'विकास' नाम मात्रको होइन - अनुभव, सपना र वास्तविकताको संग्राम
जाडो याम थियो। सडकमा सवारीसाधनको गडगडाहट यति प्रबल थियो कि नजिकैको होटलभित्र मान्छेहरूले गरेका गफ पनि खस्रा रेखाजस्तै सुन्न सकिन्थ्यो। शहरको कोलाहलसँगै मेरो भित्री शून्यता बारम्बार ठोक्किँदै गर्जन गर्थ्यो।
म—औपचारिक कागजमा उम बहादुर। तर सबैको मुखमा भने बिकास गुरुङ। नाममा विकास, तर जीवनमा त ठट्टा! मेरो नाम आफैंमाथि व्यङ्ग्य थियो, किनभने सपनाहरूले अघि बढ्नुभन्दा बढी पछि धकेलिरहेका थिए।
स्याङ्जाको टाढा गाउँबाट पोखरा जस्तो विशाल शहरलाई चटक्क काटेर म खैरेनीटार पस्दा धेरै सपना बोकेको थिएँ। प्लस टु सकिसकेको थियो, अब ब्याचलर पढ्दै सँगसँगै काम गरेर आफ्ना सपनाहरूलाई ठोस बनाउने धुन थियो। सहरमा पैसा कमाउने अवसर प्रशस्तै छ भन्ने भोलेपना बोकेर आएको थिएँ। तर यहाँ पस्दा सपनाले मलाई नै जिस्क्याएजस्तो भयो—कठोर व्यङ्ग्यसहित।
दाजु विदेशमा थिए। म भाउजूको साथमा खैरेनीटारको रहनमानचोकस्थित उनको बहिनीको घरमा डेरामा बस्थेँ। कलेजको बिदामा भने काम खोज्ने बहानामा दुलेगौंडा बजारतिर लखरलखर हिंड्ने मेरो दैनिकी बन्यो। पत्रकारितामा चासो थियो, तर अनुभव शून्य। रेडियो, टेलिभिजन, वा पत्रिकाको संसार मबाट टाढा मात्र नभई अगम्य लाग्थ्यो।
कलेजकी साथी ममता गुरुङ रेडियो तनहुँमा आवाज घन्काइरहेकी थिइन्। भित्रैभित्र मलाई पनि रेडियोमा बोलेर आफूलाई प्रमाणित गर्ने लोभ जाग्थ्यो। उसलाई ‘मलाई पनि सिकाउ’ भनेर भन्न नसकेको आत्मसंकोच, मेरो सबभन्दा ठूलो कमजोरी थियो। उसले कहिलेकाहीँ साहित्यिक कार्यक्रम चलाउन आग्रह नगरेकी पनि हैन। तर मेरो सपना रेडियोको ‘अन एयर’ कोठाभित्र मात्र अड्किन सक्ने खालको थिएन। मेरो चाहना भित्रभित्रै विकराल बन्दै गइरहेको थियो।
पत्रकारितामा औपचारिक ज्ञान नभए पनि, मसँग आईटीको आत्मनिर्भर सीप थियो। त्यही सीपलाई आधार बनाएर म्याग्देखबर डट कम, हतकडी डटकम, अनलाइन जक्सन डटकम, मेरो बेस्ट अनलाइन जस्ता भर्खरै जन्मिएका अनलाइन मिडियामा हात हालें।
यी अनलाइन मिडियाका सञ्चालकहरू पनि प्रायः मजस्तै थिए—पत्रकारिता गर्ने मन त थियो, तर अवसर र सीपको कमीले अनलाइनको शरण लिएका। कोहीलाई सर्भर र होस्टिङको नामै थाहा थिएन, तर सबैलाई आफ्नै अनलाइन मिडिया चाहिएको थियो।
त्यसबीच, म दिनहुँ आफ्ना आईटी सीप बेचेर अलिकति कमिसन कमाउँथें। ती पैसाले मोबाइल रिचार्ज जोगिन्थ्यो, तर भोक र भविष्य दुबै जोगिन्नथे। अनलाइन पत्रकारिताले मलाई पत्रकारिताभन्दा बढी टेक्निकल बोझको मुसलधारमा डुबाइदियो।
जीविकाको लागि म अंग्रेजी भाषामा ब्लग लेख्थें। गुगल एडसेन्सबाट आउने विज्ञापन पैसाले थोरै भए पनि टिमटिमाएको जीवनको दियो बालिरहेको थिएँ। तर अचानक एडसेन्स अकाउन्ट बन्द भयो। त्यो क्षण, म एकाएक निस्सासिएझैँ भएको थिएँ।
लोकल विज्ञापन खोज्ने प्रयास पनि नगरेको हैन। तर दुलेगौंडा र खैरेनीटारजस्तो सानो बजारमा को पो हुन्थे र मेरो अंग्रेजी ब्लगमा राख्नलाई विज्ञापन दिने। १५–२० मिनेटमै पैदल पार हुने बजारमा विज्ञापन खोज्ने काम मांसहारी जनावरलाई साग देखाएर आइज भने जस्तै मजाक सावित भयो।
त्यसपछि मेरो आर्जनको बाटो पूर्ण रूपमा बन्द भयो। जीवनको हरेक कोठा अँध्यारो हुँदै गयो। काम पाइन्छ कि भनेर म दुलेगौंडाका गल्ली-गल्ली, पृथ्वी राजमार्गको धुलो खाँदै भौतारिन थालें। आफूलाई अरुले उच्चारण गरेर बोलाउँदा निको लाग्ने नाम थियो— बिकास। तर जीवन त्यही धुलोभित्र अल्झिएको—विकास नभएको, विकास नपाएको एक व्यङ्ग्यमय कथा बनिरहेको थियो।
दुलेगौंडाको एउटा चिया पसलमा दाजुको गफ सुनेर मन थाम्न सकिनँ र पसिहालें—कहिल्यै दस रुपैयाँ खर्चेर चिया नखाने म, चुथिया मान्छे पनि कथा सुन्ने लोभले।
पसलभित्र एक जना तीस–पैंतीस वर्ष जतिको दाइ थिए। कहिले हाँस्दै, कहिले भावुक हुँदै, आँसु टिल्पिलाउँदै आफ्ना कुरा सुनाइरहनुभएको थियो। म छेउमै गएर बसें। उहाँले आफ्नो कथा भन्न रोक्नुभयो।
मैले अप्ठ्यारो महसुस गर्दै सोधेँ—"दाइ, यहाँ बस्न सक्छु?"
उहाँले ट्वाँ परेर मलाई हेरिरहनुभयो । एकछिन पछि हात समात्दै भन्नुभयो—"बस भाइ, तिमी नेपाली, म पनि नेपाली। हाम्रो भावना एउटै हो भने किन आनाकानी? आखिर यो होटल मेरो नाममा पनि त छैन।"
त्यो दाइलाई देखेर मैले बुझें—सपना र वास्तविकता बीचको दूरी कहिल्यै सजिलो हुँदैन। तर कथा, चाहे धुलोभित्र अल्झियोस् या चिया पसलमा गुञ्जियोस्, मलाई जीवनसँग जोडिरहन्छ। दाइको हरेक कुराले मलाई गहिरो तरिकाले छोयो। मेरो नाम त बिकास भए पनि, ममा विकासभन्दा बढी विखण्डन थियो। सपनाको विखण्डन, परिस्थितिको विखण्डन, मनको विखण्डन।
मैले उहाँलाई अनुरोध गरेँ—"अघिको कथा सुनाउनु न दाइ।"
"कथा होइन भाइ, व्यथा हो," उहाँले गम्भीर हुँदै भन्नुभयो।
मैले टाउको हल्लाएर उहाँको कुरालाई समर्थन गरेँ। उहाँले लामो सास तानेर आफ्नो आँखा बन्द गर्नुभयो - सायद मनभित्रको पिरको लप्कालाई चिसो हावाले निभाउन खोज्दै हुनुहुन्थ्यो।
कुरा स्कुल पढ्दा खेरीको हो । कुनै पनि संघसंस्था तथा कार्यक्रममा म त्यति चासो देखाउँदैनथेँ । म ७ कक्षाको विद्यार्थीमा पनि के गर्दा के हुन्छ भन्ने ज्ञान पनि थिएन । तर समयले मेरो हर सोच र उदेश्यलाई एकाएक परिवर्तन गरिदियो। त्यो समय हो इशाक !
सधैँ स्कुलको प्राङ्गणमा कपर्दी, फुटबल र डण्डिबियो खेल्ने धुस्रो मुस्रो ईशाक हिजो आज स्कुल कहिले काहीँ मात्र आउछ । ईशाक कक्षाको सेकेन्ड भए पनि हिजो आज ऊ स्कुल प्रायः आउन छोडेको छ ।
ऊ स्कुलमा आयो भने राज्य बिरुद्ध नारा लगाउँछ - 'सस्कृत शिक्षा-खारेज गर, मातृभाषा पठन पाठन-गर' जस्ता नाराहरु घन्काउछ ।
स्कुलमा आयो भने - "स्तुतीबादी राष्ट्रिय गान र शुल्कको नाममा उठाईने रकम फिर्ता गर" जस्ता मागपत्र लिएर आउछ त कहिले प्रतिरोध आन्दोलनका क्रममा आयोजना हुने कार्यक्रममा बाल सगंठनका वक्ताका रुपमा अतिथी बनेर आउँछ ।
आज स्कुल राता-राता ब्यानर र झण्डाले रंगीएको छ । स्कुल प्रबेश गर्ने गेटहरुमा 'वीर शहिहदरुलाई लाल सलाम', 'बेपता पारिएका नागरिकलाई-सार्बजनिक गर', 'झुठा मुद्धा-खारेज गर', 'राजबन्दी-रिहा गर', 'राज्य आतंक-बन्द गर', 'फासीबादी सरकार-मुर्दाबाद', आदि लेखिएका तुल र ब्यानरले पुरै रंगीएको छ ।
नेपथ्यबाट "हामी छापामार... अनि गणतन्त्र जीन्दाबाद…" जस्ता क्रान्तिकारी गीतहरु गुञ्जीरहेको छ । विद्यार्थी, किसान, शिक्षकहरु प्राङ्गणमा उपस्थित भइसकेका थिए ।
"आदरणीय आमा बुवा, दिदीबहिनी, दाजुभाई एवं सम्पुर्ण विद्यार्थी साथीहरु अब हाम्रो कार्यक्रम सुरु हुन गई रहेको छ", उद्घोषकले उद्घोष गर्र्यो ।
"हामी सम्पुर्ण शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ सबैले मुठी उठाए अथिती आशन ग्रहणका लागि क्रमशः किशान, विद्यार्थी, शिक्षक, बुद्धिजीवीहरुलाई उद्घोषकले निमन्त्रणा गरे।
उद्घोषकले महान जनयुद्धमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बालकहरुको संगठन अखिल बाल संगठनका तर्फबाट अथिती आशन ग्रहण गर्न ईशाकलाई अनुरोध गर्र्यो । ईशाक दर्शकहरुबाट फुत्त निस्क्यो र मञ्चमा पुगेर अभिवादन गरेर बेञ्चमा बस्यो ।
कार्यक्रम अघि बढ्ने क्रममा सदस्य शहिद परिवारबाट कार्यक्रम उद्घाटन भयो । एक मिनेट शहिदहरु प्रति श्रद्धाञ्जली स्वरुप मौनधारण गरियो । एकजना विद्यार्थी नेताले स्वागत भाषण गरे कलाकारहरुले स्वागत गीत र नृत्य प्रस्तुत गरे ।
यस्तै क्रममा अथिती मन्तव्य दिने क्रम सुरु भयो । शुरुमै उद्घोषकबाट ईशाकलाई बोलाईयो । माईक्रोफोन हातमा लिएर ईशाक मञ्चको अगाडी किनारामा उभियो । लगभग १३/१४ बर्ष उमेरका कलिला ओठ, गोरो वर्ण, ठिक्क कद, हसिलो अनुहार र टाउकोमा भएको ढाका टोपीले अनुहारलाई केहि ओझेल पारेको थियो ।
स्कुल ड्रेस र भक्कु चप्पल लगाएको ईशाक हसिलो अनुहारको साथ आफ्नो मन्तव्य सुरु गर्र्यो, "श्रद्धेय सभापती महोदय, अथिती वर्ग, आमाबुवा, अग्रज विद्यार्थी दाजुहरु एवम् सहयोद्धा बालसाथीहरु…यस अवसरमा आफ्नो र आफ्नो वर्गको मुक्तिका निम्ती गौरवपूर्ण सहादत प्राप्त गर्ने महान् शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दछु । जब उसले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्र्यो तब उसको बोलीमा अप्ठ्यारो भयो । बोलीनै अबरुद्ध भयो । आँशु आखाँको परेलीसम्म टलपलाईरहे तर पनि रोक्न सकेन उसको गालाबाट आँसुका दाना अनायसै भुईमा गड्कीयो र ऊ क्षणभरमै सम्हालियो । अनि आफ्नो मन्तव्य अगाडी बढायो - "हेर्नुस् हामी रुदाँ रुदैँ हासेका छौँ र हास्दा हास्दै रोएका छौ" यति भनेर उ झन भावुक भयो ।
जनमास स्तब्ध भए । भावुकतालाई दबाउदै उसले फेरि मन्तव्य सुरु गर्र्यो - "हामी आदीबासी जनजातिको भाषा लिपीलाई राज्यले हत्याएर जबरजस्ती सस्कृत भाषा पढाउदै छ, यो कदापी स्विकार हुन्नँ र तत्काल खारेज हुनुपर्छ" र "नेपाल चार वर्ण छत्तिस जातको फूलबारी भएकाले हिन्दु राज्यको नाममा गरिब, दुःखि, दलित र जनजातिलाई दमन र शोषण गर्न पाइदैन" भनेर आफ्नो गहकिला सिद्धान्त पेस गरे ।
उसको यस्तो अभिव्यक्तिले दर्शकहरु आकर्षित तथा मुकदर्शक बनेर सुनिरहे । उसले जनयुद्धमा वालकहरुको महत्वपुर्ण भुमिका रहने कुरा बताउदै अन्य धेरै ठाउँमा छापामारको सुरक्षा दिएको, कयौँ प्रहरीको घेरा बालकहरुको चतुर्र्याईपुर्ण कदमले तोड्न सफल भएको घटना सुनाउदै पुन: सहिदप्रति श्रद्धाञ्जली अर्पण गरी मन्तव्य टुंग्यायो । सबै दर्शक आश्चर्य चकित भए ।
ईसाकले पनि यस्तो बुझ्ने भएछ, "हामी पो पछि परेछौ..." एकापसमा जवान युवाहरु खासखुस गर्न थाले।
मलाई उसले जनयुद्धमा सामेल हुन निकै उत्प्रेरित गर्र्यो ।
"आदरणीय जनसमुदाय सबैको ध्यान यता केन्द्रित गरौ । उद्घोषकले आग्रह गरे सबैको नजर ईशाकतिरै थियो मेरो मनमा पनि निरङ्कुशता बिरुद्ध विद्रोहि भावनाहरु उब्ज्यो । सबै अतिथीहरुले आ-आफ्नो मन्तव्य प्रस्तुत गरे । कलाकारहरुबाट गीतहरु गाइए, नृत्यहरु देखाइए र अन्त्यमा सभापतिबाट सभाको अन्त्य गर्नका लागि उद्घोषकले अनुरोध गरी सक्दा नसक्दै एउटा कोलाहलपुर्ण आवाज आयो ।
पर डाडाँमा पुलिस आईसकेको छ होसियार... सबै जना जर्र्याक जुरुक्क उठेर चनाखो हुँदै त्यहाँबाट बाटो ततायो । मञ्चमा ईशाक एक्लै थियो । उसले झुन्डिएर राखेको झण्डा र ब्यानरहरु झिकी कुम्लो पारेर तीब्र बेगमा दौडियो ।
"हुरि चल्यो... हुरि चल्यो..." जुन शब्द छापामारले सिकाएको खतराको संकेत थियो । ऊ घर नपुग्दै छापामारहरु गाउँबाट बाहिरिएर जंगलतर्फ भागीसकेका थिए ।
झिसमीस रातपरी रहेको थियो । वरिपरीको वातावरण सुनसान थियो । आकाशमा पिलपील ताराहरु देखिन थालेका थिए । टोल शान्त थियो अनि बेमौसमी हावा बेगले चलिरहेको थियो ।
म खाना खाएर कोठामा गएँ, निदाउनलाई ओछ्यानमा पल्टीएँ तर निन्द्रै लागेन । दिनभरीको कार्यक्रम र इशाकले गरेको निरङ्कुश द्रोही भाषणले मलाई झक्झक्याईरह्यो । अन्यायको बिरुद्ध आवाज उठाउँदा ज्यान गएको मेरो बुबाको झल्झलि सम्झना आयो । बुबाको आत्माले शान्ति नपाएको भान भयो अनि म अन्यायको बिरुद्ध घरमा बुढी आमा एक्लै छोडेर आन्दोलनमा हिँड्ने सोच आयो मनमा एकाएक ।
म सबै क्रान्तीकारी साथीहरुको सँगतले एक क्रान्तीकारी बनिसकेको थिएँ । गाँउमा हुने साँस्कृतीक कार्यक्रममा म सहभागी बन्न थालेँ "बल्ल बज्यो क्रान्तीको धुन हजुर नेपालमा…" भन्ने गितमा ताली बजाउथेँ । साएदै मलाई ति सबैका अर्थ थाह थिएन । मकै उठाउने, धान खोस्ने जस्तो काममा म साथिहरसँग लागिरहेँ । यद्यपी त्यो त गुण्डाहरु मिलेर लुट्न पिट्न क्रान्तिकारीको मुकुन्डो लगाउने संगठित गुण्डाहरुको समूह पो रहेछ । म तत्काल त्यो समूह छोडी अर्कै समुहमा मिल्न गएँ ।
त्यही समय म भन्दा केही कक्षा माथिका चार साथिहरु गोरखाको थुमीमा मारिए । मेरो आमा शान्तिलाई पनि क्रान्तिकारीको आमा भनी सेनाले गोलि हानिदियो । ममा अब एक किसिमको त्रास फैलियो । मेरो आमा र बुवाको बदला लिनु नै मेरो जीवनको लक्ष्य बन्यो। अब म हतियार उठाएरै दुस्मनसँग लड्न थालेँ - त्यति कलिलै उमेरमा ।
लड्दा लड्दै भोक र प्यासले जंगलमा ढल्न पुगेछु म । बटुवाले पुण्य गरेको रहेछ मलाई आफ्नो घरमा लगेर । जब म बिउँझिए सानो छाप्रोजस्तो घरमा पल्टिरहेको रहेछु । एउटा बुढी आमाले मलाई त्यो मर्ने र मार्ने फोहोरी राजनितीबाट अलग होउ भन्नुभयो ।
मैले उहाँलाई सेनाले मेरो आमा बुवालाई मारेको र म त्यसले उहाँहरुको आत्मा शान्तिको लागि भएपनी लड्नुपर्ने प्रतिबद्धता जाहेर गरेँ ।
उहाँले शान्त हुँदै भन्नुभयो - "कसैले पनि अजम्बरी जुनी पाएको हुँदैन । कुकुर बिरालो मरेझैँ मर्नुभन्दा त सहिद हुनु नै अती उत्तम हो बाबू । तिम्ले मलाइ आफ्नै आमा सम्झिन्छौ भने यो फोहोरी खेल नखेल बाबू!"
मैले एउटा आमा गुमाएपनि अर्को आमा पाएँ । त्यसैले मैले क्रान्तिकारीको साधारण सदस्यता पनि फ्याँकीदिएँ । मैले त्यो स्कुल बदलेर अर्को बिद्यालयमा पढाई सुरु गरेँ । त्यहाँ पनि माहोल त्यही थियो । तथापी म फरक धारमा उभिएर आफ्नो माध्यामिक तहको पढाई सकेर म रत्नराज्य क्याम्पसमा भर्ना भएँ ।
माहोल त्यहाँ पनि त्यस्तै थियो । तर म हातमुख जोर्ने सिलशिलामा नै लागेँ । म र मेरो पढाई विभिन्न कारण अलपत्र परे । मैले आफ्नो पढाईलाई निरन्तरता दिन सकिन । पछि मैले डिग्री गरेँ त्यसै कलेजबाट । त्यहीँ क्रममा काठमाडौंमा बस्ने मेरो पुरानो साथीसँग भेट भयो । उहाँसँगको भेटले मलाई फेरी क्रान्तीकारी बनाईदियो ।
मैले आफ्नो कार्यस्थलमा यसको प्रारम्भ गर्ने सोच बनाएँ तर बिबिध कठिनाई र त्यो बेलाको माहोलले योजना सफल हुन सकेन । मैले कयौँ पटक प्रहरी तथा त्यतिबेलाका सयुक्त फोर्सले मलाई भेट्ने बित्तिकै गाँउ गएको बेला निसाना बनाउने गर्थ्यो ।
बिस्तारै म यी सबै कुरामा हात बढाउन सकिन तर मन भित्रको क्रान्तीकारी भावना मार्न सकिन । अन्ततः मैले आफुले काम गर्ने कारखानामा एक मजदुर युनियन गठन गरेँ । त्यतीबेला क्रान्तीकारी सँगठनको गठन हुन सक्ने स्थिती थिएन । जिफण्ट अन्तर्गत मैले संगठन दर्ता गराएर यसलाई विधिवत बनाएँ । अन्तमा म माथि खरिदीका प्रयास भए तर पनि मैले मागपत्र प्रस्तुत गरेँ र सबैलाई एकत्रीत गर्दै मैले सम्पूर्ण कामदारको हक हितका लागी व्यवस्थापनको लागि माग गरे बमोजिम सम्झौता भई छाड्यो ।
म त्यहाँ अब व्यवस्थापन पक्षको आँखाको कसिङ्गर बनेँ । म माथि हरेक किसिमका ब्यबहार हुन थाल्यो । मलाई म भन्दा र मेरो सिमाभन्दा बाहिरका कामहरु लगाइए, मैले गर्दै गएँ ।
यता मेरा साथिहरु भने म व्यवस्थापन पक्षसँग मिल्यो भन्ने बुझ्न थालेका थिए । यसैबिच मैले आफ्नो अध्यक्ष पदको राजिनाम दिने सोचमा थिएँ तर त्यहाँका मजदुर साथीहरु भने मलाई एक सच्चा नेतृत्व भएको मान्छे भन्ने सोँच्दथे । अन्तमा मैले फेरी सबैलाई समेटेर अनि मनमुटाबलाई मेटाएर एक शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेँ । त्यतिबेला दशैँ पनि आउदै थियो भने दशैँ पेश्की जुन हाम्रो हक थियो, त्यसबारे व्यवस्थापनसँग जोडदार माग गरेँ । अन्ततः सबैले दशैँ बिदा र पेश्की पनि पाए ।
यसरी हजार फाटाहरु मिलाउँदै म अगाडी बड्दै गएँ । जिम्मेवारी र चुनौतिहरु कतिकति आईपरे । सबैको उत्तर म दिँदै गएँ । म सबैको मन बुझाउने हुँदै गएँ । ममा केहि छुट्दै गयो र केहि थपिँदै पनि । आखिर छुटेकालाई मैले फेरी जुटाउन सकिनँ । सबैको मन बुझाउन सक्ने म आफ्नै मन बुझाउन सकिन । म र मेरो संसार अनि मेरो सपना नेता बन्ने पक्कै थिएन । तर म एक मजदुर नेता बनेँ । नचाहँदा नचाहँदै कति के केमा जोखिएँ म । सबैको प्यारो म एक सिनेमाको पात्र जस्तै प्रिय बन्दै जाँदा ममा केहि खट्किँदै थियो । म आफु संकुचीत हुँदै छु वा फराकिलो हुँदै जाँदैछु ज्ञान भएन ।
मैले सबैको मन बुझाए पनि म आफैँलाई बुझाउन सकिन । मेरो सोंच एक धमिलिँदो राजनिति र त्यो वर्तमानसँग पटक्कै मेल खाएन । मभित्र आफैमा एक अशान्त छाएको थियो । म प्रगती गर्न चाहन्थेँ, केहि बन्न चाहन्थेँ । केहि गर्न चाहन्थेँ तर म खै कुन बाटोमा हिँड्दै थिँए अन्योलमा थिएँ ।
म एक्लै एकान्त ठाँउमा जान्थेँ र के-के लेखेर बस्थेँ । म प्रायः आफ्नै बारेमा लेख्थेँ । दैनिकि लेख्न खुबै मन पर्थ्यो । आज यो गरेँ यसो गरेँ सबै संक्षिप्तमा लेख्थेँ । म र मेरो डायरी त्यतीबेला कापी बनेको थियो । जब म एक्लै हुन्थेँ मेरा मानसपटल भरि शब्दमात्र आइरहन्थ्यो । आजसम्म पनि छ जब म एक्लै हुन्छु म बिना शिर्षक लेख्छु कति कविता बन्छन्, कति गजल बन्छन् । कति कथा अनि कति काम न काजका गन्थन । म एकान्तको खुबै सेयर गर्थेँ अनि जे जे मन लाग्यो लेख्थेँ । तर पनि मैले मन र जीवनलाई एक सहि मोडमा पुर्र्याउन सकेको थिईनँ ।
बिचमा मेरो जीवनमा धेरै उत्तवचढाव आए । मैले आफुलाई आफ्नो नजरमा एक अतृप्त प्यासी पाँए । म आफूलाई आफूबाट जोगाउन खोज्दै नेपाल छाडिदिँए र म कतार गएँ । कतारको बसाई पनि एक बर्षसम्म मौन ब्रत जस्तै बन्यो । अन्ततः मैले कतारका पिडा र आँशुका दाना दाना समेटी एक उपन्यास - "आजको प्रेम" प्रकाशनमा ल्याएँ ।
कतारमा म को हो भनेर थोरैले चिनेका थिए । नत म आफूलाई चिनाउनै चाहन्थेँ । मेरा प्रेरणाका स्रोत कतारमा एक अत्यन्त घनिष्ट मित्र हुनुहुन्थ्यो । उहाँले मैले जे लेखे पनि राम्रो छ भन्दै मलाई फुरुक्क पार्नुहुन्थ्यो । महेन्द्रबाट एम.पि. हुँदै लेख्न थालेँ । म लेख्दै जान्थेँ उहाँ प्रकाशित गर्दै जानुहुन्थ्यो । मेरो नेपाल फिर्तीसँगै मैले मेरा उपन्यासका केहि कपिहरु रत्नपार्कमा फुटपाथमा सामान बेच्ने केटाकेटिहरुलाई बाँडिदिँए ।
मेरो सन्देश यो थियो कि बरु नेपालमा नै जे पनि गरौ तर बिदेश नजाँउ । म बिदेश नजान सबैलाई अनुरोध गर्दै आफैँ फेरी कतार फर्केँ, कतारका न्युन कमाई भएका केहि प्रिय मेरा स्नेहिहरु बिच मैले केहि उपन्यासहरु बाँडिदिएँ तथापी मैले आफ्नो लगानी उठाएँ, त्यहाँ उप्रान्त मैले कतारमा रही आफ्नो जिन्दगी अलग गरिदिएँ ।
मैले यसपछि मात्र वास्तविक जिवन जिउन सिकेँ अनि आफुले आफैँलाई रफ्फु भर्न सिकेँ । जीन्दगीका हजार रुप देखेँ हजार रुप लेखेँ तर कुनै अमिलोपन महसुस गरिन मैले । मलाई जिन्दगीले रुखमा चढाउँदै फेद ढाल्दै गर्यो, म रुख सँगै ढल्दै गएँ तर म घाईते भईन ।
मलाई सफलता र असफलता बराबर मिले तर मैले कसैको दिल दुखाईनँ । कसैको मैले केहि बिगारीन । जहाँ मेरो कारण कोहि प्रभाभित भए कोही दुखी भए होलान् ।
आज यहाँसम्मको यात्रामा साथ निभाई नै रहनुभएका मेरा गहन मित्रको सहयोग एक उदाहरणीय पात्रको हिस्सा लिएको छु । म आज पनि त्यहीँ हुँ जो हिजो थिएँ । भोली पनि त्यही रहनेछु जो आज छ । म कसैसँग दाँजिन चाहन्नँ ।
मेरो मनमा आउने मेरो क्रान्तीकारी बिचार र अन्याय बिरुद्वको मेरो आवाज आज पनि म मा जिवित नै छन् । जँगलमा बाघ सुतेर बस्दा बाँदरले राज गरेझैँ म आफू र राष्ट्रलाई त्यो बाँदर र जंगलसंग नदाँजी आफूले नै जँगल छाडेको महसुस गर्न चाहेको छु । मलाई बाँदरले टोकेको बाघ बन्नुभन्दा जँगल छाडी अर्को जंगल पसेको बाघ बन्न मनपर्छ ।
सास तानेर मैले एकचोटि आँखा बन्द गरेँ। दाइको कथाले मेरो मनमा उब्जाएको भावनाको छालहरू अझै पनि उफ्रिरहेका थिए। उहाँको बाल्यकालदेखि क्रान्तिकारी आन्दोलनसम्मको यात्रा, त्यसको पीडा, उमंग, निराशा र प्रतिरोध—सबै मिलेर मेरो भित्री संसारमा गहिरो छाप छोडेको थियो। मैले बुझें कि जीवन केवल लक्ष्य र उपलब्धिमा सीमित छैन, तर संघर्ष, असफलता, पीडा र निरन्तर उठ्ने हिम्मतले पनि जीवनको रंग र आकार बनाउँछ।
म ती शब्दहरूलाई आफ्नै मनको कोशहरूमा भिजाउँदै गएँ। दाइले देखाएको साहस, न्यायको लागि आवाज उठाउने अडान र आफ्नै मन बुझ्न नसक्ने अनिश्चितता—सबैले मलाई जीवनसँग नयाँ दृष्टिले जोडिदियो। मनमा प्रश्नहरू उठे—कसरी सही मार्ग चयन गर्ने? कसरी आफ्नो अस्तित्वलाई न्याय र प्रेमसँग सुसम्बद्ध बनाउने? तर अब मलाई थाहा थियो, उत्तर केवल बाहिरबाट आउँदैन; आफू भित्रको आवाज सुन्ने साहस पनि चाहिन्छ।
साँझ पर्दा, आकाशमा पिलपील ताराहरू चम्किँदै थिए। म एकान्तमा उभिएँ, दाइको अनुहार र अनुभव सम्झिँदै। मनमा एउटा अठोट बन्यो—आवाज उठाउन, अन्यायको बिरुद्ध उभिन, र जीवनको प्रत्येक क्षणलाई पूर्णता र विवेकसँग जिउन। दाइको कथाले मलाई शान्त मात्र बनाएको थिएन; उहाँले मलाई भित्रैबाट जीवित गराएको थियो। आज म पनि बुझें—साहस, समर्पण र प्रेम बिना जीवन अधुरो छ, र प्रत्येक चोट, प्रत्येक संघर्षले मात्र मानिसलाई सशक्त र स्वतन्त्र बनाउँछ।
अन्ततः म निस्किएँ, हावामा सास फेरिरहेको, मनमा एउटा नयाँ उद्देश्य बोकेर—जीवनको कठिनाई, पीडा र स्वतन्त्रताको कथा आफ्नै तरिकाले लेख्न।
(पत्रकारिताको सपनाको धरातलमा भौतारिँदै संघर्ष कालमा काल्पनिक शेैलीमा लेखिएको संकलित ।)
Post a Comment