प्रहरी मेरो साथी 🤮 साथी होइन, चुनौती
![]() |
तस्बिर: साभार |
स्कुटर मर्मतमा प्रचुर समय खर्चिएको कारण साँझ परिसकेको थियो । वालिङबाट फर्किँदा बाटोमै झिसमिसे रात पर्यो । ढलेको समी अलिकति माथि मापसे चेकिङको लागि ट्राफिक बसेको रहेछ । मैले ट्राफिक प्रहरी देखेपछि साइडमा स्कुटर रोकेर लाइसेन्स/ब्लुबुक झिकेर देखाएँ । उनीहरुले डकुमेन्ट देखाउन पर्दैन भन्यो । मैले पर्समा डकुमेन्ट राखेर हिँड्न खोज्दा मलाई रोक्दै ब्रेथलाइजरमा फुक्क लगायो । मैले बिस्तारै फुकेँ तर सासको प्रेसर कम पुगेछ क्यार ।
ट्राफिक पुलिसले ठ्याक्कै यसरी नै भन्यो, "कता हो टिल्ल परेर अलि जोडसंग फुक्नुस् !"
मलाई पारा तातेर आएको थियो । जीन्दगीमा आजको दिनसम्म नसालु पदार्थको नाममा जाँड, रक्सी, चुरोट सेवन त निकै परको कुरा, पिंकी (मिठो सुपारी) समेत हात नलगाउने मान्छेलाई, अझ भएन स्कुलको ड्रेसमा भएको सरकारी स्कुलको शिक्षकलाई यस्तो सडकछाप भाषा प्रयोग गर्दा साह्रै रिस उठेर आएको थियो । तर म संयमित हुँदै… अहँ संयमित भन्न मिल्दैन, शब्द चयनमा समय खर्च नै नगरी साथीहरुसंग बोलेझैं गरेर बोलें - "जीन्दगीमा चाखेको पनि छैन यार ।"
मैले उनीहरुको हुमुकलाई शिरोपर गर्दै छातीभरि बेलुनझैं सास जम्मा गरेर एकैचोटि निकै प्रेसरमा कानबाट समेत हावा निस्किने गरि ब्रेथलाइजरमा फुकेँ । कान टुँईई… करायो, आँखामा तोरी फूला देखियो । त्यसपछि उनीहरुले ब्रेथलाइजरको इन्डिकेटर हेरे तर अझै चित्त बुझेन । फेरि फुक्न लगाउन खोज्यो । मैले फेरि फुक्नलाई फेरि अगाडी बढ्न खोज्दा एकचोटि इन्डिकेटर हेरेर आफै साइड लागे ।
म अगाडी बढेँ तर मनमा कुरा खेलिरह्यो । किन अधिकांश पुलिसहरुको बोली यस्तो रुखो र सडकछाप प्रकृतिको हुन्छ । यिनीहरूलाई सेवा प्रवेश गर्दै गर्दा पब्लिकसंग कसरी डिलिङ गर्ने भनेर प्रशिक्षण दिएकै हुँदैन कि क्याहो ! म शिक्षकको ड्रेसमा भएको चालकलाई त यस्तो बोलि गर्छ भने साधारण पहिरनमा भएको चालकहरुलाई यिनीहरूले कस्तो व्यवहार गर्ला ? कि बर्दी लगाएपछि यिनीहरूको दम्ब बढेको होला त ! म निर्उत्तर छु 😢
प्रहरीे मेरो साथी 🤮
Post a Comment