डियर पराइ मान्छे 💔
तिम्लाई मैले पराइ मान्छे भनेर सम्बोधन गर्न चाहेँ । यसो त सम्बोधनको अघिकारी त पक्कै होइन तर मैले जीवनमा चाहेरै पनि आफ्नो नजिकको बनाउन नसकेको मान्छे जो भयौ तिमी । 'क्रस' भन्न रुचाउँथेँ कुनै समय र कयौंपटक हकिकद भन्थेँ पनि तिम्लाई । क्रसको अर्थ विविध होलान अंग्रेजी भाषाको शब्दकोशमा तर तिमी मेरो जीवनको शब्दकोशमा यति अप्रिय भाष्यको रुपमा स्थापित भयौ कि स्वयं म आफैमा यो शब्दलाई परिभाषित गर्ने ल्याकत रहिनँ । त्यसैले त पराइ शब्दले तिमीलाई सम्बोधन गर्ने चेष्टा गरेँ त्यो पनि नियमित बोलचाल नै बन्द भैसकेको महिनौंपछि ।
सर्बप्रथम म आफ्नो अहंकारहरुलाई परै राखेर भन्न चाहेँ - अती नै प्रिय थियौ तिमी मेरो लागि । सायद अब जीवनमा तिम्रो लागि भावना खर्चिने यो अन्तिम पटक नै होला किनकी म आफ्नो भावनामाथि लगाम चाहन्छु । म उन्मुक्त हुन चाहन्छु यो विकेक भ्रष्ट बनाउने औचित्यहिन सम्बन्धहरुबाट । हुन म अंग्रेजी विषयको विद्यार्थी र हाल अंग्रेजीकै शिक्षक भएपनि अंग्रेजी शब्दहरुमा त्यति आत्मियता भेट्दिनँ र प्रयोग गर्दिनँ पनि । त्यसैले त म सामाजिक सञ्जालहरुमा पनि विरलै अंग्रेजी भाषाको प्रयोग गर्छु । तर तिमीलाई नजानिँदो पारामा 'क्रस' भनेर सम्बोधन गरेको थिएँ कुनै बखत, त्यो पनि आफू पीडाले विछिप्त भएको समयमा ।
मेरो लागि संसारमा सबैभन्दा प्यारो मान्छे को हो भन्दा 'आमा' नै मुखमा आउँछ, साथसाथै मस्तिष्कमा पनि । हो, त्यहीँ आमाको बेचैनी बनाउने खबरले म पोखरा आएको थिएँ । मेरो हजारौं जुनी फेरिएपनि, हजारौं रुचि र चाहनाहरु फेरिएपनि सायद हंसले कसैलाई खोजिरहन्छ भने त्यो सिर्फ मेरो 'आमा' हुनेछ । गाउँबाट पोखरा त्यहीँ प्रिय आमालाई भेट्न गएको थिएँ हस्पिटलमा । कारण, मेरो हंसले कहिल्यै नछोड्ने आमालाई कहिल्यै सन्चो नहुने क्यान्सर रोग देखिएको थियो । मान्छे जीवनमा एकचोटि त सबै मर्छन् तर म धेरै पटक मरेझैं भएको छु । म आमाको खबर सुनेपछि पनि मरे सरह भएँ । आमाको रोग बारे थाहा पाएपछि ढोका बन्द गरेर म यति धेरै त रोइन कि, जुन कुरा कहिल्यै कसैको सामू बोल्ने हिम्मत पनि गरेको छैन ।
उपचारको लागि खर्चको जोरजाम गरेर पोखरा पुगेपछि लेकसाइड बसुन्धारा पार्कको गेटमा पुग्दा जब तिमी मेरो सामुबाट फ्यात्त कटेर गयौ अनौठो हावाले छोयो मलाई । अगाडी पुस्पा (दाइको छोरी) थिई । तिमीले पुस्पालाई फर्केर हेरेकी थियौ । म पनि रहस्यमय तरङ्ग पैदा गर्ने खालको मान्छे को हौ भनेर फर्किएर हेरेको थिएँ तर ठम्याउन सकिनँ । मैले पुस्पासंग तिम्रो बारेमा निदिखुदी सोधेँ अनि पहिलोपटक तिमीलाई फेसबुकमा साथी बनाउने हिम्मत गरेँ ।
त्यसपछिको हाम्रो फेसबुक वार्तालाप तिमी र म दुबैलाई थाहा नै छ । एकातिर म आमाको क्यान्सर उपचारको क्रममा आर्थिक र मनोबैज्ञानिक रुपमा थिलथिलिएको थिएँ । अर्कोतिर १०/१२ बर्षको प्रेम असफल भएपछि रिलेसनसिपमा रुचि नै नजागेको मान्छे तिम्ले खै के जादुटुना लगाएझैं अनौठो परिवर्तन देखा पर्यो ममा । तिमीसंग हुने साधारण बातचितले भावनात्मक रुपमा मलाई आमाको अवस्थासंग सामना गर्न धेरै हदसम्म सहयोग मिल्यो । यस अर्थमा म तिमीप्रति सदा रिणी भएको छु ।
आज यसरी साधारण बोलचाल र आशा-निराशा भएको पनि ४ बर्ष बितिसकेछ । यो अवधीमा तिमी र ममा के कस्तो उत्तरचढाब आयो त्यो हामीलाई नै थाहा छ । मैले हाम्रो औचित्यहिन सम्बन्धमा पूर्णबिराम लगाउने उद्देश्यले तिमीलाई सामाजिक सञ्जालहरुमा सबैबाट रेस्ट्रिक्ट समेत गरेँ । तर वेकुफ म नै रहेछु । सञ्जालबाट रेस्ट्रिक्ट गरेपनि आफ्नो मन मस्तिष्कबाट तिमीलाई कहिल्यै एक पलको लागि पनि पन्छाउन सकिनँ । समय बित्दै गयो, म आफूलाई ब्यस्त राख्न र तिम्रो यादहरुबाट उन्मुक्ति पाउन धेरै हदसम्म प्रयास गरेँ तर म सधैं असफल रहेँ । तिमीसंग त्यति धेरै बोलचाल र कहिल्यै एकान्तमा भेटघाट नभएपनि तिमीसंग मेरो बर्षौदेखिको साइनो छ जस्तो लागिरह्यो । तिमीसंग सम्बन्ध स्थापित गर्न कुन हदसम्म बोलिन मैले अनि कुन हदसम्म आत्मसम्मान गुमाइन मैले । त्यस्तै, तिम्रो ह्याङओभरबाट उत्रिन के सम्मको हर्कत गरिनँ मैले । सम्झिँदा आफैसंग लाज, ग्लानी र दिग्दारी लागेर आउँछ ।
एक हिसाबले घर न घाटको भएको थिएँ म । तिम्रो अभाव मेट्न मैले अरु केटीहरुसंग बर्षौंपछि जानी नजानी फ्लर्टिङ गर्ने गर्न थालेँ । त्यसको फलस्वरुप म नजानिँदो पारामा भाइब्स मिल्ने एउटी सोझी क्षेत्रीनीको नजिक हुन पुगेँ । मलाई उनी राम्री र सुशील नै लाग्छ । उनी जतिको जीवनसाथी पाए सजिलै जीवन कटाउन सकिन्छ पनि । उनीसंग मेेरो सोँच, बिचार र भावना त मिल्छ तर पनि हाम्रो जात मिलेनँ । हुन पनि मंगोलियन समुदायकोसम्म भएको भए घर परिवारले सजिलै स्विकार गर्थे होला । यसो त माइला दाइको पनि अन्तरजातीय विवाह नै हो र उहाँहरुको आफ्नै गृहस्थ पनि राम्रोसंग नै चलिरहेकै छ ।
उनले मलाई अथाह मायाँ गर्थी । दिनदिनै म्यासेजको आश गर्ने, विभिन्न उपहार र प्रेमिल संवादहरुको चाहना गर्ने । तर म चक्रब्यूमा परेझैँ भएको थिएँ । म उनको मन दुखाउन पनि चान्नथेँ, उनीसंगको भविष्य पनि उज्ज्वल देख्दिनथेँ । मलाई मनमा डर थियो - मबाट त उनलाई केही कमी नहोला रे तर यदि उनी मेरो अर्धाङ्गिनी भयो भने उनले त्यति सम्मान र माया पाउँदिनन् जति उनी हकदार छिन् । मैले नचाहेरै उनलाई भ्रममा राखेझैँ भैरहेको थिए । इमानदारीपूर्वक भन्नुपर्दा मैले उनको मन राख्दिनलाई मात्र बोलिरहेको थिएँ । समय बित्दै गयो । तिमीसंगको मेरो दुरी लम्बिँदै गयो अनि उनीसंगको दुरी नजिकिँदै ।
मलाई उनीसंगको त्यो कन्फ्युजन भेटेर नै क्लियर गर्न मन थियो तर उनी आफ्नो वैदेशिक रोजगारीको लागि भिजा प्रोसेसिङको क्रममा इन्डिया थिई । सबै कुरा नर्मल नै चलिरहेको थियो । तिमीसंगको भेटघाट र बोलचाल लगभग बन्द नै भैसकेको थियो । उनीसंग हरेक रात बोल्ने, दुःख सुखका कुराहरु सेयर हुने क्रम जारि रह्यो । यसले उनीसंग भावनात्मक रुपमा नजिक हुने र उनको बारेमा थप बुझ्न मलाई सहयोग मिल्यो । उनीसंग म बिस्तारै नजिकिँदै थिएँ । उनीसंग फ्लर्टिङ गर्ने, जिस्काउने र उनलाई घुर्की देखाउन मलाई मन पर्न थाल्यो । यहीँ क्रममा उनको जीवनमा पनि एउटा बज्रपात आइलाग्यो । जुन भिजा प्रोसेसिङको लागि उनी विगत ६ महिनादेखि इन्डिया बसिरहेकी थिई, त्यही भिजा क्यान्सिल भएपछि उनी टुक्राटुक्रा भई । उनको आँखाको आशु मलाई सह्य भएनँ । उनको आँखामा आँशु देख्दा मेरो आँखा भरियो । उनको असफलताले गर्दा म आफू स्वयं नै पुरापुर विफल भएझैँ महसुस भयो ।
उनी रित्तो हात र आशको साथ नेपाल आइन् । यसै क्रममा मैले उपहार स्वरुप उनलाई पोखरा विन्ध्यावासिनी मन्दिर संगै दर्शन गर्न जाँदा खिचेको, मलाई एकदम मन परेको फोटोको स्केच बनाएर उपहार दिएँ । उनले पनि मलाई एकदम मनपर्ने शिवको मुर्ती र अरु साना तर प्यारो लाग्ने उपहारहरु दिई ।
वास्तवमा मैले हाम्रो सम्बन्धको बारेमा क्लियर नभइकन उनीबाट यस्तो उपहार र साथ-सहयोगको आश कहिल्यै गरेको थिइनँ । तर जब उनको हातले नै उपहार थम्याई मैले नाई भन्नै सकिनँ । म उपहार लिएर घर आएँ । उनको साथमा उनको बहिनी भएकोले हाम्रो औपचारिक कुराहरु केही हुन पाएनँ । त्यसको केही समयपछि हाम्रो भेट पोखरामा भयो । उनले पहिलो भेटमा नै मलाई अंगालो हालेर आफ्नो सम्पूर्ण भावनाहरु छताछुल्ल हुनेगरी पोखिन् । म उनको त्यो न्यानो अंगालोमा आफूलाई भूल्न पुगेँ । उनको यस्तो प्यारो अंगालोलाई नकारेर बेनाम सम्बन्धको ह्याङओभरबाट उत्रिन नसकेकोमा साह्रै पछुतो लाग्यो ।
हाम्रो कुराकानी हुँदै गयो । उनले आफ्नो मनको कुरा एकरत्ति पनि नढाँटिकन मलाई खुलेर बताई । तर म उनको त्यो इमानदारीतामाथी कुनै हालतमा घात गर्न चाहन्नथेँ । त्यसैले आफ्नो विगतका असफल र नाकाम सम्बन्धहरुको बारेमा उनलाई बताएँ जसमा तिमी पनि पर्थ्यौ । उनले मेरो ती तमाम गल्तीहरुलाई शिरोपर गरि आफ्नो प्रेममा रत्तिभर पनि कमी र रिस डाह नगरि ममा भरोसा राखिन् । जीवनमा भरोसा गर्ने मान्छेको लागि सानातिना सम्झौताहरु गर्न हामी पछि नपरिँदो रहेछ । त्यसैले तिम्रो निम्ति संगालिएको अथाह प्रेमको महासागर उनी तर्फ बग्न थाल्यो ।
हेर ! प्रेम भनेको बगेको खोला जस्तै रहेछ । जता सजिलो छ त्यतै बग्ने, जहाँ खालि छ त्यहीँ भरिहाल्ने । तिमीसंगको सम्बन्धले केही पार पाउँछ कि भनेर बर्षौंदेखि आकुल भएर बसेको मेरो प्यासी मनको तिर्खा उनले एक प्रहरमा नै तृप्प बनाइदिई । यस अर्थमा म उनीप्रति पूर्ण बफादार भएर समर्पित हुने र परिआएको बखत उनको साथ उभिने प्रण गरेँ । उनले मसंग विहेको पनि प्रस्ताव नगरेकी होइन तर मैले आफ्नो हावी मनप्रति पूर्ण नियन्त्रण नपाउँन्जेल र परिवारमा उनको लागि पारिवारिक सदस्यको रुपमा स्विकार हुने वातावरण सिर्जना नहुन्जेलसम्म यो रिक्स लिन चाहिनँ ।
समय बित्दै गयो उनीसंगको मेरो सम्बन्धले बिस्तारै दिशा पाइरहेको थियो । अब म उनको लागि बफादार पार्टनर बन्छु भनेर लागिरहेँ ।
तिम्रो बारेमा कुनै ख्याल आउनसाथ म आफ्नो इमोसनलाई कन्ट्रोल उनको फोटो, रिल्स र टिकटक भिडियोहरुलाई हेरेर भुलाइदिन्थेँ । कसै असमर्थ भएमा उनलाई म्यासेज गरेर तिम्रो यादलाई निशेध गरिरहेँ । यसै बिचमा ममाथी फेरि अर्को बज्रपात आइलाग्यो । भदौ २४ गते दाइको छोरी यानकी पुस्पाको ब्वाइफ्रेण्डले अर्को बिहे गरेछ । मैले उनलाई आफ्नो ल्याकतले भ्याउँदासम्म सम्झाएँ । आमा पछी मैले विश्वास गर्न सक्ने र खुलेर कुरा गर्न सक्ने उहीँ एउटी थिई । १२ बजेसम्म मेसेन्जरमा राम्रैसंग बोलेको पुस्पाले आफू ३ बर्षदेखिको रिलेसनमा बसेको प्रेमीले दिएको धोका सहन नसकेर फेसबुक स्टाटस लेखेर विष सेवन गरिछे । मलाई पहाड खसेझैँ भयो । उनको नजिकको साथी भनेको तिमी मात्र थियौ, त्यसैले तिमीलाई म्यासेज गर्ने सोँचेर तिम्रो प्रोफाइल खोलेँ ।
खै किन हो कुन्नी, मलाई तिमीलाई म्यासेज गर्ने हिम्मत नै आएनँ । मेरो आँखा आँशुले भरियो । मैले तिम्रो नंबरमा फोन डायल गरेँ । कयौंपटक फोन हान्दा पनि तिमीले फोन उठाएनौ । त्यसपछि म दाइलाई छोरीको खबर सुनाएर एउटा पाइन्ट, टिसर्ट र ज्याकेट लगाएर रातारात घरबाट निस्किहालेँ । घरमाथि पुग्दा खुट्टा ठोक्किएपछि बल्ल थाहा भयो, मेरो दाइने र देब्रे खुट्टामा फरक फरक ब्राण्डको कालो र हरियो जुत्ता रहेछ । म तत्काल घर फर्किएर जोडा मिल्ने जुत्ता लगाएर स्कुटर स्टार्ट गरि रफ्तारमा कुदिहालेँ । लगभग ८० किलोमिटरको लामो यात्रामा मलाई केवल वालिङ र स्याङ्जा बाँडखोला निस्किएको याद छ । पोखरा कसरी आइपुगेँ आफैलाई पत्तो छैन ।
जब हस्पिटल पुगेँ पुस्पा अर्ध चेत अवस्थामा ओछ्यानमा लडिरहेको थियो । त्यसको केही समयपछि तिमी पुस्पालाई भेट्न हस्पिटल आयौ । पुस्पाको अवस्थाले विछिप्त म तिम्रो छेउ उभिन पनि संकोच लाग्यो । खेै केही गल्ती त गरेको थिएनँ । तर तिम्रो अघि अपराधीझैँ निरीह बनेर आँखा जुधाउने हिम्मतसम्म आएको थिएनँ ।
पुप्पालाई ३ दिन आइसियुमा राखियो । पुस्पालाई तिमीले साथीको हैसियतले बिहान बेलुका जसरी आफ्नो कर्तव्य निभाएर सेवा गर्यौ, ममा तिमीप्रति विकसित भएको सबै नकारात्मक धारणाहरु सखाप भए । तिमीप्रति मेरो सम्मान हजार गुणा बढेर आयो । पुस्पालाई आइसियुबाट मेडिसिन वार्डमा सारेपछि पनि तिमी निरन्तर भेट्न आइरह्यौ । जब म आफ्नो जागिर तिर फर्कन बाध्य भएँ, मैले तिम्लाई पुस्पाको रेखदेख गरिदिन अनुरोध गरेको थिएँ । तिमीसंग व्यतीत गरेको त्यो पाँच/सात मिनेट मेरो जीवनको अमूल्य समयको अंश मानेको छु । त्यसपछिको केही दिन तिमीसंग पुस्पाको हालखबर बुझ्ने बहानामा म्यासेजमा कुरा भैरह्यो ।
म आफ्नो मनमाथि पूर्ण नियन्त्रण चाहन्थेँ । म चाहन्नथेँ कि बडो मुस्किलले उत्रिएको तिम्रो ह्याङओभर मेरो मानसपटलमा पुनः जागृत होस् । त्यसैले तिमीसंग फेसबुकमा कुराहरु गर्न पनि बन्द गरेँ । जे होस् म आफ्नो मन्जिलमा सफलता हाँसिल गरिरहेको थिएँ । तिम्रो याद, तिमीप्रतिको गुनासो र तिमीसंग बोल्न लालायित हुने पागल मनलाई बिस्तारै नियन्त्रणमा लिन सक्षम भइरहेको थिएँ ।
बिस्तारै मेरो नयाँ सम्बन्धले सार्थक रुप पाइरहेको थियो । म अब तिम्रो लागि खर्च हुने भावना र समयहरु नयाँ मान्छेलाई दिन थालिरहेको थिएँ । उनी पनि आफ्नो मन्जिलमा सफल भई नर्सिङ भिसामा जर्मन जाने पक्कापक्की भयो ।
छोरी पुस्पालाई आफ्नो स्कुटर पछाडी राखेर पोखराबाट आउँदै गर्दा कुरैकुरामा स्याङ्जा भालुपहाडमा आइपुग्दा मेरो नयाँ रिलेसनसिपको बारेमा कुरा उठ्यो । पुस्पाले मेरो उनीसंगको सम्बन्ध क्लियर गर्न लगाई । मेरो नयाँ सम्बन्धलाई लिएर मान्छेहरूले आफ्नो धारणा पनि बनाउन लागेको थियो । यदाकदा मेरो सरकारी नोकरीको कारण मलाई ताकेकोसम्म भन्न भ्याएका थिए । जबकी मलाई पूर्ण विश्वास थियो कि उनी मेहनती छिन, उनी आफ्नो मेहनत गरिरहेकी छन् । मन्जिलमा पुग्न केही ढिलाई भएर मात्र हो । तर उनको मेहनत र लगनशीलता देखेर म विश्वस्त थिएँ कि उनी एकदिन अवस्य सफल हुन्छ भनेर ।
मैले पुस्पालाई 'हैन हाम्रो सामान्य बोलचाल मात्र हो' भनेर ढाटेँ । हेर न - मैले त तिमीसंगको ह्याङओभर उतार्न क्षेत्रीनीसंग बोल्न पुगेँ भनेर तिम्लाई दोष दिन पो पुगेछु । पुस्पाले मलाई सचेत गराएर सम्बन्ध भन्ने चिज खेलौना जस्तो हैन । बेलैमा होस पुर्याउनु, पछि मेरै हाल होला भनेपछि म झसंग भएँ । मैले पुस्पासंग भालुपहाडमा खिचेको फोटो र भिडियोहरुलाई टिकटक र फेसबुक स्टोरीमा राखेको थिएँ ।
उनले मलाई 'रमाइलो छ है जिन्दगी' भनेर म्यासेज लेख्दा जवाफमा मैले जिन्दगी झन्ड भइहेको कुरा बताएँ । हाम्रो कुरा हुँदै गयो । दिउँसो पुस्पाको भनेको कुराले मेरो मनमा ठूलै प्रभाव परेको थियो । हुन पनि म रिलेसनसिपको मामलामा अनावश्यक सिरियस हुन्छु । मलाई लाग्यो विगत ४/५ बर्षदेखि कुनै नाफा-नोक्सान र आशा-निराशाको लेखाजोखा नगरि बोल्दा उनीसंग मलाई केही भएको थिएनँ । तर पछिल्लो समय किन किन मलाई 'म उनको लागि लायक नै छैन' जस्तो लागिरहेको थियो । यस्तो मासुम केटी, जो मेरो लागि मरिहत्ते गर्छ; उसलाई यसरी भ्रममा राख्नु ठिक हुन्नँ । उनी पनि त एउटा केटी मान्छे हो । कसले चाहन्छ आफूले मन पराएको मान्छेको मनमा पास्ट रिलेसनसिपलाई लिएर अझै कन्फ्युजन होस् भनेर । मलाई किन किन उनलाई यसरी अन्धकारमा राख्न उचित लागेनँ ।
उनलाई सबै कुरा क्लिएर भन्नुपर्ने ठानेर म्यासेजमा भनेँ - 'घरकाले पनि अवरोध गर्ने परकाले पनि अवरोध गर्ने । कति जनासंग तिम्लाई जोगाउन सक्छु होला र… यस्तो कन्फ्युजनमा बस्नुभन्दा त बरु तिमी बेस्ट डिजर्भ गर्छौ । तिमी मुभ अन होऊ । हेर मैले जीवनमा आफ्नो अर्धाङ्गिनीलाई धन सम्पत्ति र आभूषणले तृप्ती त पार्न सक्दिनँ नै तर उनले डिजर्भ गर्ने आत्मसम्मान र प्रतिष्ठामा कहिल्यै कमी हुन दिन्नँ भन्ने मेरो संकल्प हो । तर तिमी मेरो भनेर हक जमाउन नपाउँदै तिमी माथिको दुनियाँको प्रहार मैले सहन सक्दिनँ ।'
उनले मलाई 'म नै उनको लागि बेटर च्वाइस' भएको दुहाई दिन थाली । मैले उनलाई सम्झाउन हर प्रयत्न गर्दै 'लेट्स टेक ब्रेक हेयर' अर्थात हाम्रो सम्बन्ध यहाँ भन्दा अघि नबढाउँ भनेँ । उनले अनेकन बिन्ती गरि तर म कठोर बनेर उनको एक कुरा नसुनी आफ्नो अडान कसेर बसेँ ।
भोलीपल्ट मैले फेसबुक स्टोरीमा 'मैले कुनै पनि समय तिमीलाई कुनै तरिकाबाट फेक होप देखाएछु भने सरी' भनेर उनलाई डेडिकेट गर्दै नोट्स लेखेर छोडिदिएँ । मलाई लागेथ्यो यति गरेपछि म आफ्नो मनलाई कठोर बनाउन सक्छु । तर म गलत सावित भएँ । ममा उनको अघि कठोर बन्ने ल्याकत रहेनछ । भोलिपल्ट पुप्पाले मलाई सम्झाउँदै भनी 'अंकल हजुरले के भन्नुभाथ्यो र, उसले त कस्तो कस्तो कुरा गर्छ । बाँच्न मन छैन भन्छ' भनेर स्क्रिनसट पठाएपछि मेरो मनमा चिसो पस्यो ।
त्यस लगतै उनको माइजुहरु र साथीहरूले पनि त्यस्तै खबर पठाएपछि म झन् डराएँ । उनको माइजूले पनि 'फ्लाइट हुने बेला चित्त नदुखाइदिनुभए हुन्थ्यो' भन्नुभयो । हामी जिस्किएर बोलेको उनको माइजू र बहिनीले चाल पाएको रहेछ । उनले मलाई अनेकौं गुनासारुपी रिल्सहरु पठाएका थिए । तर मैले सबैलाई हल्का रुपमा लिएको थिएँ । उनलाई म सामान्य साथी सरह सल्लाह सुझाब दिइरहेको थिएँ ।
दिउँसो उनले मलाई एउटा कपाल झर्न रोक्ने औषधीको बारेमा सोधेकी रहेछ । स्लो इन्टरनेटको कारण ब्लर आएको फोटोमा सानो बट्टाको फोटोमा आँखा लगाउनसाथ अगाडीको 'भि' लेखेको अक्षर बाहेक मैले अरु ठम्याउन सकिनँ । 'भि' बाट सुरु हुने शब्द 'भेनम' यानकी 'विष' बाहेक मेरो दिमागमा अरु शब्द आउँदै आएनँ । मेरो शरिर लगलग काँप्न थाल्यो, शरिरबाट चिटचिट पसिना आएर म थचक्कै बसेँ । स्लो वाइफाई अफ गरेर जब मोबाइल डाटा खोलेँ बल्ल मेरो अत्यास अन्त्य भयो कि - त्यो विष नभएर औषधीको बट्टा रहेछ ।
मलाई बल्ल महसुस भयो उनी प्रतिको मेरो आत्मियता । मलाई लाग्यो नाकाम सम्बन्धको अपसोँचमा जिन्दगीभर अल्झिएर बस्नुभन्दा उनीसंग भएको सम्बन्धलाई नै मजबुत बनाउँछु । आफूले चाहेको सम्बन्ध भन्दा आफूलाई चाहने सम्बन्ध राम्रो हुन्छ झैँ लाग्यो । त्यसैले मैले कमिटमेन्ट गरेँ कि ठिक छ, जो होगा देखा जायगा । मैले उनलाई 'अन्तरजातीय सम्बन्ध सजिलो छैन । अनेक चुनौतीसंग सामना गर्नुपर्छ' भनेँ । उनी हरेको कुरामा सम्झौता गर्न राजी भई । त्यसपछिको केही दिनमा हाम्रो साधारण भेटघाट भयो र उनको जर्मन फ्लाइट भयो । उनी पोखराबाट बसमा छुटेदेखि हरेक घण्टामा आफ्नो अपडेट दिन्थी ।
आज करिब एक हप्ता भयो उनको फ्लाइट भएको । उनले एकछिन खालि हुनसाथ मलाई म्यासेज गरिहाल्छिन् । मलाई उनको म्यासेजले ओठमा मुस्कान प्रदान गर्छ । नेपाल र जर्मनीको समय करिब ४ घन्टा ४५ मिनेट फरक पर्छ । यानकी उनी छुट्टी भएर ६ बजे आउँदा नेपालमा मध्यरातको पौने ११ बजिसकेको हुन्छ । उनलाई कोठामा आउनसाथ मसंग बोल्न परिहाल्छ । मलाई पनि उनको म्यासेजको प्रतिक्षा गर्ने लादत लाग्लाझैं भरहेको छ ।
मंसिर २५ गतेको राती उनीसंगको सामान्य गफगाफ पछि मैले सुत्छु अनिदो भयो भनेर उनीसंग बिदा मागेर सुतेँ । एकछिन निद्रा आएन । कानमा एयरबडबाट गित बनाएर चिसो रातमा कम्बलभित्र गुजुल्टिएर सुतेँ ।
म सानोमा बाँदर कुर्न बस्ने गोँरभिड बारीको पाटामा घाम तापेर सुतिरहेको थिएँ । तिमी र पुस्पा छेउमा गफ गरिरहेको थियौ । मैले तिम्रो कुरा सुनेको थिएनँ किनकी सपनामा पनि म तिमीलाई बेवास्था गर्ने चेष्टा गरिरहेको थिएँ । तिमीले मलाई भर्खर पलाएको पालुवाको डाली अनुहारमा फालेर हेर्दै थियौ । मैले वेवास्था गरेँ । तिमीले दोस्रो पटक पनि त्यसरी नै मलाई डालीले हानेर केही बोलेनौ केवल मुस्कुरायौ अनि गित गायौ - 'सँधै सधैँ आइरहन्छ तिम्रा यादहरु । यो मन एक्लै गुनगुनाउछ अतितका ति धुनहरु…' ।
तिमीले फालेको त्यो डालीहरु उठाएर आफू सधैं बस्ने राङसिङको रुखमा ल्याएर बिछ्याएर बस्दा निकै आनन्द मिल्यो । हुन त गाउँतिर कसैले कसैलाई सम्झिए सपनामा देख्छ भन्छन् । मलाई थाहा छ, तिम्ले मलाई पक्कै सम्झिएको छैनौ । मैले गाउँघरतिर 'सिरानी उल्टाएर सुते सपनामा देखेको मान्छेले पनि उल्टिएर सपना देख्छ रे' भनेको सुनेको थिएँ । त्यसैले सिरानी उल्टाउनलाई उचालेँ पनि तर अहँ हिम्मत आएनँ । त्यसैले उल्टाएनँ पनि । फोन हेेर्दा ३ बजेको थियो अनि फोनमा मन्त्र ब्याण्डको त्यहीँ गितको फिमेल कभर भर्जस बजिरहेको रहेछ - 'सँधै सधैँ आइरहन्छ तिम्रा यादहरु । यो मन एक्लै गुनगुनाउछ अतितका ति धुनहरु…' ।
मैले गित बन्द गरेर सुत्न कोशिश गरेँ तर सकिनँ । कबड्डीको काजी र मैयाको सम्बन्धसंग तुलना गर्न पुगेँ मैले हाम्रो बेनाम सम्बन्धलाई । भनौं कसलाई भनौं यस्तो तातो न छारो कुरा । त्यसैले मोबाइलको नोटप्याड निकालेर सुरु गरेँ तिमीलाई सम्बोधन गर्न - डियर पराइ मान्छे ।
Post a Comment