नमस्ते! हार्दिक स्वागतम्
Live
wb_sunny

Breaking News

कक्षा ५ को विद्यार्थीहरुसंग खड्गकाली मन्दिर अवलोकन भ्रमण

कक्षा ५ को विद्यार्थीहरुसंग खड्गकाली मन्दिर अवलोकन भ्रमण

मिति: २०८१ कार्तिक २६ (November 11, 2024)

विद्यार्थीहरुलाई कोरा किताबी ज्ञानहरुमा मात्र सिमित नगरि आफैले हेरेर जीवन्त सिकाई गर्ने अवसर प्रदान गर्नको लागि हामी शिक्षकहरु शिब गिरी र म बिकास गुरुङ कक्षा ५ का विद्यार्थीहरुलाई स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४ मा अवस्थित खड्गकाली देबीको मन्दिर अवलोकन क्षेत्रभ्रमण लैजाने योजना भयो ।

हामी जम्मा १३ जना विद्यार्थी र २ जना शिक्षकहरु विद्यालयबाट करिब ११:५० मा विद्यालयबाट प्रस्थान गर्‍यौं । अवलोकन क्षेत्रभ्रमणको उद्देश्य खड्गकाली देवीको मन्दिर अवलोकन, चापाकोट नगरपालिका वडा नं ४ को पर्यटकीय सम्भाव्यताको अध्ययन, पदयात्रा (हाइकिङ)को जीवन्त अनुभव, सांस्कृतिक सम्पनाको संरक्षणको लागि अपनाएका उपायहरु हेर्न र अन्य प्राकृतिक दृष्य अवलोकन रहेको थियो ।

विद्यार्थीहरुको सिकाइलाई व्यवहारिक, उपलब्धिमूलक, चिरस्थायी र प्रभावकारी तुल्याउन शिक्षण सिकाइका क्रममा विभिन्न शिक्षण कौशल, रणनीति र विधीहरू अवलम्बन गरिनु आवश्यक हुन्छ । ती विधिहरुमध्ये अन्वेषण र अवलोकन सबैभन्दा प्रभावकारी विधि हो । कक्षाकोठामा शिक्षकद्वारा भनिएका कुराहरु श्रवण इन्द्रियले ग्रहण गर्न लगाएर वा सैद्धान्तिक कुराहरु कण्ठस्थ पार्न लगाएर मात्र सिकाइ कदापि प्रभावकारी हुँदैन । विद्यार्थीहरुलाई विभिन्न कुराहरूको प्रत्यक्ष अवलोकन र अन्वेषण गराइ त्यसबाट वास्तविक सिकाइ अनुभूत गराउनु शैक्षिक भ्रमणको मुख्य अभिप्राय हुन्छ । यहीँ सिकाइको सिद्धान्तलाई ग्रहण गर्दै हामीले योजना बनाएको थियौँ ।

हामी जम्मा १३ जना विद्यार्थी र २ जना शिक्षकहरु करिब ११:५० मा विद्यालयबाट प्रस्थान गर्‍यौं । विद्यार्थीहरु सबैजना उत्साहित थिए । उनीहरुको आँखामा नयाँ कुरा हेर्ने र सिक्ने चमक थियो । यात्रा अत्यन्तै रोमाञ्चक थियो । विद्यार्थीहरुले बाटोमा विभिन्न पत्थर, बोट-बिरुवा, चरा चुरुङ्गी, वरपरका विभिन्न पहाड, हिमालहरु, परम्परागत शैलीको विभिन्न घरहरु, धारा, कुवा, मठ मन्दिर, र विकास निर्माणका विभिन्न संरचनाहरुको अवलोकन गरे । बाटोमा विद्यार्थीहरुले अनेकन जिज्ञासाहरु पनि राखे – "खड्गकाली देवी किन प्रसिद्ध छिन्?", "मन्दिरको इतिहास के हो?" यस्ता प्रश्नहरुले मात्र उनीहरुको उत्सुकता मात्र झल्काएको थिएन, उनीहरुको सिक्ने चाहना पनि देखाउँथ्यो । हामीले बाटोभरि स्थानीय समाज, परम्परा र संस्कृति बारेमा छलफल गर्दै उकालो बाटोमा पदयात्राको जीवन्त अनुभव गर्यौं ।

प्रिय विद्यार्थी भाइबहिनीहरुलाई लिएर हिँड्दाको अद्भुत खुसी मनमा त थियो नै, त्यसमाथि यात्राको क्रममा सामना गर्नुपर्ने सम्भावित जोखिमहरू समेतको त्रासले मन तराजुको दुई छेउ जसरी ढलपल-ढलपल गरिरहेका थिए । 

सायद, मौसम पनि म जस्तै खुसीको आशुले रोएको हुँदा हुन रातभरी । त्यसैले त शितका थोपारुपी आशुहरु देखिन्थे यदाकदा रुखमा पात अनि सडक छेउछाउका झार र पतिङ्गरहरुमा । जवानी बतासको चिसो हातहरुले बिस्तारै अनुहारमा स्पर्श गर्दै मायालु स्नेह छोडिरहेका थिए । सेतो बादलको सिरक ओडेर हाम्रो यात्रालाई नियालिरहेको मल्याङ्कोट र ढलकपाखा डाँडाले हामीलाई मौन भएर शुभयात्राको कामना गरिरहेका थिए । चिरबिर चिरबिर गर्दै रुखका हाँगाहरुमा बसिरहेका चरीहरुले हामीसंगै लय मिलाउँदै गित गाइरहेका थिए भने रातभर अनिदो बसेको लाटोकोसेरो आफ्नो टाउको फनफनी जातोझैँ घुमाएर हाम्रो यात्रालाई आँखा तन्काई तन्काई हेरिरहेका थिए ।

खड्गकाली देवीको मन्दिर पुग्दा विद्यार्थीहरु चकित भए । मन्दिरको स्थापत्यकला, त्यसको वरपरको हरियाली र स्थानीय भक्तजनहरुमा रहेको देवी प्रति श्रद्धाले उनीहरुलाई गहिरो प्रभाव पार्‍यो । विद्यार्थीहरुले शिक्षकहरुसंग सम्पदाको महत्व र इतिहासबारे प्रत्यक्ष जानकारी लिने मौका पाए ।

यो यात्राले विद्यार्थीहरुलाई पुस्तकमा मात्र सिमित नभई प्रत्यक्ष अवलोकनबाट धेरै सिक्न सकिन्छ भन्ने महत्त्वपूर्ण पाठ दियो ।

उनीहरुले प्रकृतिको संरक्षणको आवश्यकता बुझ्न थाले ।सांस्कृतिक सम्पदाप्रतिको जिम्मेवारी महसुस गरे । कलिला उमेरका बालबालिकालाई लामो दुरिको पदयात्रा गराउन उचित नहुने हुनाले हाम्रो मिनि हाइकिङ अर्थात छोटो पदयात्राले उनीहरूमा स्वास्थ्य सम्बन्धि चेत तथा प्रकृति प्रतिको प्रेम र सकारात्मक दृष्टिकोण विकसित भयो । यो यात्रा विद्यार्थीहरुका लागि ज्ञानमूलक मात्र नभई प्रेरणादायी पनि बन्यो । विद्यालयमा फर्किंदा उनीहरुको अनुहारमा खुसी र सिकाइको सन्तुष्टि स्पष्ट झल्किन्थ्यो । सम्पूर्ण विद्यार्थीहरुले आफ्नो यात्राको अनुभव समेट्दै प्रतिवेदन पनि तयार गरेका थिए ।

हाम्रो क्षेत्रभ्रमणले सिकाइका नयाँ आयामहरु खोल्न मद्दत गर्‍यो । यस प्रकारका यात्राहरु विद्यार्थीहरुको व्यक्तित्व विकास र शिक्षाको गुणस्तर वृद्धि गर्न अत्यन्तै उपयोगी हुन्छन् । खड्गकाली देवीको मन्दिरको अवलोकन हाम्रो शिक्षण प्रक्रियालाई थप जीवन्त बनाउने एउटा राम्रो प्रयास रह्यो ।



Tags

Newsletter Signup

Sed ut perspiciatis unde omnis iste natus error sit voluptatem accusantium doloremque.

Post a Comment