एक महिलालाई आखिर के चाहिन्छ?
राजा उदयराज युद्धमा हारे। उनलाई हतकडी लगाएर जितेका छिमेकी राजाको अगाडि पेश गरियो। आफ्नो जितमा हर्षित हुँदै छिमेकी राजाले उदयराजलाई एउटा प्रस्ताव राखे: "यदि तिमीले मेरो एक प्रश्नको सही जवाफ ल्याएर दिन्छौ भने, म तिम्रो राज्य फिर्ता दिन्छु। अन्यथा, तिमीलाई आजीवन कारावासको सजाय भोग्न तयार हुनुपर्नेछ।"
प्रश्न थियो: "एउटी महिलाले आखिर के चाहन्छे?"
यो प्रश्नको जवाफ दिन उनलाई एक महिनाको समय दिइयो। उदयराजले यो प्रस्ताव स्वीकार गरे।
राजा उदयराज ठाउँ-ठाउँमा गएर बुद्धिजीवी, विद्वान् र सबै घरेलु महिलादेखि नृत्यांगना र रानीहरूसम्मलाई भेटेर "महिलालाई आखिर के चाहिन्छ?" भनी जान्न चाहे।
कसैले "सुन", कसैले "चाँदी", कसैले "हीरा" भने। कोहीले "माया", कोहीले "श्रीमान्, छोराछोरी र परिवार" भने। तर, कसैले पनि सन्तोषजनक र चित्तबुझ्दो उत्तर दिन सकेनन्।
एक महिना बित्यो र उदयराजले कुनै चित्तबुझ्दो जवाफ पाएनन्।
कसैले भने, "टाढाको देशमा एक जादुगरनी बस्छे, ऊसँग हरेक प्रश्नको जवाफ हुनसक्छ।"
त्यसपछि, उदयराज आफ्ना साथी रामहरिसँग जादुगरनी भएको ठाउँमा गए र आफ्नो प्रश्न राखे।
जादुगरनीले उदयराजका मित्रलाई हेर्दै भनी: "म तपाईंलाई यसको सही उत्तर दिनेछु। त्यसको बदलामा, तपाईंको मित्रले मसँग विवाह गर्नुपर्नेछ।"
त्यो जादुगरनी हेर्दा अपरिचित र कुरुप थिइन्। उनको कुटिल मुस्कान उदयराजतिर थियो।
उदयराजले आफ्ना मित्रलाई समस्यामा पार्न अस्वीकार गरे। तर, रामहरिले आफ्नो साथीको जीवनको खातिर केही नसोची ती जादुगरनीसँग विवाह गर्न सहमति जनाए।
त्यसपछि, जादुगरनीले उत्तर दिई: "महिलाहरू आफू स्वयं निर्णय लिन र आत्मनिर्भर बन्न चाहन्छन्।"
यो उत्तर उदयराजलाई सही लाग्यो। छिमेकी राजाले पनि यसलाई स्वीकार गरी उदयराजलाई उनको राज्य फिर्ता दिए।
यता, जादुगरनीसँग रामहरिको विवाह भयो। सुहागरातको दिन जादुगरनीले आफ्ना श्रीमानलाई भनी - "तपाईंको मन पवित्र छ र आफ्नो साथीको लागि तपाईंले जीवन बलिदान दिनुभएको छ। त्यसैले, म १२ घण्टा कुरुप देखिने छु र त्यसपछिको १२ घण्टा तपाईंले भनेबमोजिम राम्री हुनेछु। तपाईं भन्नुहोस्, तपाईंलाई मेरो कुन रूप मन पर्छ?"
रामहरिले भने - "प्रिय, मैले तिमीलाई श्रीमती भनेर स्वीकार गरिसकेको छु। तिम्रो हरेक रूप मलाई मन पर्छ। त्यसैले, यो निर्णय तिमी आफैँले गर्नुपर्छ।"
जादुगरनीले यो कुरा सुन्नेबित्तिकै भनी - "तिमीले निर्णय गर्ने अधिकार मलाई दिएकाले म अब सधैँ यही राम्री रूपमा बस्नेछु। खासमा, मेरो असली रूप यही हो। मेरो वरिपरि रहेका कुटिल विचार भएका मान्छेहरूलाई मबाट टाढा राख्नको निम्ति मैले यो कुरुप रूप धारण गरेकी थिएँ। वास्तवमा म राम्री छु।"
✍️ मौसुफ
सार:
सामाजिक व्यवस्थाले महिलालाई परनिर्भर बनाएको छ, तर मानसिक रूपमा उनीहरूमा कुनै कमी हुँदैन। त्यसैले, श्रीमतीलाई घरकी रानी बनाउनेहरू प्रायः खुसी देखिन्छन्। पुरुषले श्रीमतीलाई रानी बनाए पनि, उनको जीवनको एक पाटो स्वतन्त्र हुनुपर्छ। नारी स्वतन्त्रताको लागि उनी आफैँले आफ्नो जीवनको बारेमा निर्णय गर्न चाहन्छिन्।
Post a Comment