नमस्ते! हार्दिक स्वागतम्
Live
wb_sunny

Breaking News

नयाँ बर्ष विशेष - भुजिकोट पदयात्रा २०७२

नयाँ बर्ष विशेष - भुजिकोट पदयात्रा २०७२

स्नातक प्रथम वर्षका साथीहरूबीच नयाँ वर्षको अवसरमा भुजिकोट ट्रेकिङको चर्चा सुरु भएको थियो। अन्ततः हामी छुट्टै जोश र उत्साह बोकेर पर्यटकीय नगर भुजिकोटको पदयात्रामा निस्कियौँ। २०७२ साल बैशाख १ गते, नयाँ वर्षको पहिलो दिन—मनमा एक किसिमको अज्ञात, तर रोमाञ्चक आभास थियो। 
पूर्वलाली चढ्दै आइरहेको थियो, आकाश र मेरा विचार दुवै रंगीन र प्रफुल्लित भए। सवा सात बजिसकेको थियो। हितैसी मित्र पल्लबले फोन हानेपछि म झस्किएँ। ओहो! म करिब आठ बजे दुलेगौंडा बजार पुगेर साथीहरूलाई भेट्ने र आफ्नो यात्राको शुभारम्भ गर्ने योजना बनाएको थिएँ।
हतारमा कपडा लगाएँ, पेट पूजा गरें र मनमा उत्साह बोकेर निस्किएँ। मैले आफूलाई आज पनि एक नेपाली हुँ भनेर सावित गरेँ, निर्धारित कारण समयमा चल्न असफल भएँ । 
पाँच मिनेटमै खैरेनिटार चोकमा पुगें। आँखा थाक्यो हेर्दा हेर्दै, मन आत्तियो कुर्दा कुर्दै तर बसको नाम निसाना देखिएन । घडीको सुइले सेकेन्डबाट सुरु गरेको यात्रा दशौं मिनेटमा बदलिसकेको थियो । तर अहँ बस आउने छाँटकाट कतै देखिएन । 
आँखा निकै पर ढुम्म परेको सडकको बिच-बिचमा कुदाएँ । एकचोटि पापी ओठले भगवानको समेत पुकारा गरें । आखिर युगौं लगाएर भएपनि बस आइपुग्यो । मैले हात हल्लाएँ—बस रोकियो।
बसभित्र आख्खा खालको केटाकेटीदेखि च्याउरिएका बुढाबुढी र बालबालिकासम्म थिए। सबै आ-आफ्नो संसारमा मग्न, आफ्ना साथीहरूसँग आफ्ना प्रसंगहरू सुनाइरहेका। कोही राजनितिमा, कोही समाजसेवामा, कोही विगतका सम्झनामा, कोही आफ्ना प्रेम प्रसंगमा।
कालो र धुलाम्यै भएको खोल हालिएको सिटको माथीपट्टी रातो पेन्टिङले लेखिएको थियो—“2×2 महिला सिट, 2×2 अपाङ्ग सिट।” दायाँपट्टी “धुम्रपान निषेध” लेखिएको थियो।
भित्रको सानो संसारमा मान्छेको स्वार्थ र व्यवहार प्रकट थियो। बसको पछाडि थरथरी काँप्दै उभिएको बूढो बाजे थियो। अगाडि सिटमा बसेर समाजसेवाको कुरामा लिप्त युवाहरूको गफ सुन्दै मलाई खित्का छुटिरहेको थियो। 
युवतीहरु आधुनिकताको ट्रेण्ड पछ्याउँदै अर्धपारदर्शी कपडामा आफ्नो सम्वेदनशिल अंगप्रत्यङ्गहरु प्रदर्शन गरेर खित्किँदै छेल्लिँदै कुरा गरिरहेका थिए । यिनेै विसंगतिहरुकेै कारण मलाई शहर त्यति मन पर्दैन । दया-माया, लाज-लज्जा, चित्र-चरित्र छिनमै हराउँछन् यहाँ । दिन दुखी र असहायहरु माथिल्लो दर्जाको मान्छेसंग दिनमै डराउँछन् यहाँ । ट्रक, बस, मोटरसाइकल, जिप, कार—सबै आवतजावत गर्दै थिए कानमा ज्यातुलाझैं हर्न बज्दै।
विहारीहरू कराइरहेका—“आऽऽयो नरिवल, काँक्रा, अंगुर, केरा, स्याउ…” 
खैर! झुटा रैछन् बुढापाकाका ती युक्ति'बोले पिठो पनि बिक्छ' भन्ने । नत्र त यति मिठा फलफूलहरु शरिरमा भएभरको दम लगाउँदै कराउँदा पनि आखिर किन एउटा पनि बिकेन त ती बिहारीका सामानहरु ? मनमा असन्तोषको छालहरू उठे।
बसको ढोकाबाट थरथरी काँप्दै साठी सत्तरी उमेरका बूढो बाजे प्रवेश गरे। कण्डक्टरले आफ्नो मुखमा चपाइरहेको भोला पिच्च भुँइमा थुक्दै भने—“पछाडि गएर बस बाजे।” 
मैले पछाडि फर्किएर हेरें । सिट त परको कुरा खुट्टा घुसाउने ठाउँसम्म थिएनँ । 
मैले उसलाई बोलाउँदै भनें—“ओ दाइ! बूढो बाजेलाई सिट मिलाइदिनु न।”
कण्डक्टरले सटिक उत्तर दियो—“मिलेर बस न।”
मैले भनेँ—“हजुरले मिलाइदिनु न त! बिचरा बाजे यस्तो झ्याकिने बसभित्र कसरी उभिन्छ?”
ऊ झोक्किँदै बोल्यो—“नभएपछि के गर्ने त? तिम्रो सिट देऊ न।”
मलाई पारा तातेर आएको थियो तर आफूलाई सम्हाल्दै जुरुक्क उठेर बाजेलाई आफ्नो सिटमा बसालें । बाजेले मेरो नाम र ठेगाना सोध्नुभयो, मैले सबै बताएँ। उहाँलाई पनि प्रश्नहरु उल्ट्याएँ । उहाँले पनि मलाई खुलेर बताउनुभयो ।
एकछिनमा कण्डक्टर भाडा उठाउँदै आयो । मैले पाँच रुपैयाँ र विद्यार्थी परिचय पत्र उसको हातमा थम्याइदिएँ । उसले कार्ड यताउता पल्ट्याउँदै हेरेर मलाई फिर्ता गर्‍यो अनि बाजेसँग भाडा माग्यो ।
बाजेले आफ्नो झुत्रे आसकोटबाट पाँच-पाँचको नोट निकाल्दै भन्नुभयो“मसँग यतिनै छ बाबु, जहाँसम्म पुग्छ त्यहीं झारिदिनु। म हिँडेर जान्छु।”
कण्डक्टर जङ्गिँदै बोल्यो—"खै लेउ बुढा, पैसा नभएपछि गाडी नचढ्नुनी ।"
मेरो क्रोध सीमाभन्दा बाहिर थियो। मुखले भनेँ—“"ओए खले! तेरो अनुहार जस्तै ब्यवहार नगर त। जाबो दस रुप्या नपुग्दा पनि त्यत्रो हंगमा? खै बाजेको पैसा ले, म दिन्छु भाडा।”
बसभित्र सबै मलाई अर्कै ग्रहबाट आएको मानिसझैँ हेर्दै थिए। बाजेले पाँच-पाँचको नोट मेरो हातमा राखे। मैले पाँच सयको नोट झिकेर उसको हातमा राखिदिएँ । उसलाई बाँकी पैसा फिर्ता गर्न पुगेनँ । उसलाई झ्याँक्ने सुनौलो अवसर पाएको ठानेर मैले पनि निकै थर्काउँदै पैसा फिर्ता मागें । उसले झगडा गर्न तम्सियो तर त्यो परिस्थितिमा सबैजना मेरो पक्षमा भएकोले ऊ अन्ततः चुप लाग्यो।
बाजेले मलाई ट्वाल्ल हेरिरहँदा म मुस्कुराएँ। उहाँ पनि थोते दाँत देखाउँदै खिस्स हाँस्नुभयो। केही समयमा दुलेगौंडा बजार आइपुग्यो। म अलिक तल प्रतिक्षालयमा झर्नुपर्ने थियो। कण्डक्टरले मलाई माथी नै झर्न लगायो। मैले झगडा गर्दै ढोकामा आएर भनेँ—"अलि तल झर्छु म, तैले पाँच रुपैया भाडा छोड्न नसक्ने, मैले चाहीँ पच्चीस मिटरको बाटो किन छोड्ने?"
उसले "जे सुकै गर, अहिले बस रोकिन्नँ क्यारे…" भन्दै भाडा उठाउन पछाडी गयो । 
म ढोकामा उभिएर झर्नुपर्ने चोक पर्खिएर बसेँ । म ओर्लिने ठाउँ आयो तर बस रोकिएन । मैले बसको अलमुनियको ढोकामा कस्सिएर मुर्किले बजाएँ । बस अलि बिस्तारै हिँड्न थाल्यो । 
म बाजेसँग बिदा भएर बसबाट फुत्त उफ्रिएँ । बस पूरै नरोककोले म अलिक पर हुत्तिएँ तर धन्य भगवान! टाउको चाहिँ टेक्न पुगिनँ । 
बस म झरे लगत्तै अलि तल गएर पेसेन्जर हाल्न रोक्कियो । मलाई त्यहिँ गएर खलासीसँग कुस्ती खेल्न मन लागेको थियो । आफू निर्धो भएपनि 'उसले चार मुक्का हान्दा मैले दुई त हान्न सक्छु' भनेँ खालको प्रतिशोधको भावना उब्जियो । तर जब साथीहरू देखें आफूलाई सम्हालें ।

उकाली बाटो चढ्दै [नयाँ बर्ष विशेष - भुजिकोट ट्रेकिङ]
पल्लबले साथीहरूलाई फोन गर्‍यो। कसैले “बाटोमा आउँदैछौं,” भने, कसैले “अहिले जाँदै गर” भनेर। हामी पाँच जना भएर हाइवेको बाटो काट्दै पारिपट्टि चौतारामा पुग्यौं। 
एउटी दिदी काँक्राको थुप्रो पछाडी मुहारभरी आलस्यपन बोलेर बसिराख्नुभएको थियो । मैले त्यो आइमाईलाई देखेपछि गाउँमा बस्ने सदैव अस्थिर रहने आफ्नो आमालाई सम्झिएँ । पारिपट्टी एउटा बाजे डोको बेच्ने पसलमा बसेका थिए। त्यो दृश्य देखेर, गाउँमा यस्तै डोको, नाम्लो, सुपो, चाङ्लो, पगारी र भकारी बुनेर बस्ने बूढो बाबालाई झट्ट सम्झिएँ। पाँच–दस मिनेटपछि हाम्रो अरु साथीहरू—सरिता, सञ्जु, बिपना अनि सानो भाई थपिए।
मन अलिक खल्लो भयो। सँगै यात्रा गरेर नयाँ बर्ष मनाउने भनेर बाचा गरेको साथीहरू कति चाँडै आफ्नो रंग बदलेको—छेपारे जस्तै। मनमनै उनीहरूलाई गाली गर्दै, बाजेको डोको पसलबाट उकालो लाग्यौं। हामी जम्मा नौ जना भयौं। दस पन्ध्र मिनेट उकाली चढेपछि हाम्रो अर्को साथी 'सबिना' थपियो । 
दस–पन्ध्र मिनेट उकालो चढेपछि हाम्रो अर्को साथी, सबिना, थपिइन्। अन्ततः, जम्मा दस जना भयौं। अझ अरु साथीहरू पनि आउँदै थिए, तर पर्खिएर धैर्य गर्दागर्दै, धैर्यताको बाँध टुटेपछि हामी बिस्तारै आफ्ना पाइला अगाडि बढायौं। 
सबैजना चिटिक्क देखिन्थे। नजिक पुग्दा क्रिम र मगमग बसाउने पर्फ्युमको बास्नाले नाक लोभ्याइरहेको थियो। विशेषगरी केटीहरू पुतलीझैँ सजिएका थिए। उनीहरूको सुन्दरताले मेरो आँखा लोभी र मन पापी बनाइरहेको थियो। हाम्रो सर्कलमा कुनै कमी थिएन—गीत गाउनमा ममता, म, सबिना, सरिता र उमा; ठट्टा गर्न, जोक्स भन्न र हँसाउन पल्लब एक्लै पर्याप्त।
गोडाले उकाली लागेको चाल पाइरहेको थियो । जति उकालो चढ्यौं, उति सञ्जु छोडिँदै गयो। जीवनमा पहिलो पटक मलाई आफू मरन्च्याँसे दुब्लो भएकोमा गर्व लाग्यो त्यो पनि उकाली चढ्दाखेरी ।
बाटोमा थकाई मार्दै
पल्लब बेलाबेला लाजले भुतुक्कै हुने र हाँसोले फतक्कै बनाउने कुराहरु गर्‍थ्यो । गाउँका मान्छेहरू कसैले नचिने पनि, टोल–टोलका कुकुरहरूले भुकेर हामीलाई स्वागत गरिरहेका थिए। बादल लागेकोले उकालो चढ्न सजिलो भएको थियो। तर मेरो मन भित्रभित्रै डर बढ्दै थियो—‘यदि बादलले घेरिदिए, हामीले प्रकृतिको सुन्दरता देख्न पाएनौं भने के हुने?’
अगाडि हिँड्ने साथीहरू खरायोको गतिमा हस्याङ–फस्याङ गर्दै अघि बढ्दै, ठाउँ–ठाउँमा फोटो खिच्दै थ्याच्च–थ्याच्च गरेर विश्राम लिँदै थिए। पछाडी हिँड्नेहरू भने खुई… खुई… गर्दै आफ्नो शरिरको बोसो घटाउँदै, पसीना छोड्दै हिँडिरहेका थिए। बस बिहान–बेलुका मात्र हिँड्ने रहेछ। त्यसैले हामी पैदल यात्रा गर्न बाध्य थियौं।
म बेलाबेलामा पछाडी फर्किएर सञ्जुलाई हेर्थे । स्याँऽऽऽ गर्दै, हामीलाई भेट्ने झिनो आशा लिएर आफ्नो साहस बटुल्दै हिँडिरहेकी थिइन्। लगातार उकालो चढ्ने क्रममा हामीले धेरै मान्छेहरूलाई सोध्यौं। सबैले गन्तव्यस्थल पुग्न अझै दुई–तीन घण्टा लाग्ने बताए। बाटोमा निकै घुम्तिहरु थिए। सिङ्गो घर जत्रो ढुङ्गाहरु, पुई-पुँइती उडिरहेको धुलोहरु निकै रहस्यमय लागिरहेको थियो मलाई । 
उकालीलाई सजिलो बनाउन ममताले अन्ताक्षिरी खेल्ने प्रस्ताव ल्याइन्। म नसुनेझैं गरेर उनको पछाडि परिरहेँ। कारण म वरपरको प्रकृतिक सुन्दतामा लठ्ठ भइरहेको थिएँ। तर केही समयपछि पछुताएँ। मेरो त्यस वेवास्ताले उनको मन कति दुखाएको होला भन्ने कुरा मनमनै सोचेँ। पछाडि बसेर मैले शान्त स्वरमा भनेँ—‘आई एम सरी, ममता!’ 
बाटोमा ठाउँ–ठाउँमा धेरै घरहरू, भैंसी गोठहरू पनि देखिन्थे। पल्लबले बाटोमा देखेको भैंसिलाई ‘हाई, भैंसी!’ भनेर सम्बोधन गरेपछि सबैको हाँसोको पारा छुट्यो। म पनि रोकिएर हाँस्न सकिनँ; पेट मिचिमिची गर्दै खिस्स हाँसें। त्यस हाँसोमा थकान, उत्साह र यात्राको रमाइलो सबै मिसिएको अनुभूति भइरहेको थियो।
जंगलको बाटो उकाली चढ्दै
लगातार दुइ-तीन घण्टाको उकाली लागेपछि बल्ल भुजिकोटको टावर यानकी भ्यू पोइन्ट देखियो । सबको हातको चोर औंला र आँखा उतैतिर तेर्सिदै मुखबाट अनायसै आवजहरु निस्कियो—"उ… उ… त्यहाँ रैछ भुजिकोटको टावर ।" 
मन चङ्गा बनेर उड्दै गएर त्यो भ्यु पोइन्टमा बसिसकेको थियो। तर तन भने बेँसीमै थियो । कसैले एकछिन बसौं भनेको थियो, तर सबैको आँखामा माथि पुग्ने उत्साह झल्किरहेको थियो, त्यसैले हामी तैछाड–मैछाड गरेर उकालो चढ्न लाग्यौं। मोटरको बाटो हिँड्दा करिब डेढ घण्टा लाग्थ्यो। त्यसैले हामी बनको बाटो समातेर, ढुङ्गा–ढुङ्गामा रक क्लाइम्बिङ जस्तै चढ्दै अघि बढ्यौं। 
बनको बिचमा सबैले आ–आफ्नो मोबाइल निकालेर फोटो खिच्न थाले। म पनि के कम, आफ्नो स्न्याप खिच्दै प्रकृतिको सुन्दरता फोनको क्यामेरामा कैद गरें। दस–पन्ध्र मिनेटसम्म पछाडी छुटेका साथीहरूलाई पर्ख्यौं तर केही हालखबर नआएपछि यात्रा अघि बढाउने निर्णय गर्यौं। बेलाबेला ममताले गाउने गीत र पल्लबको फन्नी कुराले यात्रालाई अझ रोमाञ्चक बनाइरहेको थियो।
तीन सेकेन्ड, तीन मिनेट र पूरा तीन घण्टा काटेर हामी भुजिकोट पुग्यौं। शान्त वातावरण, स्वच्छ हावा, मनमोहक प्रकृति—आहा! यसपालिको नयाँ वर्ष साँच्चिकै अविस्मरणीय रहने कुरामा म विश्वस्त भएँ। सबै जना तीन तला माथि रहेको भ्यु पोइन्टमा चढेर वरपर नियालिरहेका थिए। एका पट्टि गाउँ, अर्का पट्टि विद्यालय, चारैतिर बनले घेरिएको ठाउँ। आहा! एकचोटि आफ्नो गाउँ सम्झिएँ। सबैजना मिलेर एउटा समूहको फोटो खिच्यौं र आ–आफ्नै किसिमले धेरै फोटो खिच्यौं।
वैशाखको पहिलो दिन, बादलको घुम्टो ओडेर हामीलाई नियालिरहेको घाम, जताततै सेता फूलिरहेको सालको फूल, सेता–सेता विशाल चट्टानहरू अनि मन लोभ्याउने गाउँका दृश्यहरू। त्यस्तै मन्दिर वरपर राताराति लालिगुँरासको फूल बोकेर उभिएका सुन्दरी कन्याहरू। वरिपरि लालिगुँरासका बोटहरू फूल बिना ओइलाइरहेका थिए—नितान्त मेरो जीवनजस्तै उराठ लाग्दो र अर्थहिन तरिकाले। सायद फूल त फूलेकै हुँदो हो तर सुकेर झरेको थियो। अथवा, कसैले चुँडिदिएको पनि होला। तैपनि ती बोटहरू अझै कति सुखि देखिन्थे। मैले जीवन जिउने प्रेरणा पाएँ ती गुँरासका बोटहरूबाट। प्रकृति भनेको के हो यहाँ आएर बुझें अनि प्रकृतिको सुन्दर काखको अनुभव कस्तो हुन्छ महसुस गरेँ । तर कसरी प्रस्तुत गरुँ छछल्किएका मेरो भावनाहरु ! मोबाइल झिकेर नोटप्याट खोलेर रोमान्टिक मनमा सिर्जित एउटा गीत लेखें:
नयाँ बर्ष संधैझेैँ आउँछ, फेरि गइहाल्छ पनि,
सोंच्दैछु यो साल अलि भिन्न भइहाल्छ भनि ।
मरेर गलेको लासझेैँ कुरुप मुहार मेरो भए पनि,
तिम्रो लागि म छु नि भनी साथ दिइकन रुनी,
होला र संसारमा मेरो ? आशेैमा गइहाल्छ जवानी ।
***
जीवन किन झिनो आशमा अल्झिने गर्छ ?
पाइला अघि सार्छु, धड्कन उनकै पछि सर्छ ।
मेरो व्यथा उनले पनि सायद थाहा पाउनु पर्छ,
ओँठ र दन्तले लज्जा मिश्रित जब हाँसो छर्छ,
पापी मन ढलपल हुँदै धर्ती-आकाश उड्ने गर्छ ।
म लेख्दै थिएँ, आफ्नै विचारमा डुबेको, अक्षरहरूले मेरो मनको भाव समेटिरहेको थिए। तर पछि छोडिएका साथीहरू बल्ल–बल्ल आइपुग्दा, मैले लेखन छोडेँ र उनीहरूतर्फ कदम बढाएँ। देवी, शिव, सन्तोष र थप दुई जना क्लामेट—तर नामसँग अपरिचित साथीहरू थिए। मैले आफ्नो पुराना साथीहरू खोजें; तर उनीहरू सबै फोटो खिच्दै, खित्किँदै, छेल्लिँदै तलको वेसीमा रहेको दोकानसम्म पुगिसकेका थिए। मलाई एक्लै छोडेर।
त्यो क्षणमा मलाई “साथी” भन्ने शब्दमाथि व्यङ्ग्य गर्न मन लाग्यो। “साथी”—कति मीठो नाम! आहा, सुनिरहँदा जस्तो आत्मीयता, साथ र सहयात्रा। तर खैर, जीवनमा धेरै साथी बनाएँ, चिनेँ पनि। तर थाहा पाएँ, त्यो साथ क्षणिक रहेछ—देखावटी मात्र। आफ्नो इच्छा, चाहना, आवश्यकता भन्दा ठूलो साथी हुँदैन। 
त्यसैले, जब भोक लाग्यो, उनीहरूले मलाई एक्लै छोडे। तर दोष तिनीहरूको मात्र थिएन; मेरो पनि थियो। मैले आफ्नो भूल स्विकार्नुपर्छ। किनकि म पनि त प्रकृतिको न्यानो काखमा ती सबै साथीहरूलाई भुलेर एक्लै रमाइरहेको थिएँ—वास्तविकता भन्दा धेरै माथि, आफ्नै संसारमा। 
हुन त उनीहरूले मलाई पछाडि छोड्दा मेरो केहीँ बितेको थिएन । म पछाडी छोडिँदा उनीहरूले केही जितेको पनि थिएन । केवल एक पलको सहयात्रा छुटेको थियो, जसले मेरो साथीको साथ खोजिरहने मन क्षणभरको लागि टुटेको थियो।
भ्यू पोइन्टमा खिचेको मेरो फोटो
भुजिकोट बागेश्वरी मन्दिर
म भ्यु पोइन्टबाट तल उत्रिएँ। गगनचुम्बी महलको ठिक अगाडि बागेश्वरी मन्दिर थियो। म मन्दिरको सिँगारमै पुगेर प्राथना गर्दै वागेश्वरी मातासँग एउटा वर मागें—
“माता! जीवनमा मैले कयौं देवी–देवतासँग कयौं वर मागें, तर कहिल्यै पनि सन्तुष्टि महसुस भएन। यदि तिमी साँच्चिकै महान छौ भने, मेरो भित्रको महत्वाकांक्षी भावना र लोभलाई सँधैका लागि नाश गरिदेऊ!” 
आँखा खोलेर एकचोटि नमस्कार गर्दै ढोग गरेपछि बाहिर निस्कँदै गेटबाट मन्दिरको एउटा फोटो खिचें। डायरी लिएर हिँड्ने बानी डिजिटल युगसँगै परिवर्तन भइसकेको थियो। अब मोबाइल नै मेरो डायरी बनेको थियो—बिना पाना, बिना कलम र बिना मसिको डिजिटल युगको इलेक्ट्रोनिक डायरी।
मैले अझ केही लेख्न खोजें तर सधैं साथमै रहने मोबाइलले पनि साथ दिएन। मेरो भावनालाई कुल्चिँदै उसले ‘गुड बाई’ भनेर चार्ज सकिएर बन्द भयो। अन्तिममा पछि आएका साथीहरूसँग म सुरुका साथीहरूलाई पछ्याउँदै ओराली लागें।
जीन्दगीमा कयौं यात्रा गरें । उकाली ओराली भञ्ज्याङ चौतारी कयौं नागवेली घुम्तीहरु पार गरेर आएँ । कयौं पलहरु जीन्दगीको रंगमञ्चसँगै हराएर गए, कयौं पलहरु जीवन जिउने आधार बने । तिनै उदासी जीवनको एउटा रोमाञ्चपूर्ण यात्रा बन्यो भुजिकोटको यात्रा । 
तनहुँको शुक्लागण्डकी नगरपालिका भित्र अवस्थित भुजिकोट साँच्चै सोचेभन्दा कयौं गुणा सुन्दर रहेछ। नेपाल सरकार र स्थानीय बासिन्दाको संयुक्त पहलमा यदि प्राकृतिक सम्पदाको उचित संरक्षण र संवर्द्धन गर्न सकियो भने, यो क्षेत्र पर्यटकीय केन्द्रबिन्दु बन्नेछ—भुजिकोट!
यसरी भुजिकोटको यात्रा केवल एक स्थानको भ्रमण मात्र रहेन, बरु आत्माको खोज, भावनाको परीक्षण र जीवनको यथार्थसँग साक्षात्कार गर्ने एउटा अवसर बन्यो। साथीहरूको साथ र बिछोड, प्रकृतिको न्यानो स्पर्श र समयसँगको दौड, सबैले मलाई एउटा पाठ सिकाए—जीवन भनेको क्षणिक सहयात्रा हो, जसलाई हामीले आफ्नो दृष्टि र सोचले अर्थ दिन्छौं। भुजिकोट मेरो लागि केवल पर्यटनस्थल रहेन, बरु जीवनलाई नयाँ आँखाले हेर्ने प्रेरणा बनेर हृदयमा अमिट रूपमा अङ्कित रह्यो।

Tags

Newsletter Signup

Sed ut perspiciatis unde omnis iste natus error sit voluptatem accusantium doloremque.

Post a Comment