नयाँ बर्ष विशेष - भुजिकोट ट्रेकिङ २०७२

0

स्नातक प्रथम बर्षमा अध्यनरत साथीहरू बिच नयाँ बर्षमा भुजिकोट ट्रेकिङको बारेमा बहस भयो । आखिर जाने नै भइयो पर्यटकिय नगर भुजिकोटमा । २०७२ साल बैशाख १ गते अर्थात नयाँ बर्ष - मनमा एक किसिमको छुट्टै आभास भैरहेको थियो । पूर्व लाली चढ्दै आइरहेको थियो भने मेरो मनमा उत्तेजना बढ्दै । सवा सात भइसकेको थियो । हितैसी मित्र पल्लबले फोन हानेपछि झस्किएँ । ओहो ! म त करिब आठ बजे दुलेगौंडा बजार पुन्नु थियो साथीहरूलाई भेट्न अनि आफ्नो यात्राको शुभारम्भ गर्न । निकै हतार गरेर कपडा लगाएँ, पेट पुजा गरें अनि ठाँटिएर निस्किएँ । मैले आफूलाई आज पनि एक नेपाली हुँ भनेर सावित गरेँ, निर्धारित कारण समयमा चल्न असफल भएँ ।
पाँच मिनेटमै खैरेनिटार चोकमा पुगें । आँखा थाक्यो हेर्दा हेर्दै, मन आत्तियो कुर्दा कुर्दै तर बसको नाम निसाना देखिएन । घडिको सुई एक, दुई, तीन गर्दै सेकेन्ड अनि सेकेन्डपछि मिनेट गरेर पाँच पछि दस मिनेट पार गर्दै गयो तर अहँ बस आएनँ । आँखा निकै पर सडकको बिचबिच कुदाएँ । एकचोटि पापी ओठले भगवानको समेत पुकारा गरें । आखिर युगौं लगाएर भएपनि बस आइपुग्यो । मैले हात हल्लाएँ, बस रोकियो । बस भित्र झक्कास केटाहरू र बुलेट केटीहरु देखि लिएर च्याउरिएका बुढाबुढी र बच्चाहरु पनि प्रशस्त थिए ।
सबै मान्छेहरुको आ-आफ्नो साथीहरुसँग आफ्नै प्रसंगको कुराहरू चलिरहेका थिए । कोही राजनिती, कोही समाजसेवा, कोही आफ्ना विगत त कोही आफ्नो गल्फ्रेण्ड/ब्वाईफ्रेण्डको । कालो र धुलाम्यै भएको खोल हालिएको सिटको माथी पट्टी रातो पेन्टिङले लेखिएको थियो 2×2 महिला सिट, 2×2 अपाङ्ग सिट । तर जहाँ भरिएको थियो भलाद्मी मान्छेहरूले । दायाँपट्टी लेखिएको थियो "धुम्रपान निषेध" । 
बसभित्रको त्यो सानो संसाररुपी चित्रमा अनेक देखिन्थे मान्छेहरुको स्वार्थी चरित्र । बसको पछाडीतिर थरथरी काँपेर स्थिर उभिन नसक्ने बुढो बाजेलाई उभ्याएका थिए । बसभित्र समाजसेवाको गफमा लिप्त ती भदाद्मीहरुको कुरा सुनेर खित्का छुटिरहेको थियो मलाई । युवतीहरु आधुनिकताको ट्रेण्ड पछ्याउँदै अर्धपारदर्शी कपडामा आफ्नो सम्वेदनशिल अंगप्रत्यङ्गहरु प्रदर्शन गरेर खित्किँदै छेल्लिँदै कुरा गरिरहेका थिए । यिनेै विसंगतिहरुकेै कारण मलाई शहर त्यति मन पर्दैन । दया-माया, लाज-लज्जा, चित्र-चरित्र छिनमै हराउँछन् यहाँ । दिन दुखी र असहायहरु माथिल्लो दर्जाको मान्छेसंग दिनमै डराउँछन् यहाँ । ट्रक, बस, मोटरसाइकल, जिप, कार लगायतक सबै सवारी साधनहरु आवत जावत गरिरहेका थिए, कानको जाली ज्यातुलाझैं हर्न बजाउँदै । विहारीहरु 'आऽऽयो नरिवल, काँक्रा, अंगुर, केरा, स्याउ...' भन्दै कराइरहेका थिए । खैर, झुटा रैछन् बुढापाकाका युक्ति 'बोले पिठो पनि बिक्छ' भन्ने । नत्र त यति मिठा फलफूलहरु शरिरमा भएभरको दम लगाउँदै कराउँदानि आखिर किन एउटा पनि बिकेन त तिनका सामानहरु ? मनमा यस्तै असन्तोषी कुराहरू खेलाउँदै थिएँ । बसको ढोकाबाट लठ्ठी टेक्दै अन्दाजी ६५/७० बर्षको बूढो बाजे थरथरी काँपेर भित्र प्रवेश गर्‍यो । कण्डक्टरले पुकार खाएर पिच्च थुक्दै "पछाडि गएर बस बाजे" भन्यो । 
मैले पछाडि फर्किएर हेरें । सिट त परको कुरा खुट्टा घुसाउने ठाउँसम्म थिएनँ । मैले उसलाई बोलाउँदै भनें - "ओ दाइ ! बूढो बाजेलाई एउटा सिट मिलाइदिनुस् न ।" 
उसले सटिक उत्तर दियो "मिलेर बस न ।"
मैले भनें - "हजुरले मिलादिनु न त ! बिचरा बाजे यस्तो झ्याकिने बसभित्र कसरी उभिन्छ ?" 
ऊ झोक्किँदै बोल्यो - "नभएपछि के गर्ने त तिम्रो सिट देऊ न त ।" मलाई पारा तातेर आएको थियो तर आफूलाई सम्हाल्दै जुरुक्क उठेर बाजेलाई आफ्नो सिटमा बसालें । बाजेले मेरो नाम र ठेगाना सोध्नुभयो । मैले सबै सहिसहि बताएँ । मैले उहाँलाई पनि प्रश्न उल्ट्याएँ । उहाँले पनि मलाई खुलेर बताउनुभयो । एकछिनमा कण्डक्टर भाडा उठाउँदै आयो । मैले पाँच रुपैयाँ र विद्यार्थी परिचय पत्र उसको हातमा थम्याइदिएँ । उसले कार्ड यताउता पल्ट्याउँदै हेरेर मलाई फिर्ता गर्‍यो अनि बाजेसँग भाडा माग्यो । 
बाजेले आफ्नो झुत्रो परेको आसकोटबाट पाँच-पाँचको नोट झिक्दै गनेर  भन्नुभयो 'मसंग यतिनै छ बाबू, जहाँसम्म पुग्छ त्यहिँ झारिदिनु । म हिँडेर जान्छु' ।
कण्डक्टर जङ्गिँदै बोल्यो - "खै लेउ बुढा, पैसा नभएपछि गाडी नचढ्नुनी ।" 
म यसपालि चुप लागेर बस्न सकिन । मेरो क्रोधले सिमा नाघ्यो । लागेथ्यो जगल्टेलाई एक मुक्का हानिदिउँ तर त्यसो गर्न सकिनँ । तैपनि मुख भने छोडिहालें - "ओए खले ! तेरो अनुहार जस्तै ब्यवहार नगर न । जाबो दस रुप्या नपुग्दा पनि त्यत्रो हंगमा ? खै बाजेको पैसा ले, म दिन्छु भाडा ।"
बसको सबले मलाई अर्कै ग्रहबाट आएको मानिसझैँ क्वाँरक्वाँर्ती  हेर्देै थिए । उसको अनुहारमा क्रोधको रेखाहरु छरपस्ट देखिन्थे । उसले पाँच-पाँचको नोट रहेको पन्ध्र रुपैयाँ पैसा मेरो हातमा राखिदियो । मैले पाँच सयको नोट झिकेर उसको हातमा राखिदिएँ । उसलाई बाँकी पैसा फिर्ता गर्न पुगेनँ । उसलाई झ्याँक्ने सुनौलो अवसर पाएको ठानेर मैले पनि निकै थर्काउँदै पैसा फिर्ता मागें । ऊ मसँग झोक्किँदै झगडा गर्न तम्सियो । 
बसमा भएको सबै मेरो पक्षमा बोल्न लागेपछि उसको केहीँ लागेनँ अनि ऊ चुप लागेर बस्न बाध्य भयो । बाजेले मलाई ट्वाल्ल हेरिरहनुभएको थियो । म उहाँलाई हेर्दै मुस्कुराएँ । उहाँ पनि थोते दाँत देखाउँदै खिस्स हाँस्नुभयो । एकछिनमा दुलेगौंडा बजार आइपुग्यो । म अलिक तल प्रतिक्षालयमा झर्नुपर्ने थियो । कण्डक्टरले मलाई माथी नै झर्न लगायो । 
मैले झगडा गर्दै ढोकामा आएर "अलि तल झर्छु म, तैले पाँच रुपैया भाडा छोड्न नसक्ने, मैले चाहीँ पच्चीस मिटरको बाटो किन छोड्ने" भनें । 
उसले जे सुकै गर, अहिले बस रोकिन्न क्यारे भन्दै भाडा उठाउन पछाडी गयो । म ढोकामा उभिएर झर्नुपर्ने चोक पर्खिएर बसेँ । म ओर्लिने ठाउँ आयो तर बस रोकिएन । मैले बसको अलमुनियको ढोकामा कस्सिएर मुर्किले बजाएँ । बस अलि बिस्तारै हिँड्न थाल्यो । म बाजेसँग बिदा भएर बसबाट फुत्त उफ्रिएँ । बस पूरै नरोककोले म अलिक पर हुत्तिएँ तर धन्य भगवान ! टाउको चाहिँ टेक्न पुगिनँ । बस म झरेलगत्तै अलिक तल गएर पेसेन्जर हाल्न रोक्कियो । मलाई त्यहिँ गएर खलासीसँग कुस्ती खेल्न मन लागेको थियो । आफू निर्धो भएपनि उसले चार  मुक्का हान्दा मैले दुई त हान्न सक्छु भनेँ खालको प्रतिशोधको भावना उब्जियो तर जब साथीहरू देखें आफूलाई सम्हालें ।
प्रतिक्षालयमा चार जना साथीहरु जम्मा भएका थिए - ममता, उमा, पल्लब अनि सानो नानी । ममताले मलाई कराउँदै थिई 'बस राम्रोसँग नरोक्किईकन झर्‍यो' भनेर । तर कहानी अर्कै थियो मेरो एकदम बनावटी जस्तो लाग्ने । एकै सासमा सबै घटनाको बेलिबिस्तार लगाउन मन थियो तर लामो सास लिएर थ्याच्च प्रतिक्षालयको सिँडीमा बसेपछि सबै कुरा भन्नू युक्तिसंगत लागेन अनि आफ्नै मनभित्र गुम्साएर राखें । 
उकाली बाटो चढ्दै [नयाँ बर्ष विशेष - भुजिकोट ट्रेकिङ]
पल्लबले साथीहरूलाई फोन गर्‍यो । कसैले बाटोमा आउँदैछौं भने, कसैले जाँदै गर भने । हामी पाँच जना भएर हाइवेको बाटो काटेर पारिपट्टि चौतारामा बस्यौं । एउटी दिदी काँक्राको थुप्रो पछाडी मुहारभरी आलस्यपन बोलेर बसिराख्नु भएको थियो । मैले त्यो आइमाईलाई देखेपछि गाउँमा बस्ने सदैव अस्थिर आफ्नो आमालाई सम्झिएँ । पारिपट्टी एउटा बाजे डोको बेच्ने पसलमा बस्नुभएको थियो । त्यो देखेर मैले गाउँमा यस्तै डोको, नाम्लो, सुपो, चाङ्लो, पगारी र भकारीहरु बुनेर बस्ने बूढो बाबालाई झट्ट सम्झिएँ । पाँच दस मिनेटपछि हाम्रो साथीहरु थप्पिए - सरिता, सञ्जु, बिपना अनि सानो भाई ।
मलाई मन अलि खल्लो लाग्यो । सँगै यात्रा गरेर नयाँ बर्ष मनाउने भनेर बाचा गरेको साथीहरू कति चाँडै आफ्नो रंग बदलेको - छेपारेहरु । मनममनै साथीहरूलाई गाली गर्दै बाजेको डोको पसलबाट उकाली लाग्यौं । हामी जम्मा नौ जना थियौं साथीहरु ! दस पन्ध्र मिनेट उकाली चढेपछि हाम्रो अर्को साथी 'सबिना' थपियो । 
आखिरमा जम्मा दस जना भयौ हामी । अझ अरु साथीहरू पनि आउँदै थिए पछाडी तर पर्खिएर धैर्य गर्दागर्दै धैर्यताको बाँध टुटेपछि हामी बिस्तारै आफ्नो पाइलाहरु अगाडी बढाउन थाल्यौं । कति चिटिक्क देखिएका थिए सबैजना । सबैको नजिक पर्नसाथ क्रिम र मगमग बसाउने पर्फ्युमको बास्नाले नाक लोभ्याइरहेका थिए । विशेषगरी केटीहरु पुतलीझैँ सजिएका थिए । उनीहरूले सुन्दरताले मेरो आँखा लोभी र मन पापी बनाइरहेको थियो । हाम्रो सर्कलमा एक हिसाबले कुनै कुराको कमी थिएन । गित गाउनमा - 'ममता', म, 'सबिना', 'सरिता', 'उमा' लगायतका थिए । ठट्टा गर्न, जोक्स भन्न र हँसाउन 'पल्लब' एक्लै काफी थियो । गोडाले उकाली लागेको चाल पाइरहेको थियो । जति उकालो लाग्दै गयो, उति छोडिँदै गयो 'सञ्जु' । जीवनमा पहिलो पटक मलाई आफू मरनच्याँसे दुब्लो भएकोमा गर्व लाग्यो त्योपनि काली चढ्दाखेरी ।
बाटोमा थकाई मार्दै
पल्लब बेलाबेला लाजले भुतुक्कै हुने र हाँसोले फतक्कै बनाउने कुराहरु गर्‍थ्यो । गाउँको मान्छेहरु कसैले नचिनेपनि टोल टोलको कुकुरहरूले भुकेर हाम्रो स्वागत गरिरहेका थिए । बादल लागेकोले उकालो चढ्न सजिलो भएको थियो । तर मेरो मनमा भित्रभित्रै डर बढ्न थालिसकेको थियो कि, 'बादल लागिनै रहे हामीले प्रकृतिको सुन्दरता हेरेर लठ्ठिन पाउँदैनौं' भनेर । 
अगाडि हिँड्नेहरु खरायोको गतिमा हस्याङफस्याङ हिँड्दै ठाउँठाउँमा फोटोहरु खिचेर थ्याच्च-थ्याच्च गरेर बस्थ्यो भने, पछाडी हिँड्नेहरु खुई… खुई… गर्दै शरिरको बोसो घटाउँदै हिँडिरहेका थिए । बस बिहान बेलुका एकएक टाइममा मात्र हिँड्दो रहेछ जुन कुरा यात्राकै क्रममा स्थानिय बासिन्दाहरुबाट सोधेपछि चाल पाइयो । हामी पैदल यात्रा गर्न बाध्य थियौं । 
म बेलाबेलामा पछाडि फर्किएर सञ्जुलाई हेर्थे । उनी स्याँऽऽऽ स्याँऽऽऽ गर्दै हामीलाई भेट्ने झिनो आशमा आफ्नो साहस बटुल्दै हिँडिरहेकी थिई । लगातार उकालो चढ्ने क्रममा कयौं मान्छेहरूलाई सोध्यौ । सबैले गन्तव्यस्थल पुग्न अझेै दुई/तीन घण्टा लाग्ने कुरा बताए । बाटोमा निकै घुम्तिहरु थिए । सिङ्गो घर जत्रो ढुङ्गाहरु, पुई-पुँइती उडिरहेको धुलोहरु निकै रहस्यमय लागिरहेको थियो मलाई । उकाली काट्न सजिलो होस् भनेर ममताले अन्ताक्षिरी खेल्ने प्रस्ताव ल्यायो । मैले नसुनेझैं गरेर उनको पछाडी नै परिरहेँ । कारण म वरपरको प्रकृतिक सुन्दतामा लठ्ठ भइरहेको थिएँ । तर एकछिनपछि निकै पछुताएँ । मेरो त्यो वेवास्थाले उनको मन कति अमिलिए होला । पछाडि बसेर मनमनै भनें, 'आइ एम सरी ममता !' 
बाटोमा ठाउँ ठाउँमा निकै धेरै घरहरु र भैसी गोठहरु पनि देखिन्थ्यो । पल्लबले बाटोमा रहेको भैंसिलाई - 'हाई भैंसी' भनेपछि सबैको हाँसोको पारा छुट्यो । म पनि नहाँसी बस्न सकिनँ, पेट मिचिमिची हाँसें ।
जंगलको बाटो उकाली चढ्दै
लगातार दुई/तीन घण्टाको उकाली लागेपछि बल्ल भुजिकोटको टावर (भ्यू पोइन्ट) देखियो । सबको हातको चोर औंला र आँखा उतैतिर तेर्सिदै मुखबाट अनायसै आवजहरु निस्कियो - "ऊ ऊ… त्यहाँ रैछ भुजिकोटको टावर ।" 
मन चङ्गा बनेर उड्दै गएर त्यो भ्यु पोइन्टमा बसिसकेको थियो । तर तन भने बेँसीमै थियो । कसैले एकछिन बसौं भन्दै थियो । तर सबलाई माथी पुन्न आत्तुर भइसेकेकोले तैछाड मैछाड गरेर उकालो चढ्न लाग्यौं । मोटरको बाटो हिँडे एक डेढ घण्टा लाग्थ्यो । त्यसैले हामी बनको बाटो ढुङ्गाढुङ्गामा समातेर रक क्लाइम्बिङ गरेझैं चढ्न लाग्यौं । बनको बिचमा सबैले आ-आफ्नो मोबाइल झिकेर फोटो खिच्न लागे । म नि के कम, आफ्नो पनि स्न्याप लिएँ । दस पन्ध्र मिनेट पछाडिका साथीहरूलाई पर्खियौं । तर हालखबर अत्तोपत्तो नपाएपछि फेरि यात्रा अघि बढाउन लाग्यौं । बेलाबेला ममताले गाउने गित र पल्लबको फन्नि कुराले यात्रा अझ रोमाञ्चक बन्दै थियो । बाटोमा धेरै मान्छेहरु भेटिए । बालकदेखी बुढापाकासम्मको बर्चस्व कायम आन्तरिक पर्यटकले त्यस भेकमा पर्यटनको सम्भावना अती उच्च रहेको अड्कल गरें । 
वैशाखको पहिलो दिन, बादलको घुम्टो ओडेर हामीलाई नियालिरहेको घाम, जताततै सेतै फुलिरहेको सालको फूल, सेता सेता विशाल चट्टानहरु अनि हेर्दै मन लोभ्याउने गाउँहरू अनि मन्दिर वरपर हातमा राताराता लालिगुँरासको फुलहरु लिएर उभिएका सुन्दरी कन्याहरु । वरपर लालिगुँरासको बोटहरु फूल बिना ओइलाइरहेका थिए, नितान्त मेरो जीवनजस्तै । सायद फूल फूलेको थियो अनि सुकेर झर्‍यो होला अथवा कसैले टिपिदिएको होला । तैपनि कति सुखि थिए ती लालिगुँरासको बोटहरु । मैले अर्थहिन नै सही - जीवन जिउने प्रेरणा लिएँ ती गुँरासको बोटहरुबाट । प्रकृति भनेको के हो यहाँ आएर बुझें अनि देखें पनि । तर कसरी देखाउँ दुनियाँको सामु म खुसी छु भनेर  । मोबाइल झिकेर नोटप्याट खोलेवँ अनि रोमान्टिक मनमा सिर्जित एउटा गीत लेखें:
नयाँ बर्ष संधैझेैँ आउँछ, फेरि गइहाल्छ पनि,
सोंच्दैछु यो साल अलि भिन्न भइहाल्छ भनि ।
मरेर गलेको लासझेैँ कुरुप मुहार मेरो भएपनि,
तिम्रो लागि म छु नि भनी साथ दिइकन रुनी,
होला र संसारमा मेरो ? आशेैमा गइहाल्छ जवानी ।

जीवन किन झिनो आशमा अल्झिने गर्छ ?
पाइला अघि सार्छु, धड्कन उनकै पछि सर्छ ।
मेरो व्यथा उनले पनि सायद थाहा पाउनु पर्छ,
ओँठ र दन्तले लज्जा मिश्रित जब हाँसो छर्छ,
पापी मन ढलपल हुँदै धर्ती-आकाश उड्ने गर्छ ।
........ 
(alert-success)
म लेख्दै थिए, पछि छोडिएका साथीहरु बल्ल आइपुग्यो । मैले लेख्न छोडेर उनिहरुको नजिक पुगें - देवी, शिव, सन्तोष र दुई क्लामेट तर नामसँग अपरिचित साथीहरू थिए । मैले आफ्नो साथीहरु खोजें सबैजना फोटो खिच्दै, खित्किँदै छेल्लिँदै तल वेसीमा रहेको दोकानमा पुगिसकेको थियो मलाई एक्लै छोडेर । 
मलाई यो "साथी" भन्ने शब्दमाथी ब्यङ्ग्य गर्न मन लाग्यो । "साथी" नाम कति मीठो आहा सुनिरहुँ जस्तो साथ, अनि सहयात्रा । तर खैर, जीवनमा धेरै साथी बनाएँ अनि चिनेपनि । त्यो साथ क्षणिक रहेछ, देखावटी मात्र रहेछ । आफ्नो इच्छा, चाहना, आवश्यकता भन्दा ठूलो साथी हैन । त्यसैले त भोक लागेपछि मलाई एक्लै छोडेर गए । तर दोष तिनीहरूको हैन केवल मेरो मात्र थियो । मलाई मेरो भूल स्विकार्य छ, म पनि त प्रकृतिको न्यानो काखमा ती सबै साथीहरूलाई भुलेर एक्लै रमाएको थिए वास्तविकता भन्दा धेरै माथी उठेर । उनीहरूले मलाई छोडेर मेरो केहीँ गएको थिएन अनि फेरि म पछाडी छोडिएपनि तिनीहरूको केही छोडिएको थिएन - इच्छा, आकाङ्क्षा केहीपनि, केवल एक पलको सहयात्री शिवाय !
भ्यू पोइन्टमा खिचेको मेरो फोटो
तिन सेकेन्ड, तीन मिनेट र पूरा तीन घण्टा काटेर हामी भुजिकोटमा पुग्यौं । शान्त वातावरण, स्वच्छ हावा, मनमोहक प्रकृति आहा ! मैले यसपालिको नयाँबर्ष साँच्चिकै अविस्मरणिय रहने कुराना विस्वस्थ भएँ । सबैजना तीन तला माथी रहेको भ्यू पोइन्टमा चढेर वरपर नियालिरहेका थिए । एका पट्टि गाउँ, अर्कापट्टि स्कुल चारैतिर बनले घेरिएको ठाउँ । आहा एकचोटि आफ्नो गाउँ सम्झिएँ । सबैजना मिलेर एउटा ग्रुपको फोटो खिच्यौ र आ-आफ्नै किसिमले धरै फोटोहरु खिच्यौं ।
भुजिकोट बागेश्वरी मन्दिर
भ्यु पोइन्बाट तल उत्रिएँ । बागेश्वरी मन्दिर थियो गगनचुम्वी महलको ठिक अगाडी । म मन्दिरको संघारमै पुगेर प्राथना गर्दै एउटा वर मागें वागेश्वरी मातासँग - "माता ! जीवनमा मैले कयौं देवीदेवतासँग कयौं वर मागें तर मलाई कहिल्यै पनि सन्तुष्टि महसुस भएन । यदि तिमी साँच्चै महान छौ भने म भित्रको महत्वाकांक्षी भावना र लोभलाई सँधैको निम्ति नाश गरिदेउ !" मैले आँखा खोले एकचोटि नमस्कार गरेर ढोग गरेपछि बाहिर गेटबाट वागेश्वरी मन्दिरको एक कपि फोटो लिएँ । डायरी लिएर हिँड्ने बानी डिजिटल युगसँगै परिवर्तन भएको थियो मेरो । मोबाइल नै एउटा डायरी थियो मेरो बिना पाना, बिना कलम र बिना मसिको डिजिटल युगको इलेक्ट्रोनिक डायरी । मैले अझ केही लेख्न खोजे तर मलाई सधैं साथमै लिएर हिड्ने मोबाइलले पनि साथ दिएन । मेरो भावनालाई कुल्चिएर गुड बाई भनेर चार्ज  सकिएको कारण बन्द भैदियो । अन्तिममा पछि आएका साथीहरूसँग सुरुका साथीहरूलाई पछ्याउँदै गएँ ।
जीन्दगीमा कयौं यात्रा गरें । उकाली ओराली भञ्ज्याङ चौतारी कयौं नागवेली घुम्तीहरु पार गरेर आएँ । कयौं पलहरु जीन्दगीको रंगमञ्चसँगै हराएर गए, कयौं पलहरु जीवन जिउने आधार बने । तिनै उदासी जीवनको एउटा रोमाञ्चपूर्ण यात्रा बन्यो भुजिकोटको यात्रा । तनहुँको शुक्लागण्डकीमा नगरपालिका अवस्थित भुजिकोट साँच्चै सोंचेभन्दा कयौं गुणा राम्रो रहेछ । नेपाल सरकार र स्थानीय बसिन्दाको संयुक्त पहलमा अझ उक्त क्षेत्रको प्राकृतिक सम्पदाको उचित सम्भार गर्न सके पर्यटकीय क्षेत्रको प्रमुख केन्दबिन्दु बन्ने छ भुजिकोट !

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Accept !) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top