दक्षिण एसियाकै पहिलो होमस्टे: सिरुबारीको जादू, संस्कृति र आतिथ्यता
![]() |
| घर फर्किने बेला लिइएको सामूहिक फोटो |
मेरो जीवन एउटा चक्रव्यूह बनिसकेको थियो, जहाँ समयको सुईले मात्र गति लिन्थ्यो, तर मेरो सपनाहरू चिसो र अँध्यारो कुनामा मर्न विवश थिए। हरेक पटक जब मैले मनमा यात्राको एउटा सानो बिउ रोप्थेँ, लगत्तै 'व्यवहारिकता' नामको कठोर 'असिना' आएर त्यसलाई टुसाउन नदिँदै चुँडिदिन्थ्यो। सपनाहरूलाई मनको गर्भमै तुहाउनुपर्दाको त्यो पीडा... आफ्नै चाहनाको हत्यारा बन्नुपर्दाको त्यो अपराधबोध... त्यो पीडाले मलाई भित्रभित्रै, बिस्तारै-बिस्तारै खियाउँदै थियो।
तर, यसपटक— मेरो आत्माले विद्रोह गर्यो!
कुनै अज्ञात शक्तिले मभित्रको सबै 'डर' र 'दबाव'लाई फालिदियो। मैले ती सबै स्थापित व्यवस्थाहरू, ती 'गर्नैपर्ने' र 'हुनैपर्ने' नियमहरूलाई एउटा चर्को 'चक्मा' दिएँ। हो, यो विद्रोही पाइला चाल्नुअघि म पूर्ण सचेत थिएँ। थाहा थियो, मौसमको हाइलाइटमा 'भारी वर्षाको सम्भावना' छ। आकाशको रङ हेर्दा लाग्थ्यो, जताततै नियतिले कालो मसी पोतिदिएको छ। हिजो रातीदेखि परेको पानी अझै थामिएको छैन।
अनि त झन्... हिजो बाटो चिप्लो हुन्छ भनेर मैले स्कुलमै छोडेर आएको मेरो स्कुटरलाई आज जबर्जस्ती ठेलेर, हिलोमा घिसारेर घरसम्म ल्याउनु— यो निर्णय कुनै पनि हिसाबले बुद्धिमानी थिएन। आँधीबेहरीको सङ्केत दिइरहेको त्यो मन्द वर्षाको बीचमा, रेनकोट भिर्दै, निस्कनैपर्छ भन्ने एउटै जिद्दी लिएर यात्राको सुर कस्नु... म आफैँलाई सोध्थेँ— म मूर्ख हुँ कि पागल?
तर यो 'पागलपन' मा एउटा अनौठो, लगभग दिव्य शान्ति लुकेको थियो। मलाई अब कसैको डर थिएन— न बाटोको हिलोको, न पहिरोको... न त यो अनिश्चित मौसमको। मलाई लाग्यो, अब म आफ्नै नियतिको दास होइन, बरु स्वतन्त्रताको यात्री हुँ! मेरो यात्रा अब कुनै मनोरञ्जन थिएन, यो त आफैँलाई बचाउने अन्तिम प्रयास थियो!
बाहिर निस्कँदा, झरीका थोपाहरूले मेरो अनुहारमा ठोक्किँदा, मलाई लाग्यो— यी थोपाहरू पानी मात्र होइनन्, यी त वर्षौंको दबेको आक्रोश र मुक्तिको आँसु हुन्। म एउटा अपरिचित ऊर्जा लिएर घरको ढोकाबाट बाहिर निस्किएँ। अब मलाई कुनै शक्तिले रोक्न सक्ने थिएन।
मेरो यात्रा, चापाकोट नगरपालिकाको लग्दाबाट सुरु भयो। त्यो क्षण सम्झँदा लाग्छ, म कुनै साधारण गन्तव्यतर्फ होइन, बरु आफ्नै नियतिसँगको भेटका लागि हिँडिरहेको थिएँ। मेरो भेगका साथीहरूले यो जोखिम मोल्न चाहेनन्। उनीहरूको 'विवेकशील डर' ले मलाई एक्लो बनाइदियो। तर, मलाई यस एक्लोपनसँग कुनै गुनासो थिएन। म त एउटा 'एक्लो यात्री' बन्न आतुर थिएँ, किनकि मेरा सपनाहरू केवल एक्लोपनमा मात्र सास फेर्न सक्थे।
पहिलो पौने घण्टा... त्यो समय एउटा झूटो सान्त्वना जस्तो थियो। बाटो परिचित थियो, मन ढुक्क थियो, र मेरो आत्मालाई लागिरहेको थियो— 'सबै ठीक छ।' तर, त्यो सान्त्वना लामो समय टिक्न सकेन।
हेलु बजार काटेर जब मैले एउटा अपरिचित मोड लिएँ, तब मेरो सफर 'चिनेको' बाट 'अपरिचित' बाटो र बस्तीको अँध्यारो क्यानभास तिर मोडियो। एक्लोपनले मलाई अँगालो हाल्न थाल्यो। मनभित्र एक किसिमको अत्यास बढ्यो— कतै म गलत त गरिरहेको छैन? कतै मैले आफ्नो यात्राको निर्णयलाई लिएर पश्चात्ताप त गर्नुपर्ने होइन?
म बारम्बार आफ्नो स्कुटर रोक्थेँ। वरपर भेटिने हरेक अपरिचित अनुहारलाई आशाले हेर्थेँ, र सोध्थेँ— "एक्सक्युज मि! सुन्नुस् न, सिरुबारी जाने बाटो यहीँ हो? कति समय लाग्छ एकिनले भनिदिनुहोस् न!"
तर, मान्छेहरूका उत्तरहरूमा कुनै एकिन थिएन। सबैका फरक-फरक अड्कल— समय र दूरीका मिथकहरू! कसैले 'दुई घण्टा' भन्थे, कसैले 'तीन घण्टा'। मलाई लाग्थ्यो, उनीहरू मेरो प्रश्नको उत्तर होइन, बरु मेरो धैर्यताको परीक्षा लिइरहेका छन्।
र, त्यसपछि आयो त्यो क्षण जसले मेरो धैर्यतालाई चरम विन्दुमा पुर्यायो। एक घण्टा निरन्तर हिलो र उकालोको यात्रा गरिसकेपछि, एक ठाउँमा क्यारेम खेलिरहेका केटाहरूले हल्का हाँस्दै भनिदिए— "धेरै लामो बाटो छ, रातीको १०/१२ बज्छ!"
मेरो मुटु एकैछिनमा रोकिएला जस्तो भयो। रातको १०/१२ बजे? यो झरी र अपरिचित बाटोमा? मनभित्र आक्रोश र डरको एक किसिमको तुफान चल्यो। मलाई लाग्यो, मेरो त्यो विद्रोही यात्रा यहीँ आएर तुहिने त होइन?
तर, मैले लामो सास लिएँ। यो हतारमा गन्तव्य भेट्ने दौड थिएन। मलाई थाहा थियो— मलाई गन्तव्यको अन्त्यमा होइन, बरु यहीँ, यसै बाटोमा आफूलाई खोज्नु थियो। मैले क्यामेरा निकालेँ। मनमोहक लाग्ने ती गाउँ, बस्ती र सम्पदाहरूलाई मैले केवल आफ्नो मस्तिष्कको खाली पानामा मात्र होइन, मेरो लेन्सको फ्रेममा पनि कैद गरें।
त्यसपछि लाग्यो— जतिसुकै लामो होस् वा जतिसुकै अप्ठ्यारो, यो बाटो हिँड्नुको अर्थ छ। यो अनिश्चितता नै मेरो स्वतन्त्रताको मूल्य हो! र, मैले फेरि एक्लो पाइला अघि बढाएँ, आफ्नो हृदयमा एक नयाँ, अटल संकल्प बोकेर।
अन्त्यमा! लगभग दुई-अढाई घण्टाको त्यो कच्ची, हिलाम्मे संघर्ष! हिलोको लेप, चिसो हावा र बाटोको अनिश्चितताले थकित मेरो शरीरलाई क्षणभरमै विश्राम मिल्यो। जब मेरो दृष्टिमा त्यो मनमोहक दृश्य आयो— सिरुबारी!
![]() |
| दक्षिण एसियाकै पहिलो होमस्टे सिरुबारी गाउँ |
मेरो मुटुमा एउटा अविस्मरणीय कम्पन भयो। मैले हतारमा ब्रेक समाएँ, र मेरो स्कुटरले त्यहीँ विश्राम लियो। स्याङ्जाको आँधिखोला गाउँपालिकामा, १,६१० मिटरको उचाइमा बसेको यो गुरुङ गाउँ— यो केवल एउटा होमस्टे थिएन! यो त नेपालको मात्र होइन, दक्षिण एसियाकै ग्रामीण पर्यटनको गौरवशाली मुकुट थियो।
मेरो पहिलो नजर गाउँको समग्र सुन्दरतामा पर्यो— ढुङ्गाले छाएका छानाहरू, चिटिक्क परेका आँगनहरू, र हरेक घरको छेउमा सजिएका फूलहरू। मलाई लाग्यो, म कुनै गन्तव्यमा होइन, बरु मेरा पुर्खाहरूले छोडेर गएको कुनै पुरानो, प्रेमिल घरमा आइपुगेँ। मेरो 'फिरन्ते आत्मा' ले वर्षौंपछि बल्ल साँचो 'आश्रय' भेटेको महसुस गर्यो।
म ढिलो पुगेको थिएँ। पञ्चेबाजाको भव्य स्वागतको त्यो अवसर मैले गुमाएँ। तर, त्यसको कुनै गुनासो रहेन। जब घरका मानिसहरूले मेरो नजिक आएर, फूलमाला लिएर, निश्छल र न्यानो मुस्कानका साथ स्वागत गरे... मेरो हृदयमा गहिरो शान्ति छायो। त्यो क्षण, लाग्यो— यहाँको माटोमा एउटा अद्भुत शिष्टताको सुगन्ध छ।
यो गाउँको आतिथ्यता अन्यत्रको जस्तो थिएन। यहाँका मानिसहरूमा अवकाशप्राप्त लाहुरेहरूको अनुशासन र गुरुङ सभ्यताको असाधारण न्यानोपन एकै ठाउँमा घोलिएका थिए। तिनीहरूको अनुहारमा कुनै बनावटीपन थिएन, बरु थियो— आत्मीयताको एउटा गहिरो भाव।
हामीलाई बस्ने व्यवस्था गरिएको घर नम्बर १ र २... ती घरहरू पनि फूल र स्थानीय सजावटले भरिएका थिए। कोठाको सफा-चट व्यवस्था, ढुङ्गाको छपनीले छाएका बाटोहरू... हरेक कुराले भनिरहेको थियो— यहाँ सादा जीवन र उच्च विचारको दर्शन जिउँदो छ।
![]() |
| होमस्टेको घर नं. २ मा लिएको फोटो |
शरीर हिलो, वर्षा र यात्राको थकानले लखतरान थियो। म 'फ्रेस' भएँ। चिसो पानीले शरीरको बाहिरी धूलो त पखाल्यो, तर मनको भित्री संकोच ज्यूँका त्यूँ थियो। तैपनि, अब बस्नु थिएन।
आँगनको छेउमा भेला भयौं। यो रिफ्रेसमेन्ट कार्यक्रम सिटिजेन लाइफ इन्स्योरेन्स पोखरा शाखाका सिनियर एजेन्सी म्यानेजर आदरणीय उदय पुन ज्यूको आयोजनामा भएको थियो। चिन बहादुर गुरुङ, रुद्र गुरुङ र लाल प्रसाद गुरुङ जस्ता पुरुष अनुहारहरूसँग आफ्नै गाउँले पृष्ठभूमिको भएको कारण पूर्ण परिचित थिएँ। तर, ब्रान्च म्यानेजर सरिता पोखरेल भट्टराई, एजेन्सी म्यानेजर उमा राना, पुस्पा पुन, समीक्षा पौडेल, सीता गर्बुजा पुन जस्ता महिला अनुहारसँग भने म पूर्णतः अपरिचित थिएँ।
म स्वभावले अन्तरमुखी ! त्यसैले सबैका बीचमा खुलेर बोल्न, हाँस्न र घुलमिल हुन मलाई गाह्रो भइरहेको थियो। संकोचको एउटा अदृश्य पर्दाले मलाई घेरेको थियो।
तर, मेरो आँखा र मन भने ती मानिसहरूका क्रियाकलापमा केन्द्रित थिए। मैले उहाँहरूको बिजनेस स्ट्र्याटेजी, प्लानिङ र क्लाइन्ट काउन्सिलिङ स्किलको मुक्त कण्ठले मनमनै प्रशंसा गरिरहेको थिएँ। उदय पुन सरको नेतृत्व र यो सुनौलो अवसरका लागि म उहाँप्रति कृतज्ञ भएँ। उहाँको क्रियाशीलता हेर्दा लाग्थ्यो— उहाँ यो टोलीको निर्विवाद ऊर्जाको स्रोत हुनुहुन्छ । हामी सबै गफिएर, आराम गरेर बस्दा पनि उहाँ भने निरन्तर झिर, ससेज, जुस र फास्टफुडहरू बनाउनमा व्यस्त देखिनुहुन्थ्यो। उहाँको त्यो मिजासिलो र जाँगरिलो स्वभावले मेरो मन छोयो।
म बाहिरबाट सबैभन्दा शान्त थिएँ। तर, भित्रभित्रै, मेरो मस्तिष्कको क्यानभासमा म ती सबै अपरिचित अनुहारहरूको धमिलो आकृति एकएक गर्दै उतार्दै थिएँ। हरेक व्यक्ति— उहाँहरूको आत्मविश्वास, उहाँहरूको ऊर्जा, उहाँहरूको सफलताको कथा— मेरो लागि एक नयाँ पाठ बनिरहेको थियो।
अन्ततः, आपसी अन्तरकृयापछिको न्यानो सद्भावले संकोचको पर्दालाई बिस्तारै पगालिदियो। मीठो झिरको सुगन्ध र हाम्रो टोलीको उन्मुक्त हाँसो-मजाक... त्यो माहोलमा मेरो एक्लोपन, मेरो संघर्ष, र मेरो सम्पूर्ण थकान हावामा कतै बिलाएर गयो। मलाई लाग्यो, सिरुबारीको यो सामूहिक ऊर्जा मेरो लागि कुनै औषधिभन्दा कम थिएन।
मेरो आत्माले पहिलोपटक खुसीको गहिरो सास फेर्यो! सिरुबारीको यो न्यानो आश्रयले मलाई मेरो नियतिसँग जुध्नका लागि, र जीवनलाई नयाँ दृष्टिकोणले हेर्नका लागि नयाँ ऊर्जा र बलियो आत्मविश्वास दिँदै थियो। म यहाँ केही गुमाउन होइन, बरु केही अमूल्य पाउन आएको रहेछु।
बेलुकाको खाना सकियो। पेट भरिएको थियो, तर मेरो हृदयको एउटा कुना अझै अतृप्त थियो। अनि, त्यो अतृप्तिलाई पूर्णता दिँदै सुरु भयो— साँस्कृतिक रात्रिको भव्यता!
जब झोरा गीतको धुन, सालैजोको मिठास र कौडा नाचको ताल हावामा तैरिएर आयो, मलाई लाग्यो— सिरुबारी केवल होमस्टेको पाठशाला होइन, यो त संस्कृतिको जीवन्त मन्दिर रहेछ। यहाँ कला केवल प्रदर्शनीको वस्तु थिएन, यो त उनीहरूको सामूहिक श्वास थियो।
कलिला नानीहरू जसरी ऊर्जाका साथ नाचिरहेका थिए, त्यसले देखाउँथ्यो— यो विरासत उनीहरूले रगतमै पाएका छन्। अर्कोतिर, ती सेताम्मे कपाल पालेका वयोवृद्ध हजुरआमाहरू, जसरी लयमा डुबेर नाच्नुहुन्थ्यो, उहाँहरूको हरेक चालमा इतिहासको गहिराइ र पुस्ताको अनुभव झल्किन्थ्यो। उहाँहरूले आफ्नो कलालाई कति प्रेम र श्रद्धाले जोगाएका रहेछन्, त्यो देख्दा मन गदगद भयो।
त्यो ऊर्जा यति संक्रामक थियो कि मैले आफूलाई एक रत्ति पनि रोक्न सकिनँ! 'मलाई नाच्न आउँदैन' भन्ने डर, 'म यहाँ अपरिचित हुँ' भन्ने संकोच— त्यो सब एकैछिनमा कता हरायो! मेरो खुट्टा आफैं त्यो तालमा मिसिए, हातहरू स्वतः चल्न थाले। मलाई लाग्यो, म यहाँ पर्यटक होइन, बरु यो गुरुङ परिवारको एउटा लामो समयदेखि हराएको सदस्य हुँ, जो आज आफ्नो घर फर्किएको छ।
हामी सबैको सामूहिक खुसी... त्यो रातको सबैभन्दा ठूलो सम्पत्ति थियो। झ्याउरेको तीव्र तालमा हामी सबैजना अनायासै झुम्मियौं। बीचमा, गुरुङ चलचित्रका नायक तथा गायक राजु गुरुङसँग भेटेर, उहाँसँगै नाचगानमा रमाउने मौका पाउनु त त्यो रातको अतिरिक्त उपहार थियो!
हाम्रो हाँसोको प्रतिध्वनि, नाचको धुमधाम... त्यसले पूरै गाउँलाई गुञ्जायमान बनाइरहेको थियो। त्यो रात... हो, त्यो रात मेरो जीवनको सबैभन्दा खुसीको रात बन्यो। सिरुबारीले मेरो आत्मालाई आफूसँग जोडेर, जीवनको एउटा अमूल्य खुसीको क्षण फर्काइदिएको थियो!
रातभरको सांस्कृतिक उन्मादपछि, भोलिपल्ट बिहानको सिरुबारी... त्यो दृश्य पूरै फरक खालको थियो। प्रकृतिले आफ्नो सबैभन्दा मधुर र कोमल रूप प्रस्तुत गरेको थियो। बिहानी चिसो सिरेटो शरीरलाई प्रेमिल स्पर्श गर्दै थियो, मानिसहरूका अनुहारमा एक किसिमको शान्त, सन्तोषजनक आभाष फैलिएको थियो। लाग्यो, यहाँका मानिसहरूले रातभरको खुसीपछि बिहानको शान्तिको अमृत पिएका छन्।
हामी बस्तीका हरेक कलात्मक संरचनाहरू नियाल्दै, त्यो ढुङ्गाले छाइएका बाटोहरू पछ्याउँदै, विस्तारै उकालो लाग्यौँ। हाम्रो टोलीको गन्तव्य थियो— भिउ टावर!
जब मैले त्यो उकालो पार गरेँ, र गाउँलाई माथिबाट नियालें... मेरो सास रोकियो! सिरुबारी कुनै सामान्य गाउँ थिएन, यो त स्वर्गबाट उछिट्टिएको एक टुक्रा पो रहेछ, जसलाई प्रकृतिको कुशल हातले अत्यन्तै प्रेमपूर्वक सजाएको छ। चारैतिरका हरियाली, सफा नीलो आकाश, र तल चिटिक्क परेका घरहरूको त्यो सामञ्जस्य— त्यो क्षणमा मेरो मनले एउटा असीम शान्ति अनुभव गर्यो। जीवनको साँचो अर्थ, साँचो सौन्दर्य, र साँचो शान्ति त यी पहाडी कुनाहरूमा पो लुकेको रहेछ।
![]() |
| उदय पुन सर र लाल प्रसाद गुरुङ दाइसंग लिइएको तस्बिर |
तर, अपसोँच! जब सामूहिक तस्बिर लिने बेला आयो, प्रकृतिले ईर्ष्याको पर्दा तानिदियो! बादल एकाएक यसरी मडारिएर आयो, मानौं तिनीहरू कसैले आफ्नो रहस्य चोरेकोमा आक्रोशित छन्। उनीहरू यो सुन्दर भूमिको दिव्य सौन्दर्यलाई हाम्रो क्यामेराको लेन्समा कैद गर्न दिन मन्जुर थिएनन्, जसरी पुराना पुरातात्त्विक मन्दिरहरूमा कलात्मक सामग्रीहरूको फोटो लिन पुजारीले अनुमति दिँदैनन्।
![]() |
| भिउ टावरमा लिइएको सामूहिक फोटो १ |
![]() |
| भिउ टावरमा लिइएको सामूहिक फोटो २ |
यसबीच, हामी सबैले आ-आफ्नो समयको फरक अनुभव बाँच्यौँ। महिला साथीहरू निकैबेर सिँगारिएर, फरक-फरक पहिरनमा टिकटक बनाउन अभ्यस्त भए। उनीहरू आफ्नो समयको 'क्रेज' मा मग्न थिए।
तर, अग्रज पुरुष साथीहरू भने अर्को संसारमा थिए। उहाँहरू आफ्नो किशोरअवस्थामा गरिएका उपद्रव, फट्याई र रमाइला किस्साहरूको अनुभव सुनाइरहनुभएको थियो। उहाँहरूको रङ्गीन र निस्फिक्र जीवनका कथाहरू सुन्दा मलाई अचानक एउटा असह्य बोध भयो— मैले त वास्तविक जीवन जिएको नै रहेनछु!
मेरो जीवन त केवल 'नियम' र 'अनुशासन'को सादा रेखामा बितेको रहेछ। एक क्षणका लागि, मलाई कताकता आफ्नो जीवनसँग असन्तोषको भाव पैदा भयो। तर, जे होस्, बादलको ईर्ष्या, अग्रजको उपदेश र युवाको उन्मादबीच, हामी सबैले एकसाथ हाँसेर सामूहिक फोटो लियौँ— समय र भावनाको अद्भुत मिश्रणको रूपमा।
त्यसपछि हामी फर्कियौँ, र अर्को अविस्मरणीय पल आयो— बिहानको नास्ता! मेरो जीवनमा मैले अनेकौं परिकारहरू खाएँ होला, तर त्यस दिन खाएको कोदो र फापरको पिठोको रोटी! त्यो स्वाद मैले कहिल्यै बिर्सन सक्दिनँ। त्यो रोटी केवल 'खाना' थिएन; त्यो त यहाँको माटोको माया, पसिनाको मिठास, र मौलिक जीवनशैलीको आत्मीय परिचय थियो। त्यो स्वाद मेरो जिब्रोमा होइन, सिधै मेरो आत्मामा बसेको थियो।
मनले भन्यो— सिरुबारीले मलाई केवल बस्ने ठाउँ मात्र दिएन, यसले त मलाई नेपाली माटोको आत्मीय स्वाद पनि चखायो। यो बिहानी, यो सौन्दर्य, यो स्वाद, र त्यो आत्म-मूल्याङ्कनको पल... यी सबै मेरो 'फिरन्ते आत्मा' को लागि जीवनभरको लागि अनमोल सम्पत्ति बनेका थिए।
अन्त्यत: त्यो घडी आइपुग्यो। हरेक सुखद अनुभवको पछाडि लुकेको अनिवार्य, तर असह्य क्षण! हातमा बिदाइको फूल थियो, तर त्यो फूलको सौन्दर्यभन्दा बढी आकर्षक त त्यो फूल दिने सुन्दर हात थियो। उनी... फूल जस्तै बैंशले ढकमक्क फूलेकी थिई, लटरम्म फलेकी थिई।
उनको मुहारमा छरपस्ट देखिएको त्यो मधुर लज्जा र मन्द मुस्कान... त्यो दृश्यले हरेक तरुण मनलाई नछोई सुखै थिएन। त्यसमाथि, अग्रज सहपाठीहरूको जिस्काइले माहोललाई अझै लज्जास्पद बनायो - "उहाँहरू कुमार हो है, हामी सबै विवाहित भएपनि!" उहाँहरूले म र रुद्र सरलाई इङ्गित गर्दै हाँस्दा, मेरो कान तातो भयो।
यो क्षणको लज्जा चिन बहादुर मामाको हिजो रातीको त्यो गम्भीर दबाबभन्दा कयौं गुणा भारी थियो। उहाँले भन्नुभएको थियो - "बिकास भान्जा! बिहे त समयमा नै गर्नुपर्ने रहेछ। अब त आँट्नुपर्यो…" त्यो दैनिक जस्तो आफन्त र परिवारबाट आइरहने दबाब त मैले सहजै झेलेको थिएँ, तर यो अपरिचित कन्याको उपस्थितिमा सामाजिक ध्यानको केन्द्र बन्नु... यो भने मेरो लागि अप्ठ्यारो परीक्षा थियो।
नाम, कुल घरान कुनै पनि व्यक्तिगत जानकारीसँग विलकुल अनविज्ञ थिएँ म। तर, उनको आतिथ्यता, पाहुना सत्कार र हामीलाई खुवाएको मीठो परिकारको स्वादसँग मज्जाले परिचित भएँ। हिजो रातिको झोरा, सालैजो, दोहोरी, गितहरूमा उनले देखाएको त्यो सुमधुर नृत्य! मैले चुपचाप, त्यो सबै यादलाई हृदयमा कैद गरें। र, बिदाइको यो अन्तिम बखतमा, सम्झनाको खातिर एउटा फोटो लिन भ्याएँ— एउटा अपूर्ण परिचयको अपूर्ण सम्झना!
![]() |
| विदाइको समयमा लिइएको फोटो |
उनको मुहारमा झल्किरहेको थियो— निश्छल लज्जा, मुस्कान र अटुट आतिथ्यता! उनको बोली, "फेरि आउनुस् है, राम्रोसँग जानुस् है..." बस्, यति आत्मीय शब्द नै काफी थियो हामीजस्ता तरुण आत्माहरूलाई हलचल बनाउनलाई। फूलको सुगन्ध मधुर थियो, तर मेरो मनभित्र भने एउटा असह्य गहिरो भार थियो— बिछोडको भार!
म मनभित्र कतै कतै एउटै प्रश्नलाई हजार पटक दोहोर्याइरहेको थिएँ— "के साँचिकै म जाँदैछु? के मेरो यो मन, जो यहाँ एउटा 'नयाँ सत्य'सँग जोडिएको छ, यहाँबाट छुटिन तयार छ?"
यी ढुङ्गाले छाएका घरहरू, जहाँ हरेक ईँटामा एउटा कथा कोरिएको छ; यी चिटिक्क परेका आँगनहरू, जहाँ हिजो रातिसम्म हाम्रो उन्मुक्त हाँसो र कौडा नाचको ताल गुन्जिएको थियो... ती सबै अब एकैछिनमा स्मृति मात्र बन्नेछन्। मलाई लाग्यो, सिरुबारी केवल एउटा गाउँ थिएन, यो त मेरो बेचैन र भौंतारिएको आत्माले खोजिरहेको एउटा आश्रय पो रहेछ। एउटा यस्तो गहिरो विश्रामस्थल, जहाँ पुगेपछि मैले आफैँलाई पूरै बिर्सिदिएको थिएँ।
यी मानिसहरू! उनीहरूले हामीलाई कहिल्यै 'पाहुना' को दर्जा दिएनन्। मैले उनीहरूको हरेक व्यवहारमा महसुस गरें— उनीहरूले हामीलाई परिवारको लामो समयदेखि हराएको सदस्य ठाने। उनीहरूको निश्छल मुस्कानमा कुनै बनावटीपन थिएन; त्यो आतिथ्यतामा कुनै व्यावसायिक स्वार्थको तौल थिएन। बरु, त्यहाँ थियो— निर्मल प्रेम, उच्च सम्मान र एक साँचो सद्भाव। यो प्रेमको ऋण सायद म जीवनभर चुक्ता गर्न सक्ने छैन।
हिजो राति मैले उनीहरूको आँखामा हेरेको थिएँ— आफ्नो संस्कृतिप्रतिको अटुट गर्वको चमक। उनीहरूले लोपोन्मुख लोकनृत्यलाई जसरी पुस्तान्तरण गरिरहेका छन्, त्यो देख्दा लाग्छ— यो गाउँले केवल होमस्टेको अवधारणा मात्र दिएन, यसले त हामीजस्ता जानिनजानी, पुगिनपुगी आधुनिकतालाई पछ्याउन खोज्नेहरूलाई आफ्नो मौलिक जरा र संस्कृतिको अपरिमित महत्त्व सम्झायो। सिरुबारी एउटा यस्तो विश्वविद्यालय रहेछ, जहाँ जीवन र प्रेमको सबैभन्दा ठूलो पाठ पढाइँदो रहेछ।
![]() |
| घर फर्किदा लिइएको फोटो |
अन्त्यमा, त्यो घडी! मेरो स्कुटर र साथीहरूको गाडीको इन्जिन एकसाथ गर्जियो। इन्जिनको आवाजले मलाई वास्तविकताको कठोर धरातलमा फर्कायो। बाटोमा हिलो पनि होला, अपरिचित मोडहरू पनि आउलान्, र मलाई थाहा छ— नियतिले फेरि परीक्षा लेला! तर, अचम्म! अब मलाई डर छैन। सिरुबारीले मेरो खाली मनलाई अदम्य हिम्मत र अटुट प्रेमले भरिदिएको छ।
म निश्चिन्त छु— मेरो मनको किताबको यो पाना अब कहिल्यै खाली हुने छैन। यहाँ कोदोको रोटीको मौलिक स्वाद छ, यहाँ पञ्चेबाजाको अविस्मरणीय धुन छ, र यहाँ छ— सयौँ निर्दोष हाँसोको शाश्वत प्रतिध्वनि!
म फर्किएँ। भौतिक रूपमा मेरो शरीर त्यही बाटो, त्यहीँ हिलो र त्यहीँ परिचित सहरतिर मोडियो। तर, मलाई निश्चित थियो— म पहिलेको म रहेनँ!
मेरो यो यात्रा केवल भूगोल नाप्ने उपक्रम थिएन। यो त मेरो आत्माले वर्षौंदेखि खोजिरहेको एउटा महायात्रा थियो। सिरुबारीले मलाई मेरो जीवनको पिँजडाबाट निकालिदियो। मेरो फिरन्ते आत्मा, जसलाई कार्यालयका कागजात र एउटा शिक्षकको जीवनको कठोर तालिकाहरूले दबाएर राखेको थियो, त्यसले बल्ल आएर साँचो मुक्ति पायो।
मैले केवल एउटा यात्रा पूरा गरिनँ। बरु, मैले मेरो शरीरभित्र वर्षौंदेखि दबिएर बसेको, बेवास्ता गरिएको आफ्नै 'नयाँ' स्वरूपलाई भेटें। त्यो मान्छे, जो पहिले नियतिको दास थियो; जो डर र संकोचमा बाँचेको थियो— त्यो मान्छे आज मरिसकेको छ!
सिरुबारीका ढुङ्गाले छाएका बाटोहरू, त्यहाँको कोदोको रोटीको स्वाद, र ती निर्दोष हाँसोहरू... ती सबै अब मेरो शरीरको अंश बनिसकेका छन्। त्यो झरीमा बाइक ठेल्नुको पागलपन, त्यो एक्लोपनको डर— ती सबै अनुभवहरू आज मेरो शक्ति बनेका छन्। म घर फर्किएँ— एक यात्री बनेर गएको थिएँ, तर एक रूपान्तरित आत्मा बनेर फर्किएँ!
मेरो मस्तिष्कको खाली किताब... जुन 'नियमितता' नामको धूलोले ढाकिएको थियो, त्यसमा आज सबैभन्दा सुन्दर, सबैभन्दा साँचो अध्याय कोरिएको छ। त्यो अध्यायको नाम हो— 'सिरुबारी'!








Post a Comment