गुरुङ जातीमा कसरी अर्घु गर्ने प्रचलन सुरु भयो?
गुरुङ समूदायमा कसैको मृत्यु भएमा ड्याङ्ग्रो, झ्याली, शंख, घण्टी, तैंदु, ट्याङ्को लगायतका विभिन्न बाद्य सामाग्रीहरु बजाएर कहिले नाच्दै त, कहिले मन्त्रहरु जप गर्दै किरिया कार्य गर्ने गरिन्छ । यो कार्य दुई चरणमा हुन्छ । पहिलो कार्यमा पार्थिक शरिरलाई चिहानसम्म पुर्याइ आत्मालाई सिमि नासा यानकी मर्त्यलोकसम्म लगिन्छ भने दोस्रो चरणमा आत्मालाई स्वर्ग पार गराइन्छ । यसो त यो प्रथा सबै गुरुङ जातिहरुले अनुसरण गरेपनि विभिन्न भेगका गुरुङहरुमा आफ्नै फरक शैली र विधिहरु देखिन्छ । कतै अहिंसावादी वेद अनुसार कार्य गरिन्छ भने कतै शाष्त्रको विधिमा उल्लेख भएका कुराहरुलाई नै पालना गरि विभिन्न कार्य गरिन्छ ।
यसको बारेमा विस्तृत जानकारी नभएकाहरुले गैर गुरुङ समुदायका मान्छेहरुले 'मान्छे मर्दा पनि किन कोही रुने, कोही नाच्ने गरेको होला' भनी प्रश्न र जिज्ञासा गरिरहेको पाइन्छ । गुरुङहरुको आफ्नै मौलिक लिपिबद्द भाषाको ज्ञानको अभावको कारण समस्त तमू समूदाय र गैर तमू समुदायका मानिसहरु वेदको ज्ञानबाट बन्चित भैरहेका छन् । वैदिक ज्ञान नभएकाहरुले 'गुरुङहरु मान्छे मर्दा पनि किन कोही रुने, कोही नाच्ने के गरेको होला' भनी प्रश्न र जिज्ञासा गरिरहेको पाइन्छ । गुरुङहरुको तमाम प्रथा र परम्पराहरुमा वेदमा उल्लेख भएका कर्मकाण्डका कुराहरु र निर्देशनहरु पालना भएको हुन्छ । गुरुङहरुको पय अर्थान महान् यज्ञमा गरिने हर कर्मकाण्डको आफ्नै अर्थ र कारणहरु रहेका हुन्छन् । ती सबै कर्मकाण्डहरु कहीँ न कहीँ गएर वेदमा उल्लेखित निर्देशन र लोककथाका गाथाहरुबाट प्रभावित भएर अवलम्बनको पाइन्छ । वेदमा उल्लेख भएका तमाम कुराहरुलाई यस भिडियोमा समेट्न सम्भव नभएपनि गुरुङहरुमा अर्घुम गर्ने परम्परा कसरी रहन गयो भन्ने कुरा संक्षेपमा बताउन चाहन्छु ।
तमुहरुको सृष्टिकर्ता कर्गली क्ह्यालाको छोरा करजै क्ह्यालाको अर्घु अर्थात 'पय' सत्य युगमै भएको थियो भनि बोन धर्म खेगी क्ल्हेप्री पच्युको 'प्ये' यानकी शास्त्रमा उल्लेख गरिएको छ । जब कर्गली क्ह्याला यस धर्तीमा उत्पति भयो तब सबैभन्दा पहिला त आफू कसरी जन्म भयो अनि आफूलाई जन्म दिने माता-पिता को थियो भनी अनुसन्धान गर्न थाल्यो ।
कर्गली क्ह्यालले आफ्नो छोरा कर्जै क्ह्यालालाई एउटा सुनको मथुसमा राखेर उसको हेरचाहको लागी नालेजोफिलाई जिम्मा दिएर आफू चाहीँ आकाश र धर्तीको बिचमा गएर आफ्नो जन्म कसरी भयो भनि सत्यता पत्ता लगाउन ध्यान गरेर बस्यो । सोही क्रममा उसले माथि आकाशबाट एउटा ठुलो शक्तिशाली डल्ला तल धर्तीमा आएर फुटेपछि आफ्नो उत्पत्ति भएको रहेछ भनि थाहा पाएपश्चात् आकाशलाई आफ्नो पिता मानेर प्रणाम गर्यो र धर्तीमा आएर आफ्नो जन्म भएको हुनाले धर्तीलाई माता भनि प्रणाम गर्यो । ऊ जन्मिएको धरती अती नै अध्यारो भएकोले उसले धरती लोकमा आफ्नो शक्तिले दिनको लागि ९ सुर्य र रातको लागि ७ चन्द्रमाको उत्पति गरेर धरतीलाई उज्यालो पार्यो । तर ९ सुर्य र चन्द्रमाको धेरै तापले गर्दा धर्तीमा भएको सम्पूर्ण प्राणीहरु एक एक गरेर मर्न थाले । आफ्नो छोरा करजै क्ह्याला पनि यिनै तापले गर्दा मृत्यु हुन्छन् अनि हेरचाह गर्ने नाप्रो च्याहा भन्ने फिंले माखालाई छोराको मृत्यु भयो भनि कर्गली क्ह्याला कहाँ खबर पठाउछ । तर उसले पत्याउदैन र च्ह्याह्प्रुमै भनिने कागलाई पठाउँछ । उसले कागको पनि कुरा पत्याउदैन अनि फेरी थोक्रक्रोये भनिने गिद्धलाई पठाउछ तब बल्ल उसले छोरा मरेको कुरा पत्याएर आफ्नो ध्यान समाधिलाई छोडेर तल छोरा भएको ठाउमा आउँछन । उसले आफूले सृष्टि गरेको सूर्य र चन्द्रमाको तापको कारणले छोरा मरेको हो भन्ने कुरा थाहा भएपछी कर्गली क्ह्यालले भन्छ कि 'यदि मैले रचेको ९ सुर्य र ७ चन्द्रमाको तापले गर्दा मेरो छोरा मरेको हो भने यो ९ सुर्य र चन्द्रमालाई सबै राहुल दैंत्यले खाओस भनि श्राप दिन्छन । शक्ति राहुल दैंत्यले सबै सुर्य र चन्द्रमालाई खाइदिएपछि संसार फेरि पुरै अँध्यारो हुन्छ । जब संसार अध्यारो हुन्छ उसले आफ्नो छोराको आवज सुन्छ । जब उसले छोराको आवज सुन्छ तब फेरि पुनः आफ्नो छोरा मरेको छैन भनि भ्रम पाल्न सुरु गर्छ । तर त्यो आवज मृत्यु भएको छोराको शरीरबाट निस्किएको आत्मा हुन्छ किनभने सत्ययुगमा डुंगा माटोमा पनि बोल्ने शक्ति थियो हुन्थ्यो । छोराको आत्माले आफ्नो बाबालाई भन्छ कि 'बाबा ! म साँच्चिकै मरिसकेको छु । तर मैले विभिन्न मों यानकी पिचासहरुले गर्दा स्वर्ग जाने बाटो पाएको छैन । त्यसैले मेरो बाटो खुला गर्नको लागि पय यानकी आर्घु गरिदिनु भन्छन । त्यसपछि पय गर्नको लागि विभिन्न खेगीहरुलाई बोलाई पय वा यज्ञको थालनी गरिन्छ । उनीहरुको अनुसार यज्ञ आज थाल्ने अनि भोलि उज्यालो भएपछि मात्रा फाल्ने भनि निर्यण हुन्छ । खेगी पुरोहितहरुले रातभरी प्ये पढ्दै गयो तर उज्यालो चाहीँ कहिल्यै भएन । आखिर किन उज्यालो हुँदैन भनेर कर्गली क्ह्यालले ध्यान गरेर हेर्दा खेरि घाम र जुन त राहुल दैंत्यको पेटमा भएको देखिन्छ त्यसैले अन्धलार भएको रहेछ भनि थाहा हुन्छ । उनीहरूबिच फेरि 'यो राहुल दैंत्यको मुखबाट १ वटा घाम र १ वटा जुन मात्र कसले निकाल्न सक्छ' भनी सरसल्लाह हुन्छ । यसो भन्दा काग चराले भन्छ कि 'मैले देखेको छु, उत्तर दिशामा बस्ने त्होम पच्युले निकाल्न सक्छ ।'
हुकुम बमोजिम कागले त्होम पच्युलाई लिएर आएपछि कर्गली क्ह्यालाको सल्लाह अनुसार पच्युले यज्ञ शुरु गर्छन् । त्यस यज्ञमा सबै भेला भई शक्ति राहुल दैंत्यलाई पनि उपस्थित गराउँछन् । त्होम पच्युले आफ्ने शक्तिले चरालाई पातीको दन्डीको ढाड र बाँसको सिन्काको खुट्टा बनाएर कपडा लगाइदिन्छ । त्यो चराले सबैको सामु गाना गएर नाच्छन । "मेरो पातीको ढाड बाङ्गो भए भवोस्, मेरो बाँसको सिन्काको खुट्ट भाँचिए भाँचिचोस्' भन्दै कहिले माथि कहिले तल, बाङ्गो टिङ्गो नाचेको देखेपछि त्यहाँ भएको सबैजना नाच र गाना सुनेर हाँस्छन् । राहुल दैंत्य पनि हाँसो खप्नु नसकेर दुइपटक हाँसी हाल्छ । यसरी हाँस्दा एउटा घाम र जुन राहुल दैत्यको मुखबाट निस्की हाल्छ र संसारमा पुनः उज्यालो हुन्छ । उज्यालो भएपछि करजै क्ह्यालाको लासलाई फाल्ने काम सुरु हुन्छ । धेरै लामो समयसम्म रात भएको हुनाले हिसाब गर्दा २४ घन्टाको हिसाबले ३ रात यानकि ३ ल्होले भोग गरिसकेको रहेछ । त्यसपछि कर्गली क्ह्यालले छोरालाई स्वर्ग पुराउनको लागि एउटा भेंडाको साँर दिन्छन । त्यस भेंडाको साँरलाई रथ बनाई स्वर्ग जाने बेलामा गाउँको अरु मृतक आत्माले पनि भन्छन् कि 'यसरी भगवानको छोरा स्वर्ग पुग्छ भने हामी पनि यसकै साथ साथमा जानुपर्छ ।'
सबैजना उनै रथमा चढी करजै क्ह्यालासंग स्वर्गमा पुग्छन् । पछि कर्गली क्हयालले ध्यान गरि हेर्दा छोरा स्वर्गमा पुगेको रहेछ भनि थाहा हुन्छ । यसरी मानव आत्मालाई मृत्यु पश्चात् नरक लोकबाट स्वर्गमा पुर्याउनलाई अति महत्वपूर्ण कर्मकाण्डको रुपमा पय यानकी अर्घु गर्नपर्ने रहेछ भन्ने मान्यता सत्ययु देखि नै रहिआएको र यस यज्ञ विधिलाई सम्पूर्ण गुरुङ समुदायले निरन्तरता दिदै आएको देखिन्छ ।
Post a Comment