हो कुन्नि म यति बदमास बनेको रहेछु उसको फोटोमा - "पहिल्यै साइज नापेर बिहे गर्नु पर्थेन अब तिमीसँग एउटै अप्सन छ पेइन किलर खाउ, दस बाह्र दिनपछि सब ठिक हुन्छ" भनेर कमेन्ट लेखिदिएछु । एक मिनेट भित्रै फेसबुकमा दस बाह्रवटा म्यासेज जम्मा भयो । यसो खोलेर हेरेको उसको साथी र उसले मलाई नमिठो शब्दहरु प्रयोग गर्दै गाली गरेको रहेछ । मैले 'सरी ल जिस्किएको मात्र' लेखेर च्याट रिप्लाई गरें । सधै जिस्किएर बोलेपछि 'सरी' भन्दा 'इट्स ओके' भन्थी तर आज भनिन पछि अनलाइन पनि देखिएन कारण उनले मलाई मेसेन्जरमा ब्लक गरिसकेकी रहेछ । ओहो! म यतिसम्म फटाह भएछु कि आफैले सुइको पाइन । तर स्वार्थी मन आफ्नो पापबाट उम्किन खोज्दै भन्दै थियो - गल्ती उसैको थियो । मलाई उटपट्याङ बोल्न सिकाउने उसैले त हो । सर्पलाई दूध ख्वाएर पाल्यो आज आफैलाई टोक्यो । म आफै भक्कानिएँ । मलाई सारा संसार उजाड लाग्न थाल्यो । मैले जीवनमा गर्नै नहुने यति ठूलो पाप गरेँ । जुन पापको प्रयाश्चित सायद मृत्युु दण्डले पनि पुग्दैन । दोहर्र्याई तेहर्र्याई रिफ्रेस गर्दै उसको फोटो, उसको गजलको सेरहरु, कविता, स्टाटस, अनि म आफूले छन्द मिलाउँदै लेखेको कमेन्ट र विगतका दिनमा च्याटमा गरिएका कुराहरुलाई नियाल्न खोजेँ तर जति प्रयास गरेपनि तिनको निशाना देखिएन । देखियो त केवल ल्यापटपको किबोर्डमाथी मेरो आँशुका दाना र घाँटि र मुखबाट निस्किएका घुक्क घुक्क करुणाका भावहरु । अन्तिममा लेखेको च्याटको अंश याद छ मलाई लेखेकी थिई - "पत्थरको मुटु भएको मान्छे, म तिम्लाई कहिले पनि माफ गर्दिनँ बिकास । पृथ्वी गोलो छ, विधाताले कुनै दिन तिम्लाई मेरो ठाउँमा ल्याएर उभ्याएपछि तिमी रुन्छौ एकदिन अवस्य रुन्छौ जसरी आज म रोइरहेको छु । आज तिमीले जसरी मेरो भावनाको शब्दहरुलाई हाँसोमा उडाएको छौ र मेरो आँशुलाई मुल्यहिन बनाएको छौ त्यसको मूल्य कति हुन्छ एकदिन तिमी आफै बुझ्नेछौ । तिमी घुँडा टेकेर मसँग माफि माग्न खोज्नेछौ तर म तिमीबाट सदाको लागि टाढा भइसकेको हुनेछु अलविदा निस्ठूरी ! म बिहे गर्दैछु तर एउटै चाहाना छ मेरो । तिमी मसँग भर्खर फेसबुकमा साथी बन्दा कति सोझो थियौ अनि मेरो सँगतमा लागेपछि कति बदमास बन्यौ है, मैले कस्तो फटाह बनाइदिएँ है । म सरि भन्न चाहन्छु तिमीलाई भेटेर तर अब यो चाहेर पनि सम्भव छैन । खैर, के छ र आखिर जीवनको रित नै यस्तै छ - "माया एउटासँग बिहे अर्कोसँग, यस्तै रै'छ भाग्य लेख्ने नियम देउतासँग ।" 
रिस साह्रै उठेर आयो मलाई आफैसँग । फटाह मनले भन्यो त्यो केटी रिसाएर मलाई बाल ? मेरो लागि त माया नरिसाए पुग्छ । अनौठो सेलफिस म्यानर देखिन थाल्यो आज मेरो । अनि फेरि फटाह मनलाई राम्रो मनले भन्यो - "आखिर किन त्यस्तो गरिस् बिकास ? उसले तेरो के बिगारेको थिई र आज यस्तो ब्लाकमेलिङ गरिरहेको छस् ? यो कुरा भर्खर बिवाहित आफ्नो श्रीमानले देखे के हविगत होला उनको त्यो सोंच त । तेरो खोपडीमा के भरिएको छ ? चिन्नु न जान्नुको मान्छेसँग विगत दुई महिनादेखि च्याट गरिरहेकी थिई, आफ्नो कस्ता कस्ता प्राइभेट कुराहरु सेयर गरेकि थिई आखिर किन ? म भन्दा कयौं गुणा सुन्दर अनि बुद्धिमानी थिएन होला र उनको फेसबुकका अरु साथीहरू ?" मन एकाएक अमिलिएर आयो । मलाई आफैमाथी पहाड खसेझैं लाग्यो, कालो मनलाई तातो आँसुले पखाल्यो अनि अबदेखी यस्तो गल्ती कहिल्यै नदोहोर्‍याउने प्रण गरेँ अनि मनमनै उससँग माफी माग्दै आँखाको आँसु पुछें ।
माया अनलाइन आइसकेकी थिई । मैले हाई गरें, समय लगाएर भएपनि उसले रिप्लाई गरि - 'हेल्लो, खाना खायौ के गर्दै हो ?" 
मैले भने - "उम्म् खाएँ, अनि तिमीसँग च्याटङ गर्दै नि । कतिको पढ्दै छौ ?"
उनले भनी - "कति पढेको छु भनेर तिम्लाई नै थाहा होलानी, अनि आजको परीक्षा कस्तो भयो ?"
मैले भनें - "झुर भयो यार ! अनि के गर्दै छौ ? आज प्रपोज डे हो रे, तिम्ले कसैलाई प्रपोज गर्‍यौं ?"
उनले भनी - "नाईँ ।"  
मैले भने - "ए हो ?, अनि तिम्लाई कसैले गर्‍यो कि नाई ?" 
उनले भनि - "नाईँ गरिन, अनि तिम्लाई कसैले गर्‍यो कि नाईँ ?"
मैले भने - "अहँ छैन । अब चाहीँ बिचार गर्नु पर्ला जस्तो छ ।"
उनले भनी - "कस्लाई नि ?"
मैले भने - "तिम्रो कुरा गर्दै छु म ।"
उनले भनी - "हो र भन्या ?"
हाम्रो कुरा यस्तो फर्मल तरिकाले गइरहेको थियो मानौं हामी साथी नभएर बाटोमा भेटिएको यात्रु हौँ । म उसलाई आफूले गरेको गल्तीहरुको बेलि बिस्तार लगाएर उसैको काखमा पुरै समाहित भएर रुन चाहन्थेँ । मैले जति नै गल्ती गरेपनी ती पर्वतको केटीझैँ माफि गरिदियोस् अनि मलाई आफ्नो प्रेमको महासागरमा डुबुल्की मार्न देओस् म त्यो चाहन्थेँ । चाह थियो माया यति फर्मल कुरा गरेर तर्किन खोज्ने माया नभएर आफ्नो सारा तितामिठा घटनाको बेलिबिस्तार लगाउने उहीँ पर्वतको साथी होस् अनि मलाई आफ्नो प्रेममा भ्यालेन्टाइ यानकि सहिद बन्ने अवसर देओस् तर मेरो इच्छा विपरीत भैरहेको थियो फेसबुकको वार्तालापहरु ।
मैले उसलाई आफ्नो बसमा पार्ने जमर्को गर्दै भने - "उम्म भन्या, अनि तिम्रो ब्वाइफ्रेण्ड छ कि छैन नि ?"
म उसको च्याटसँगै मिठा मिठा प्रेमिल बात र आत्मियता मिश्रित भावनाहरु चाहन्थेँ तर अपसोंच उसले आफ्नो उत्तरलाई निकै संक्षिप्त र सरल बनाउँदै भनि - "छ, तर किन ?" 
कस्तो डाइरेक्ट भनेकी । एउटा मर्यादा र सिमा हुन्छनि जुनसुकै कुराको । जे होस् जसरी हुन्छ मैले उसँग कुरा लम्ब्याउनु थियो । मैले भनें - "कुन हो तनी त्यो भाग्यमानी केटामान्छे भन न त ।" 
मनमा एउटा ठूलो आश थियो । उसले त्यो मान्छे - "तिमी जस्तै फटाह केटा मान्छे" हो भनोस् । मैलै म जस्तै केटामान्छे यो संसारमा पाउन मुस्किल छ भन्ने अवसर पाओस् अनि उसले हार खाएर भैगो तिमी हुँदाहुँदै तिमी जस्तो फटाह मान्छे खोज्नको निम्ति भौतारिन्न भनोस् । म उसको प्रेमको महासागरमा पौडि खेल्न पाउँ, उसँग प्रेमका मिठा मिठा गितहरु गाउँदै जीन्दगीका उकाली ओलाली भञ्ज्याङ चौतारी सँगै गर्न पाउँ । तर मैले सोँचे जस्तो जवाफ आएन । उनले भनी - "केटा मान्छे हा हा हा...।" 
मलाई रिस साह्रै उठेर आएको थियो । भन्न मन लागेको थियो "कस्तो नक्खरमाउली केटी हो । झन् यति आत्मिय ठानेर भावानात्मक कुरा गर्न लागिरहेको छु सबै कुरा हाँसोमा उडाउने ।" तर यसो भनिन मैले कारण म झुक्नु जरुरी छ । म हात्ती बनेर हैन मुसा बनेर उसको दिलभित्र घुस्नु थियो । जब उसको दिलभित्र घुस्ने कुनै द्वार भेटिएन तब म निराश बनिसकेको थिएँ । आखिरमा कुनै शब्दनै नपाएर मैले भने - "तिम्लाई पनि जोकिङ गर्न आउँदो रै'छ है ।"
उनले भनि - "ल किन नआउनु नि भन्या ।" मैले मुखै फोरेर भने - "अलि सिरियस कुरा गर न, आज त सिरियस कुरा गर्ने दिन हो रे क्या ।" 
उनले भनी - "ल ल, म सिरियस छैन अनि मेरो ब्वाइफ्रेण्ड पनि...।"
मैले मन दुखेसो बनाउँदै भने - "कस्तो निर्मोही हो यार, अनि म को त ?"
उनले भनी - "ए... सरी ल... ।" 
मलाई साह्रै नमज्जा भैरहेको थियो । यस्तो लाग्थ्यो म कुनै फुटपात ब्यापारी हुँ । मैले आफ्नो सामान बिक्रीको निम्ति सामानको मौखिक बेलिबिस्तार गर्न नपाउँदै ग्राहकहरुले नाँक खुम्च्याउँदै परैबाट अस्विकार गर्दै, भगौ यता नआउ भनिरहेको छ । लाग्थ्यो मेरो मिसन भ्यालेन्टाइन यहिँ इतिश्री गरौँ तर यति लामो यात्रा गरिसकियो । अब फेरि फर्किनलाई त्यतीनै यात्रा गर्नुपर्ने हुन्छ । त्यसलै म अघि बढ्न जरुरी छ । मैले आफ्नो प्रेमको परीक्षा लिनु छ चाहे म असफलनै किन नहोस् । तर कसरी भन्ने म तिम्लाई मन पराउँछु भनेर । आफैसँग लाज लाग्न थाल्यो मलाई । आखिर लाज पचाएरै भएपनि बच्चाहरुलेझै भने - "त्यसो भए म तिम्लाई प्रपोज गर्छु ल ।"
उसले भनि - "ए... हा हा हा हुन्छ तर आजको लागि मात्र ।" मलाई झन् झन् काउकुती महसुस भयो । लाग्थ्यो ल्यापटप सट डाउन गरेर सिरक कुम्लुङ्ग ओडेर सुतौँ अनि यो जाबो लब-सबको चक्करमा परेर बेज्जत सहेर नबसौँ । तर काम नथाल्नु थालिसक्यो । बुलबुट्टा भर्न नजानेर कुनै हस्तकलाको सामाग्री त्यतिकै छोड्यो भने के देख्नेले मलाई दक्ष मान्छन त ? अहँ पक्कै मान्दैनन् । बरु मेरो आलोचना गर्न सुरु गर्लान । आलोचना त सहनुनै थियो बरु त्यो काम पूरा गरे कमसेकम अलिकति ज्ञान त बटुलिन्छ । के थाहा आलोचकले पनि त पथप्रदशन गर्न सक्छन् । यस्तै सोँचेर फेरि कुरा अगाडी बढाउँदै भनें - "लौ... गरेपछि सधैँको लागि गर्ने नि । आखिर तिम्रो पनि कोहि रहेनछ मेरो पनि कोहि छैन । कम टु द पोइन्ट, तिमी रिजेक्ट पनि गर्न सक्छौ ।" उनले भनी - "तर सरी ल ।" मैले भनेँ - "मैले प्रपोज गरेकै छैन पहिल्यै रिजेक्ट ? फस्टमै कस्तो झुर हो यार मेरो लब स्टोरी बोर लागेर आउने ।" उनले भनी - "ह्या… त्यस्तो हैन क्या, तिमी राम्रो मान्छे म भन्दा पनि राम्रो पाउँछौं भनेर रिजेक्ट गरेको नि ।"
मलाई रिस साह्रै उठेर आएथ्यो । मुखै फोरेर भन्न मन लागेको थियो - 'खुरुक्क भने त भैहाल्यो नि तँ जस्तो त मैले जति पनि पाउँछु भनेर कुरा घुमाउँदै किन भन्नुपर्‍यो' तर भनिन कारण डर लागेथ्यो मनमा कतै उनले मलाई नराम्रो सोंच्ने त हैन भनेर । मैले प्रसङ्ग बढाउँदै भने - "मान्छेले सुन्दरतासँग प्रेम गर्ने हो र ?" उनले भनी - "ह्या कस्तो...।" मैले कुरा थप्दै भनें - "कि डर लागेको मसँग ?" उसले प्रश्नको माथी प्रश्न गरेर भनी - "किन लाग्ने र ?" मैले सिरियस हुँदै भनें - "नडराएको भए किन खुलेर नबोलेको त ? यदि तिमी माइन्ड गर्दैनौं भने एउटा लेटर लेखौं तिम्रो नाउँमा ?" उनले भनी - "ल ल हुन्छ लेख न ।"
लब लेटर लेख्छु त भनिहालेँ तर कसरी त्यो कला मसँग भएको भए बिगत दस बर्षदेखी नै गल्फ्रेण्ड बनाउँदै हिँड्थे होला सायद । हत्तेरिका, कस्तो आफूले थापेको पासोमा आफै परियो । जुन पासोबाट मलाई निकाल्न न कोही आउँछ न आफै निस्किन सक्छु । हे भगवान, म के गरुँ । मान्छे हेर्दा यस्तो सोझी छ तर भित्र यति कडा । यति कडा छ भन्ने थाहा पाए भगवान कसम म उसको नाममा यति भ्रमपूर्ण सपना बुन्ने नै थिएन । भगवानसँग प्राथना गर्न लागेँ - "हे भगवान यो केटी छिटै अफलाइन भैदियोस् ।" तर साला ढूङ्गा न हो त्यसले मेरो प्राथना सुनिनँ । एउटा मनले भन्यो - "काम बिगार्ने बेलामा भगवानलाई नसोधी बिगार्ने, अहिले भगवानलाई दोष दिने ।" धर्म संकटमा परेँ म । अब भोली कलेजमा उसको सामू कसरी मूख देखाउने मैले ? आखिर नहुनु आत्मग्लानी भैसक्यो भनेर प्रेम पत्र लेख्ने निचोडमा आएँ म ।
जुन काम मबाट अहिलेसम्म भएकै थिएन त्यो काम; अझ भनौँ जुन काम मबाट सम्भव नै छैन त्यो कामको थालनी गर्न आटेँ मैले । उता प्लस टु पढ्दाको साथी अघि मेरो समुद्र जस्तो शान्त मनमा छाल र ज्वारभाडा छोडेर मरे बाँचेको पत्तै नपाई गायव भैरहेको थियो । उसलाई लब लेटर लेख्न सिकाउन अनुनय बिनय गर्दै दस बाह्र म्यासेज पठाएँ, फोन गरेँ तर म्यासेजको रिप्लाई आएन, फोन पनि उठेन । अन्तिममा उसको आमाले फोन उठायो । उसको आमाको मुखबाट थाहा पाइयो कि ऊ दुई घण्टा पहिल्यै घरबाट निस्किएको थियो । सायद गल्फ्रेण्डको पुजा गर्न गयो । पक्कै दुईचार घण्टापछि फर्किन्छ अनि पहिलो कल मलाई गर्छ जरुर अनि भन्छ - "पानी फेरेर आइयो ब्रो ! क्या माल थियो यार । तिमी त मिस्टर भर्जिन न पर्यौ के थाहा जवानीको स्वाद । बाहुनले कहिल्यै च्याउ खानु न भ्याउ पाउनु । कि आन्टी सान्टि भएनी मिलाइदिम ?" मलाई साथीसँग जीवनमा पहिलोपटक रिस उठ्यो । नजिक हुँदो हो त बाघले खसी झम्टिएझैँ झम्टिएर पछारिदिन्थे तर हजारौं माइल टाढा थियो । जुन मेरो बशको कुरा थिएन ।
आखिर जे होस् मेरो प्रेम हो, मेरो चाहना हो अनि मेरो मनको कुरा पनि । मेरो यो बेहाल परिस्थिति स्वयं भगवानलाई त थाहा छैन भने उ त केवल आम मनुष्य हो कसरी बुझ्न सक्थ्यो र ? यति भनेर मनलाई शान्त पारेँ अनि लब लेटर लेख्न सुरु गरेँ । पूर्ण रुपमा भावबिभोर भैसकेको थिएँ म । लाग्यो उनले मलाई निराश गर्ने छैन मेरो मीठो अनुरोध हाँसीहाँसी स्विकार्छे अनि मलाई आफ्नो प्रेमको महासागरमा डुबुल्की मार्न दिन्छे । तर भविष्यको कुरा तिनै सृष्टिकर्ता र ज्योतिषलाई थाहा होस्, मलाई कहाँबाट मिलोस् त्यो दैविय ज्ञान ।

हृदयस्पर्शी छुच्ची !
मायाको सौगात स्वरुप कयौं दिनदेखि मनभित्र गुम्सिएर रहेको प्रश्नहरुको गाँठो फुकाउन जरुरी ठाने र यस्तो चेष्ता गर्दैछु, प्लिज नेगेटिभ नसोंचिदेउ ल ।
मेरो मन किन यसरी मूर्ख बनिरहेको छ ? जीवनमा पहिलोचोटि तिम्रो नाउँमा प्रेमपत्र कोर्दैछु मात्र तिम्रो न्यानो साथको र सहयात्राको झिनो आशमा । सायद, तिम्रो मायामा म नजानिँदो तरिकाले फस्दैछु र अब मलाई साहरा दिएर विज्ञ बनाउने मात्र तिमी छौ यो सिङ्गो संसारमा । के मेरो समीपमा आएर मेरो निस्चल प्रेम स्वीकार्छौ तिमी ? भन्थे भन्नेले, माया बस्न मात्र एक नजर नै काफी छ, यो संसार मायाँनै मायामा अडेको छ तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थें । सोच्थेँ, यो त सब भ्रम हो । मायाँ, प्रेम, साथ, सहयात्रा, भावना अनि सम्वेदना केहीमा विश्वास थिएन मेरो । अरूले गर्ने प्रेमील र भावनात्मक कुरामा कहिल्यै विश्वासै लाग्दैनथ्यो तर आज तिम्रो प्रेमले मेरो आँखाको पट्टी खोल्दियो अनि यो प्रमाणित भयो म गलत रहेछु । तिम्रा ती नसालु नयन अनि निष्चल भावनाको सामु म पराजित अनि झुक्न पुगें । तिम्रो एकै नजरले मैले आफूलाई गुमाउन थालेछु । म नजानिदो पाराले तिमीतिर तानिएँ । तर तिमी... ! खैर, तिमी त यो मेरो प्रेमबारे अनभिज्ञ छौ । अचम्म लाग्छ, किन मेरा यी नयन खाली तिम्लाई नै खोजिरहन्छ ?, किन मेरा कानलाई तिम्रै आवज सुनिरहन मन लाग्छ ? अनि किन मेरा तन मन तिम्रै स्पर्श चाहिरहन्छ ? तर जब तिम्रो सामिप्यमा पुग्छु किन अनायसै झुक्छन् मेरो शिरहरु ?, थरथरी काँपेर शिथिल हुन्छन् मेरा शरिरहरु । के तिमीलाई मेरो यो अवस्थाको आभास हुँदैन ? कि तिमी बेवास्ता गरिहेको छौ जानीजानी ? म तिम्रो नशालु आँखाको महासागरमा डुब्न चाहन्छु, हराउन चाहन्छु तिम्रो प्रेममा, अनि भुल्न चाहन्छु आफूलाई अनि सारा दुनियाँलाई पूर्ण रूपमा समाहित भएर, बस् पूर्ण रूपमा समाहित भएर केवल तिमीसँग ।
कलेजको नौलो कोलाहलमय वातावरणमा कयौंपटक तिम्लाई चोरी चोरी नियाल्ने गर्थे, जब तिमीसँग आँखा जुध्थ्यो मेरो सातो पुत्लो जान्थ्यो । जब तिमी मुस्कुराउँथ्यौ तिमीसँगको सामिप्यताको कल्पनामा आफ्नो भविष्यको कल्पना गर्थें । जब तिमी कलेजमा नयाँ क्लासमेट बनेर आयौ तब मनमनै प्रण गर्थें यो सुन्दरी युवती, यो सुकोमल युवती जुन मेरो मनलाई पहिलो नजरमै घायल बनाउन सकेकि छे प्रेम दिवसमा प्रस्ताव गरेरै छोड्छु । चाहे मलाई आवाहरा बदमास भनेर दुनियाको सामु झापड नै किन नहानोस् । ती नीलो सागर सिंगै बोक्ने तिम्रो नयन, त्यो हँसिलो र प्रज्वलित मुखमण्डल अनि मधुर मुस्कान देख्दा लाग्थ्यो तिमी मानव नभएर साक्षात ईश्वरको प्रतिबिम्ब हौ । तिम्रो निकटता कल्पिँदा संसारका सबै सुख र खुसीहरु मेरा पाउमा झुकिरहेका छन् झैँ लाग्थ्यो । आझिर के छ खास तिम्रो मुस्कानमा, जसले हरक्षण मलाई पागल अनि एकोहोरो बनाउँदै लगिरहेको छ तर यो पागलपन... उफ ! कस्तो आनन्दको आभास । तिमीलाई एउटा कुरो भनौं ? कसम मेरा आँखाहरू तिमीलाई नै खोजिरहन्छन् हरपल, हरक्षण । तिमी हिँड्ने बाटोमा मेरा नजर बिछ्याएर बसिरहन्छु म केवल तिमीलाई लुकेरै नियाल्न । मैले लिने हरेक श्वासमा तिम्रो प्रेमको मीठो वासनाको अनुभव गर्छु । मेरो मुटुको हर धड्कन तिम्रै नाममा धड्किरहेका हुन्छन् । यी ओठ, केवल तिम्रो नाम पुकारिरहेका हुन्छन् । के तिमीले सुनेका छौ मेरो दिलको आवाज ? मेरो मनमा प्रवाहित तरङ्ग तिम्रो मनसम्म आइपुगेका छन् ? तर जेहोस्, म यो सानो पत्र तिम्रो नाममा कोर्दैछु, एउटा झिनो आशमा कि तिमीले एकदिन मेरो भावना बुझ्नेछौ, मेरो मनको चाहनालाई चिहान बन्न दिनेछैनौ । तर, यो त मात्र मेरो मनको चाहना न हो, जुन पूरा नहुन पनि सक्छ । तिमी विश्वास गर या नगर मेरो माया सागर जस्तो निर्मल अनि पवित्र छ, छहारी जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो मुलायम छ, गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ । तिमीले स्वीकार्‍यौ भने संसारको सबैभन्दा धेरै र ठुलो खुसी मिल्नेछ मलाई । तिम्रो न्यानो काखमा असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु तिमीभित्र । अस्वीकारै गरेपनि म दुःखी हुने छैन । मलाई थाहा छ, तिमीलाई निस्वार्थ प्रेम गरेको छु मैले । मेरा हरेक श्वासका झोंक्का तिमीप्रति समर्पित छ । अनि अत्यन्तै प्रगाढ र गाढा । म मेरो अन्धो प्रेमलाई एकोहोरो भएपनि कहिल्यै मर्न दिने छैन, मेरा हरेक अवयवहरुमा सञ्चित गरेर राख्नेछु अनि जिउने प्रयास गर्नेछु तिम्रै प्रेममा । यदी मरिहालेछु भने पनि जुनकीरीझै तिमीलाई उज्यालो दिइरहने छु । मेरो मायामा स्वार्थ नै छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्ठा गरेको पनि छैन । मेरा लागि प्रेम आत्मिय बन्धन हो जहाँ हार्ट टु हार्ट कनेक्सन हुन्छ यानकी दुई मुटुको मिलन हुन्छ । जहाँ मनसँग मनको गहिराइ नापिन्छ र यो अटुट रहन्छ । के तिमी मेरो यो मिठो अनुरोध स्वीकार गर्छौ ? तिम्रो मायामा रम्ने हक दिन्छौ मलाई ? म तिम्रो जवाफ पर्खिरहनेछु, कालान्तरसम्म अनि यही निस्वार्थ प्रेम गरिरहनेछु तर एउटा कुरा यदि तिमी कसैमा समर्पित छौ भने आइ एम सरी म त्यो प्रेम गर्न सक्दिनँ किनकि म अर्काको मायाको महल भत्काएर आफ्नो संसार जमाउन चाहन्छ । एउटा गुलाफ दिएर बदलामा कसैको मन पाइने भए संसारका अधिकांश बगैँचा बाँझा हुनेथिए होलान् त्यसैले मैले त केवल दिँदैछु एउटा प्रेमपत्रको उपहार ता कि फुल पनि फुल्न पाओस्, तिम्रो मनमा म पनि बस्न सकूँ । मुखमा रामराम गरि पेटमा छुरा हान्दिन म माया नाप्ने यन्त्र भए भए देखाइदिन्थें नापेर कोहीकोहीलेझै बाह्र सत्ताइस कुरा जान्दिनँ म अहिलेलाई बिदा ।
उही तिम्लाई कालान्तर मायाँ गर्ने पागल प्रेमी 
बिकास गुरुङ 'उदासी'

लेख्दै जाँदा आफै लामो भएछ पत्र । अनि एकचोटि आफैले पढेँ । खै के हो के शब्द वा भाषा नमिलेको भान भयो मलाई । आफैँसँग लाज महसुस भयो र सबै शब्दलाई चिठी बनाएर नपठाई एकै क्लिकमा डिलिट गर्न मन लाग्यो । तर आफैलाई सम्हालेँ । मेरो क्षमता जति थियो त्यो सबै प्रयोग गरेर लेखेको, डिलिट गर्न थियो त किन लेख्नुपर्थ्यो त्यत्रो टाइम लगाएर जे सुकै परोस् भनेर आँखा चिम्लिएर पठाइदिएँ जो होगा देखा जाएगा भनेर ।
फेसबुकबाट चिठी त पठाएँ तर जवाफ आउने लक्षण देखिएन बरु माया अफलाइन भई । मन कताकता आफैँ भित्रभित्र कुँडिन लाग्यो । मलाई यो सारा संसार शुन्य लाग्न थाल्यो । मेरो मुटु बिनाकारण आफै चिमोटिरहेको थियो र आखा त्यसै त्यसै रसाइरहेको थियो । दस मिनेटसम्म माया अनलाइन देखिएन । म दस पटक मनभित्र दन्किरहेको आगोको मुस्लोमा परेर छट्पटाउँदै मरिरहेको थिएँ । लाग्थ्यो पल पल मर्नुभन्दा त बरु एकैचोटि मर्दिन पाए कति सजिलो हुँदो हो । साँच्चै, मलाई अब मेरो बाँकी जीवन ब्यर्थ लाग्न लाग्न थाल्यो । मरुँ भने पनि जाबो एउटा केटीको लागि मर्र्यो भनेर दुनियाँले मेरो लासमाथी थुक्ने छ । अनि घिटिघिटी बाँचौ त म अब उसको सामू कसरी मुख देखाउँ । भगवानले यो फटाहको छट्पटी देखेर दया लागेको हुँदो हो माया फेरि टुप्लुक्क अनलाइनमा देखा परि ।
साँच्चै भर्खर चिठी लेखिरहँदा त उसको प्रेमको चाहना मात्र थियो मानौ म उसको सुन्दरतासँग आकर्षित भएको थिएँ तर अब म उसलाई साँच्चिकै प्रेम गर्छु । उसलाई नपाए म कसैलाई प्रेम गर्दिनँ मनले यस्तै यस्तै अठोट गर्न लाग्यो । म उसको जवाफको प्रतिक्षामा थिएँ । तर उसको जवाफ आउने लक्षण देखिएन । 
मैले च्याटमा आफ्नो मनको कुरा भन्दै गएँ - "हुन्छ कि हुँदैन अब त मेरो लाचारीपनलाई बुझ्ने कोशिश गर प्लिज माया । म अझै तिम्रो जवाफको प्रतिक्षामा छु कि हुन्छ भन, हुन्न भने नाई भन ।" 
बल्लबल्ल एउटा म्यासेज आयो तर जब म्यासेज हत्तपत्त खोलेँ तब थाहा भयो त्यो म्यासेज मायाको नभएर अरु कुनै अपरिचितको थियो । मैले त्यो म्यासेज गर्ने अपरिचित साथिलाई रिसाएको इमोजी पठाइदिएँ । ऊ छिनभरमै अफलाइन भयो अनि मेरो मन शितल भयो । 
जति पर्खिए पनि जवाफ नआएपछि मेरो धैर्यताको बाँध फुट्थ्यो अनि फेरि पहिलाको म्यासेजमै थप कुराहरू भन्दै गएँ, "यदि मैले गल्ती गरेछु भने पहिलो गल्तिमा क्षमा गरिदेउ । किनकी एक पटकको गल्ती त स्वयं भगवानले पनि माफ गरिदिन्छ्न् रे, तिमी निश्चय पनि त्यो भगवान भन्दा माथिल्लो स्तरको छैनौं । सोचेँ म जे चाहन्छु त्यो नपाउन सक्ला तर मलाई जे चाहिन्छ त्यसमा सक्ने पहल गर्नुपर्छ अनि आज केटाकेटी अवस्थाकै खेल खेल्ने चाह जागेर आयो । उहीँ कुरा पटक पटक सुन्नु पर्दा दिक्क लाग्ला तिमीलाई, तर म त सँधै एउटै कुरा भनिरहन्छु - 'म तिम्लाई प्रेम गर्छु माया, आई लब यु भेरी मच', किन मेरो प्रस्तावलाई बेवास्ता गर्छौ म तिम्रो जवाफको प्रतिक्षामा पूरा गलिसकेको छु अब यो भन्दा बढि जल्नु उचित हुँदैन ।"
बल्ल तल्ल म्यासेस आयो उनले भनी - "तिम्रो चिठी त यस्तो लामो पनि ।" 
मलाई भन्न मन लागेथ्यो, 'तिम्रो साथमा हाँस्न पाएँ भने इतिहास पनि लेखिदिन्छु, तिमी भन मात्रै म तिम्रो लागि ज्यान दिन्छु, हो माया तिम्रो लागि र आफ्नो प्रेमको लागि म भ्यालेन्टाइन बन्न पनी तयार छु' तर भनिनँ । लाग्यो चिठी त लामो भन्नेले यस्ता नेपाली फिल्मको झुर डाइलक के पढ्दी हो भनेर अनि लेखेर पठाएँ, "चिठी लामो भएपनि मेरो मनको कुरा थाहा पाइहाल्यौ, एक शब्दको उत्तर देउ न त मलाई 'हुन्छ' कि 'हुँदैन' ?
उनले भनी - "यो हुँदैन । मैले तिम्लाई मायाँनै नगरी म कसरी हुन्छ भनूँ त ?" 
मलाई एक सय बीस भोल्टको करेन्ट लागे जस्तो भयो । कति आश थियो मेरो उनले "हुन्छ" भन्लिन् । अनि म पनि तिमीलाई माया गर्छु भनोस् तर आशा जति सबै निरासामा परिणत भयो । 
मैले भनें - "वाह माया वाह ! तिम्ले मेरो पागलपनको खुब फाइदा उठायौं म तिमीलाई कसरी भनूँ कि म तिमीलाई यती धेरै प्रेम गर्छु भनेर । तिमी मलाई घृणा गर्छौ भने केही छैन, बोल्दै नबोली हिँड्न भन्दा घृणा गरि थुक्ने गर मलाई । जुन सपना मैले आजसम्म मेरो आफ्नो आँखाले देखेको थिइन, त्यो तिम्रो सामिप्यताको कल्पनामा देख्न थालेको थिएँ तर तिम्लाई त्यसको प्रवाह हुँदैन भने त्यो मेरो वशको कुरा हैन, नकार्न वा घृणा गर्न तिमी स्वतन्त्र छौ । तिमीलाई चिठीको लागि पनि सोध्नु मेरो तिमीसँग नजिकिने वहाना मात्र थियो । तिमीले यती मात्र भन तिमी मलाई बुझ्न चाहन्छौ कि चाहँदैनौ ?"
उसले छोटो वाक्यमा भनी - "प्लिज सरी यस्तो हुँदैन ।"
मलाई सम्पूर्ण धर्ती आकाश फाटेझैँ भयो । मैले भने - "कस्सम माया !, तिमीसँगै दिनदिनै जिस्किएर बोल्दाबोल्दै म तिमीलाई मन पराउन थालेछु, के तिम्लाई म प्रतिको त्यस्तो केही आभास हुँदैन ?" उनले भनी - "तर मलाई त त्यस्तो केही हुँदैन । मैले त तिम्लाई केवल एउटा असल साथी मात्र सम्झिएको छु । मैले तिम्लाई कहिल्यै मिस गरिनँ । यस्तो वाइयात कुरा तिम्रो मनबाट निकाल अनि पढाईमा लाग ।"
मलाई 'हुन्छ तिमी त्यस्तो चाहन्छौ भने ठिकै छ । मैले तिम्लाई फोर्स गरेको हैन जस्ट रिक्वोस्ट गरेको हुँ । सक्छौ भने मलाई माफ गरिदेउ ल । यति भन्न पनि किन अनकन गर्‍यौ ? आखिर मलाई यत्रो बेर तड्पाएर तिम्लाई के स्वाद पर्‍यो' भन्न मन लागेको थियो तर अब के अर्थ ? अनि मैले "ह्वस मेरो उत्तर पाएँ, सायद म नै गल्ती रहेछु अनि मैले तिम्रो निम्ति साँचेको सपना सबै भ्रम रहेछ" भनें । 
उनले एकदम औपचारिक कुरा गर्दै भनि - "इट्स ओके, हुन्छ । ज्ञानी कुरा गर्‍यौ ।"
मैले भनें - "कति कमजोर रैछ मेरो प्रेमको डोरी ! भक्खर झुन्डिएर यात्रा शुभारम्भ गर्ने बित्तिकै चुँटिन पुग्यो तर कसैसँग केही गुनासो छैन त्यो पनि मेरो भाग्यकै खेल भनी चित्त बुझाउँला तिमी चिन्ता नगर अबदेखि यस्तो गल्ती आइन्दा दोहर्‍याउने छैन । मैले आफ्नो औकात बिर्सिएँ, मैले मित्रताको नाता भुलेर मात्र बनाउन पुगे एउटा पवित्र नाता प्रेमको जुन मेरो एउटा सपना मात्र तर रहेछ तर सपनाबाट बिउँझँदाको बिचित्र संसार त कति हो कति गुणा बेग्लै रहेछ ।
उनले भनि - "कस्तो राम्रो लेख्दो रहेछौ तिम्ले त, मलाई त यस्तो लेख्नै आउँदैनँ । अनि भोलीको एक्जामको लागि तयारी कस्तो छ तनि ?" 
सायद कुराको प्रसंग अन्तै मोडेर झमेलाबाट मुक्ति चाहन्थी उनी । तर आफ्नो मनको सबै बोझिलो भारी अन्तिम पटक वहकिएर सधैंका लागि बिसाउनु थियो आज मैले । अनि भनें - "मैले डिस्ट्रब नगर्नु पर्ने थियो तर गरें । आजको दिनमा जुन घटना घट्यो त्यो सबलाई एउटा नमिठो सपना सम्झेर भुलिदेउ ल । तिमी त बुद्विमानी अनि इन्टिलिजेन्ट केटी बिगतको कुरालाई सम्झेर भावी जीवनमा कहिल्यै पनि नरोउ जुन बिगतमा "बिकास" सहिदको नमिठो अतित हुनेछ । यो युनिभर्सल ट्रुथ हो, एकदिन तिम्ले अवस्य कसैलाई माया गर्छौ त्यतीबेला थाहा पाउँछौ भावना के हो ? सम्बेदना के हो ? हाँसो के हो ? रोदन के हो ? अनि पक्कै तिम्रो मुखबाट पनि एकदिन मैले आज तिमीसँग बोलेको केही झुर डाइलकहरु मेरो मुखबाटझै फुस्किने छ सायद लुकाउन खोज्दाखोज्दै । याद आउनेछ तिम्लाई मेरो, जतिबेला म तिमीबाट सदाको लागि पराई बनिसकेको हुनेछु ।" 
उनी मेरो एक एक कुराबाट बोरिङ हुँदै थिई सायद अनि भनि - "ल ल बिकास म गएँ ल ।" मैले भने - "जाउ या बस के मैले रोक्न सक्छु र ? तिमी कहिले पो मेरो थियौ र, अनि तिमी मेरो को नै रहेछौ र म तिम्लाई रोकछेक गर्न सक्ने ?" 
उनले भनी - "ए... हेल्लो प्लिज, बिकास त्यस्तो कुरा नगर न...।"
मैले भनें - "तिमी मेरो ठाउँमा बसेर हेर अनि कसैलाई एकतर्फी मन दिएर हेर अनि तिम्लाई महसुस हुन्छ एकतर्फी मायाँले कति पीडा दिन्छ जुन पीडा आज मैले भोगिरहेको छु । मैले भुलेर पनि तिमीसँग जिस्किन हुँदैन थियो, आगोसँग तेल बनी मिस्सिन हुँदैन थियो, म त एकाबिहानै बाटोमा भेटेर हराउने बादल आखिर जानी जानी तिम्लाई यसरी दिल दिन हुँदैन थियो ।"
उनले भनी - "भैगो बिकास ! मान्छे कतिसम्म धोकेवाज हुन्छ मैले जीवनको पाठ पढिसकेको छु अनि पीडा कस्तो हुन्छ महसुस गरिसकेको छु । तिम्ले आज भोगेजस्तो पीडा म स्वयंले भोगेको छु कुनैदिन ।"
मैले भनें - "सायद तिमी आफू अतितमा अल्झिएर सांसारिक मायाँ मोह त्याग गरेर आफ्नो पूरा जीवन व्यतीत गर्न चाहन्थ्यौ तर म त्यसमा अवरोध बनें । अतितकै कुरा र खोटो नियतीकै इतिहास केलाउने हो भने तिम्रो भन्दा कयौं गुणा कहालिलाग्दो अतीत छ मसँग । हो माया, साँच्चै सबको जीवनरुपी बारीको कुनै छेउमा थाहै नपाई प्रितीको फुल फूल्दो रहेछ तर त्यो फूल अरु कसैले टपक्कै टिपी लगिदिएपछि बोटनै रित्तो हुँदो रहेछ अनि फेरि न कसैले फूल रोपिदिन्छ न बोटमा अर्को फूलनै फुल्न सक्छ सारा जीन्दगीनै सादा बनेर जादों रहेछ, बोट त्यसै त्यसै सुकेर जाँदो रहेछ ।"
रात झन् झन् कठोर बन्दै गइरहेको थियो, त्यस्तै माया पनी । कसैको सम्झनाले घरीघरी मुटु चिमोट्न आउँथ्यो र आखाँ घोंच्न आउँथ्यो अनि अनायसै आँशुको भल बग्न लाग्यो । 
उनले भनी - "बिकास, गुड नाइट म जान्छु ल...।" 
मैले भनें - "तिमी जाउ या आउ आखिर मसँग किन अनुमाति लिन्छौं ? म त तिम्रो अतितको खाटा बसिसकेको घाउ कोट्याउने अपराधी हुँ । फेरि, हावामा जुन सपनाको महल बनाएको थिए त्यसको अस्थित्व नै नरहेपछि कस्को के नै लाग्छ र । म तिम्रो कुरामा न सहमत दिन सक्छु न असहमति नै ।" 
हेर्दाहेर्दै माया अफलाइन भई । मलाई डाँको छोडेर रुन मन लाग्यो । म रोएँ, म कराएँ, म चिच्याएँ, म अनायासै पागलसरी भएँ । माया मेरो थिइन र अब कहिल्यै हुन्न पनि । मलाई चिच्याई चिच्याई भन्न मन लाग्यो - "ए, माया तिम्रो प्रेमको साहाराबाटै म फटाहबाट असल राम्रो मान्छे बन्न खोजेको थिएँ । तिमी मलाई प्रेम त गर्दिनथ्यौ तर मेरो आत्मालाई एकैचोटि यसरी नभट्काएको भए हुन्थ्यो नि । म पनि त मान्छे हुँ, मेरो पनि त मन छ । तिमी मलाई सायद पागल भन्छौ होला तर म तिम्रो माया पाए पागल भएर पनि राजिखुसी बस्न सक्थे तर तिम्रो यो बेवास्ताले मेरो मुटु अनपट्याट रुपमा दुखिरहेको छ । थाहा छैन म यो चोट सहेर बाँच्न सक्छु कि सक्दिनँ । तर पनि पनि यो मन तिमीलाई खोजिरहेको छ । कस्तो हुँदो हो मान्छेलाई जीवनमा रुन नपरे, सायद रुन नपर्दो हो म जस्तो धर्तीको मान्छेले आकाशको जुन छुन नखोजे । हो माया मैले आकाशको जुन छुन खोज्न हुँदैनथ्यो अनि मर्द भएर रुन हुँदैनथ्यो तर के गर्नु म आफूलाई सम्हाल्न सकिरहेको छैन । सुनेको थिएँ प्रेममा सबै चिज हुन्छ तर आज थाह भयो यहाँ हाँसो भन्दा पनि बढी आँसु हुँदो रहेछ । तर दोषी तिमीलाई कहिल्यै पनि ठान्दिन म, पराई पनि तिमीलाई कहिल्यै मान्दिनँ म । प्रेमको यस्तो अनाकन्टार र कठिन यात्रामा एक्लै छोडेर गएपनि पनी आज, घर न घाटको पारेपनी आज, तिमी छौ प्रिय सदा सदा मेरो मुटुको माझ, मेरो दिलको दिलको माझ… ।"
कस्तो मोड आयो मेरो यो प्रेमको यात्रामा जहाँबाट म न अघि बढ्न सक्छु न पछाडी फर्किन नै । के मैले गल्ती गरेको थिएँ ? जुन मान्छे मसँग छिटै नजिकिएर ललिते ओठले मिठोमिठो बोलेको थियो मैले उसको सामु छिटै दिलका भावनाहरू खोलेँ । तर आज उहीँ मान्छेले आखिर किन भित्र भित्रै आँगो बनेर यो निर्दोष प्रेमलाई मसानघाटमा पोलिरहेको छ । के गर्नुपर्थ्यो मैले उसको प्रेम पाउन ? के म साँच्चिकै प्रेम गर्न लायक छैन । के म साँच्चिकै आफ्नो प्रेमको अग्नि परिक्षामा जलेर भस्म हुनै आँटेको हो त ? के मलाई विधाताले ठगेकै हो त ? के मेरो भाग्यमा मेरो नभएकी प्रियसीको मायाँ लेखेकै थिएन ? हो, म पापी हुँ, म जाली हुँ अनि मलाई कहिल्यै खुसी मिल्दैनँ कारण मैले धेरैको आत्मा रुवाएको छु । म आफ्नो स्वार्थको लागि धेरै निच कामहरू गरेको छु । 
रातको एघार बज्यो । फेसबुक पनि खुल्लै थियो तर कसैसँग बोल्न मन थिएन म्यासेजहरु एक पछि अर्को गर्दै थपिदैँ गइरहेका थिए त्यस्तै मनमा माया प्रतिको गुनासोको खाकाहरु पनि । 
एउटा विदेशी साथीले म्यासेज गर्यो - "ह्याप्पी भ्यालेन्टाइन डे बिकास" । मैले रिप्लाई गरेँ - "डण्ट से ह्याप्पी, आम फिलिङ हार्टब्रोकन हेयर ।" 
उसले थप्यो - "बट ह्वाई" । मैले जवाफ दिएँ - "आई हेट भ्यालेन्टाइन डे एण्ड भ्यालेन्टाइन टु, हु स्याक्रिफाइड हिज लाइफ फर लब" । 
उसले अंग्रेजी सोध्दै गयो मैले उत्तर दिँदै । जीवनकै स्पेसल दिन बन्यो आज मेरो तर कुन नाउँ दिउँको आजको दिनलाई ? म स्वभावैले कवि मन भएको मान्छे । मायालाई देखेर मनमा कुरा खेलेपछि लेखेको गजल र मुक्तकको अन्तिममा लेखेँ - "आई लब यु माया, बट देयर इज नो माया इन दिस युनिभर्स फर मि" । लेख्दै गरेको डायरीको बिच तिरको एउटा पानाको हेडलाइनमा आजको दैनिकी लेखेँ अनि कालो र भद्दा अक्षरमा आजको स्पेसल दिनको स्पेसल नाम राखिदिएँ - फ्रेब्रुवरी 14 : ब्लाक भ्यालेन्टाइन ।

(नोट: यो कथामा उल्लेख गरिएको मायाँँ पात्र काल्पनिक हो । कसैको नामसँग मेल खान गएमा संयोग मात्र हुनेछ । यदि तपाईंलाई कथा मन पर्यो भने आफ्नो फेेसबुक वा ट्विटर आदिमा सेयर गर्न नभूल्नुहोला र प्रतिक्रिया दिनुहोला ।) (alert-success)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Accept !) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top