गालीले भन्दा तालीले नै सुधार हुन्छ (Praise Makes The Life Change)
एउटा सानो गाउँमा रामहरि नाम गरेको केटो थियो। उसको घरको आर्थिक अवस्था निकै कमजोर थियो किनभने उसले सानैमा बाबु गुमाएको थियो। रामहरिकी आमा घर-घर गएर भाँडा माझ्ने र ज्याला मजदुरी गरेर जेनतेन घरको गुजारा चलाउने गर्थिन्। रामहरि प्रायःजसो चुपचाप नै बस्थ्यो र साथीहरूसँग घुलमिल हुन सक्दैनथ्यो।
एकदिन उसको शिक्षकले रामहरिलाई एउटा चिठी दिँदै भने, "तिमी यो चिठी लगेर आफ्नी आमालाई दिनु।"
रामहरिले घर आएर त्यो चिठी आफ्नी आमालाई दियो। आमाले चिठी मनमनै पढ्दै मुस्कुराउन थालिन्। छोरा रामहरिले आमालाई उत्सुकतापूर्वक सोध्यो, "आमा, यो चिठीमा के लेखेको छ?"
आमाले मुस्कुराउँदै भनिन्, "छोरा, यसमा लेखेको छ कि तिमी कक्षामा सबैभन्दा होसियार छौ। तिम्रो दिमाग अरू सबै बच्चाहरूको भन्दा तेजिलो छ। हामीसँग तिमीलाई पढाउन सक्ने योग्य शिक्षक छैनन्। त्यसैले तिमीलाई कुनै अर्को राम्रो स्कुलमा भर्ना गरिदिनुस्।"
यो सुनेर रामहरि खुसी भयो। साथसाथै उसको आत्मविश्वास पनि निकै बढ्यो। उसले मनमनै सोच्न थाल्यो कि ऊसँग केही खास छ, जसले गर्दा ऊ अरुभन्दा फरक र प्रतिभाशाली छ।
भोलिपल्ट उसकी आमाले उसलाई अर्को स्कुलमा भर्ना गरिदिइन्।रामहरिले पहिलेभन्दा धेरै मिहिनेत गरेर पढ्न थाल्यो। शिक्षकको प्रोत्साहन र आमाको हौसलाले गर्दा ऊ सधैँ अगाडि बढिरह्यो। समय बित्दै गयो र एकदिन ऊ आफ्नो मिहिनेतले निजामती सेवाको एक प्रतिष्ठित पदमा जागीरे भयो। त्यतिन्जेल उसकी आमा वृद्ध भइसकेकी थिइन्। एउटा गम्भीर रोगले ग्रस्त भएर एकदिन उनको अचानक मृत्यु भयो। रामहरिको आफ्नी आमासँग गहिरो लगाव थियो।
आमाको मृत्युले रामहरि धेरै रोयो। उनको मृत्युपछि एकदिन उसले आमाको आलमारी खोल्यो र सामानहरू हेर्न थाल्यो। त्यसबेला रामहरिको नजर एउटा पुरानो चिठीमा पर्यो। त्यो त्यही चिठी थियो जो उसको शिक्षकले आमालाई दिनका लागि दिएका थिए। जब उसले त्यो चिठी पढ्यो, उसको होस उड्यो।
त्यस चिठीमा लेखिएको थियो - "तपाईंलाई यो कुरा भन्दै गर्दा हामी धेरै दुःखी छौँ। तपाईंको छोरा रामहरि पढाइमा धेरै कमजोर छ। ऊ खेलकुदमा पनि राम्रो छैन। जसरी उसको उमेर बढ्दै छ, त्यसरी उसको बुद्धिको विकास भएको छैन। यसैले हामी यसलाई स्कुलबाट निकाल्दै छौँ। तपाईं यसको भर्ना कुनै अर्को स्कुलमा गरिदिनुस्, होइन भने घरमै राखेर पढाउनुहोस्।"
चिठी पढेपछि रामहरि भुइँमा थ्याच्च बस्यो। उसको आँखाबाट आँसुका धारा बग्न थाले। उसले बुझ्यो कि उसको सफलता उसको आफ्नो मिहिनेतका कारण मात्र होइन, बरु उसकी आमाले दिएको असीमित प्रेम र आत्मविश्वासका कारण थियो। आमाले झुटो बोलेर उसलाई कहिल्यै कमजोर महसुस हुन दिइनन्, बरु उसमा विश्वास जगाइदिइन्। रामहरि निकै भावुक भयो, र उसले बुझ्यो कि जीवनमा सबैभन्दा ठूलो शिक्षक र प्रेरक अरू कोही नभएर उसकी आमा नै थिइन्।
Post a Comment