नमस्ते! हार्दिक स्वागतम्
Live
wb_sunny

Breaking News

प्रणय दिवसको असिम मायाको सागर केवल तिमीलाई ल !

प्रणय दिवसको असिम मायाको सागर केवल तिमीलाई ल !

प्रिय हृदयस्पर्शी
मायाकी मूर्ति, स्वर्णिम जीवनको आधार,
प्रणय दिवसको शुभकामना सहित असिम मायाको सागर केवल तिमीलाई ल…

तिम्रो निश्चल प्रेम, चञ्चलता, बौद्धिक रुप, बोलीचाली, भाववङ्गी र आचारणले नै तिम्रो शुभेच्छु एक प्रेमी बन्न पुगेँ । वास्तवमा त्यो स्वर्णिम विगत तिम्रो र मेरो वशमा हुँदो हो त सुचना सञ्चार प्रविधिको यो युगमा पनि नाथे भर्चुअल पत्रको साहारा लिनु जरुरी थिएन । तर हेर न ! समयको खेल भनौं या भाग्यको झेल, हिजको दिनहरुमा एक अर्का बिना एकपल पनि बाँच्न नसक्ने दुहाई दिने हामी आज एकाएक सिकारीले दज्काएर गुमनाम भएको चखेवाको जोडी जस्तै भएका छौं ।
खै कसरी सम्बोधन गरुँ म तिमीलाई ! सम्बन्धकै खडेरी त पक्कै परेको थिएनँ तर तिम्रा विवशता र चाहनाको अगाडी मेरो इच्छा र आकांक्षाहरु लाछिएको डाली सरह भए - नत कहिल्यै घाउको खत भरियो, न त जीवन हरियाली बन्न सक्यो । कति सजिलै भन्न सक्यौ है तिमीले मलाई 'अब हजुरले बिहे गर्नु' भनेर । जबकी मैले यहीँ कुरा आफू तिम्रो योग्य नठानी दर्जनौं लमीहरुको लस्कर लागिरहेको त्यो कल्कलाउँदो जवानीमा तिमीलाई भन्दाखेरी मलाई जवाफ दिएका थियौ - "प्रेमीहरुले प्रेमीकालाई घाँटि थिचेर मारुन तर अरुसंग बिहे गर नभनुन ।"
तर, हेर न प्रिय ! यो समाजको सोंच र व्यवस्था - विहे नगर्नेहरुलाई त केही न केहीँ नैतिक वा चारित्रिक प्रहार गरिरहन्छ । अझ पुरुषार्थ र वंश निरन्तरताको नाममा प्रश्न चिन्ह समेत खडा गरिरहन्छ । आजभोली लाग्दैछ तिमी पनि त्यहीँ समाजको कुविचारबाट आक्रान्त छौ । त्यसैले त मलाई विहे गर्नु भनेर हद गर्दैछ्यौ । तर तिमीलाई थाहा छ ? कथमकदाचित यस्तो भैहाले पनि डर छ मलाई, असल प्रेमी त म भाग्यको विधानले बन्न सकिनँ तर कतै असल श्रीमान पनि बन्न नसक्ने त हैन भनेर । किनकी, कुनै पनि श्रीमतीले चाहन्नन कि आफ्नो श्रीमान पहिला कसैको प्रेममा परिसकेको होस् भलै उनीहरु बिच त्यस्तो केही अनैतिक सम्बन्ध नभएको होस् । अर्को सम्बन्ध विस्तार गरौँ भने पनि खै फेरि को पो आउला मेरो जीवनमा तिमी सहितको तितो विगतलाई ग्रहण गर्न सक्ने ।
मेडिकल साइन्सको पनि कहाँ विश्वास रह्यो र ? यसले त बाहिर पूर्ण तन्दुरुस्त र निरोगी देखिने अनि हजारौं सपना र कर्महरु पूरा गर्नुपर्ने तिमीलाई कहिल्यै निको नहुने ब्रेन ट्युमर रोगको संज्ञा भिराएर ६ महिनाको अल्प आयु बताएको थियो । तर, तिम्रो रोग भन्दा पनि गुनासो मेरो तिमीसंग हो । आज ६ वर्ष पुगिसक्दा पनि तिमीले खुलेर प्रेमिल जीवन जीउन खोजेनौ । यसो भन्दै गर्दा तिमीले प्रेममा कमी ल्यायौ भन्न खोजेको कदापि नसोच । बस् यहीँ त हो मेरो जीउने आधार । तर, किन गर्छौ यस्तो सादा व्यवहार ? तिम्रो आखाको आँशु पुछ्ने हक किन दिँदैनौ मलाई ? के तिमी आफू मात्र महान प्रेमीका बन्न खोजेकी हौ त ? आफ्नो मृत्युलाई समेत पर धकेल्न सक्ने तिमी मेरो नजिक भएन किन प्रेम गर्न सक्दैनौ ? किन जति बाँचिन्छ दुःख सुख बाँडेर बाचिन्छ भनेर निर्णय लिन सक्दैनौ ?
आत्मीय साथीभाइहरुसंग कहिलेकाहीँ कुरा हुँदा सबले सोध्ने गर्छन् - 'कस्ती छे ऊनी ?, कता के गर्दै छे ?, सम्पर्कमा छौ ?, भेट्ने गरेका छौ ?' तर मेरो विवशता भनौं या लाचारीपन मुटुमाथी ढुङ्गा राखि ओठमा कृतिम मुस्कान मुस्कुराएर जवाफ दिने गर्छु - सबै ठिक छ । तर, कसम प्रिय यस्ता प्रश्नहरुले कयौं रातको निद हराम गराउने गरेको छु, अनायसै एकान्तमा भक्कानिएर रुने गरेको छु । उदेक लागेर आउँछ कहिलेकाहीँ आफ्नै जीन्दगीसंग । जीवनमा मैले कुनै नसा छोएको छैन र छुने पनि छैन तर त्यो भन्दा ठूलो नसा तिमी सावित भयौ । म यतिसम्म अभागी प्रेमी भएँ कि तिमीलाई आफ्नो आफन्ती र साथीभाइहरु बिच यिनी हुन मेरो प्राणप्यारी भनेर देखाउन समेत नसिवले दिएनँ ।
यसो त मैले तिम्रो प्रेमको अग्नी परिक्षा लिने दुष्साहस पनि नगरेको त कहाँ हो र । जब म सामाजिक सञ्जाल र मोबाइलहरुमा तिमीलाई ताल्चा मारेर सम्पर्कविहीन भएँ तब मलाई खोज्दै आएका थियौ यति लामो सफर यत गर्दै । अनपट्यार शैलिमा तिमी मेरो सामिप्यमा आएर पिठ्युँमा पछाडीबाट अंगालेर कस्सिँदै सुँक्सुकाएपछि खुसिले भाव विभोर हुँदै तिमीभन्दा वेशी भक्कानिएको थिएँ म त्यो क्षण, जुन मेरो मानस्पटलमा अझै ताजै रहेका छन् ।
अरे पगली, मेरो जीवनको सबैभन्दा ठूलो कमजोरी नै तिम्रो आँखाको आँशु हो । जब तिमीले आँखा टिल्पिलाउँछौ नि, मेरो हर कठोर निर्णयहरु यसैयसै अघि बढ्न सक्दैनन् । हुन त तिमी बाँकी जीवनहरु समाज सेवामा व्यतीत गर्छु भनेर भुगोलले ठगेका विकट ठाउँहरु गएर आफ्नो पसिना बगाएर कमाएको श्रीसम्पती दिन दुःखीहरुलाई दान गरेर र एनजीओमा आवद्व भएर रमाइरहेको अभिनय गरिरहेका छौ तर संसारमा कुन सजीव प्राणी प्रेमविना खुसी हुन सकेको छ र ? यदि कोही खुसी भएको दम्भ देखाउँछ भने पनि त्यो केवल ढोंग मात्र हो । मलाई विश्वास छ - तिमीले जे जस्तो कदम चालिरहेका छौ, यसले जगतको राम्रै हित भएको थियो, भइरहेको छ र भविष्यमा पनि हुनेनै छ । भलै तिम्रो र मेरो सम्बन्धहरु दिपशिखा जस्तो नै किन नहोउन । यदि कसैको हित हुन्छ भने ठिकै छ म आँखा चिम्लेर आफ्नो प्रेमको बलिदान पनि दिन तयार छु । आशा छ तिमीले मेरो यो पत्रलाई एक अतृप्त र आकुल प्रेमीको तिर्खारुपी बचन सम्झेर स्विकार्ने छौ ।

उहीँ तिम्रो कालान्तर प्रेमी
बिकास गुरुङ 'उदासी'

Tags

Newsletter Signup

Sed ut perspiciatis unde omnis iste natus error sit voluptatem accusantium doloremque.

Post a Comment