नमस्ते! हार्दिक स्वागतम्
Live
wb_sunny

Breaking News

जय बौद्धिकताको, पराजय मानवताको

जय बौद्धिकताको, पराजय मानवताको

२०८० वैशाख १७ गते आइतबार पोखराबाट स्याङ्जा फर्किँदै गर्दा बाटोमा भयानक तरिकाले ट्याङ्कर पल्टिएको देखेँ । छेउतिरको ढिस्काहरु पनि नराम्रोसंग भत्किएको थियो । सडक छेउमा थुप्रै रमितेहरु थिए । चन्चले मेरो मनले घटनाको कारण नबुझी यसै अगाडी बढ्न मानिनँ । स्कुटर एकछिन रोकेर एउटा फोटो खिचेँ अनि छेउका रमितेहरुसंग दुर्घघटनाको कारण सोधेँ । मानवीय क्षती नभएपनि ठूलो भौतिक क्षती भएको रहेछ । ट्याङ्कर र ट्रकबिच सवारी नियमको पालना नहुँदा तालमेलको अभावमा त्यो दुर्घटना घट्न पुगेको निक्र्योल भयो । बिजुलीको पोल केही गज पर मात्र थियो । यदि हाइ भोल्टेज भएको त्यो बिजुलीको पोलमा ट्रकले ठक्कर खाएको भए, कोहीँ बच्ने सम्भावना नै थिएनँ । 
एकछिन दुर्घटनालाई नजिकबाट नियालेर स्कुटर स्टार्ट गरेर हिँड्नै खोजेको थिएँ । यतिकैमा एउटा अधबैसे मान्छे आएर भन्यो - "भाई, म पोखरा जान भनेर हिँडेको । ठेकदारले काममा बोलाएर आएको तर पैसा नभएर बिच बाटोमा अलपत्र परेँ । गाडी भाडा छैन सय पचास भए दिनुस् न ।"
मुखबाट ठसठस रक्सी गन्हाएको अनि यसो हुलिया नियाल्दा मलाई उसको बिश्वास लागेनँ । तैपनि उसको याचनाको प्रतिउत्तरमा भनेँ - "दाइ, यहाँबाट पोखराको भाडा त दुइसय बढि छ क्याहो अनि सय पचासमा कस्ले लगिदिन्छ तपाईंलाई ?"
उसले टाउको कन्याउँदै भन्यो - "पानसय ल्याउनुस् न त भाइ ।"
मैले भनेँ - "सरी दाइ ! म पनि आफूलाई ठिक्क अड्कलेर हिँडेको हो । अरु पर्सनल खर्च गर्नुपर्ने पनि थुप्रै छ । मसंग तपाईंलाई दिन त्यति पैसा छैन है ।"
उसले अक्मकिँदै भन्यो - "सय पचास मात्र भएपनि दिनुस् न भाइ । बाँकी म अरुसंग माग्छु ।"
अब त झन् मलाई उसको फिटिक्कै विश्वास लागेनँ । त्यसैले 'सरी दाइ मसंग पैसा छैन' भनेर स्कुटर अगाडी बढाएँ । तर, ब्याक ग्लासबाट हेर्दा उसको टिसलाग्दा अनुहार देखेपछि मनले अघि बढ्न मान्दै मानिनँ । रक्सी खाने सबै ठग पनि त हुँदैनन् । रफ्तार लिनै खोजेको स्कुटरको ब्रेक लगाएर रोक्दै मैले उसलाई नजिक बोलाएँ । 
यतिकैमा सुनौली-पोखराको बस आयो । मैले त्यो बसलाई रोकेर कन्डक्टरसंग उसको समस्याको बेलिबिस्तार आफैले लगाइदिँदै 'पोखरासम्म लगिदिनुस् है' भनेर पनि भाडा मिलाइदिएँ । त्यो मान्छेको अनुहारमा मेरो सहयोगले कुनै चमक थपेनँ । मलाई कताकता 'मैले गलत त गरिराछैन' भनेर सोँच पनि नआएको हैन । जेसुकै होस्, चार पाँच सय हराएर पनि जान्छ भन्ठानेर 'ल दाइ यो तपाईंले नास्ता खानुस्' भनेर हातमा सय रुप्या हालिदिएपछि ऊ फिस्स हाँस्दै बस चढ्यो । म स्कुटर साइड लगाएर बसलाई निकै परसम्म हेरिरहेँ । सोँच्दै थिएँ, आज एउटा पवित्र काम भयो । मनमा अनौठो चैन मिलिरहेको थियो । तर अपसोँच त्यो मान्छे एकछिनपछि बसबाट ओर्लियो र कन्डक्टरसंग झगडा गर्न थाल्यो । कन्डक्टरले बाटैभरी छरिने गरि पैसा फ्याँकिदियो । ऊ सबै पैसा बटुलेर सिधै हाइवे मुनितिर भासियो । म परैबाट हेरेको हेर्‍यै भएँ ।
आफैसंग रिस उठ्न थाल्यो । नराम्ररी मूर्गा बनायो ठगले । एक मनले त पछिपछि गएर उसको सेखि झारुँ झैं लाग्यो । तर, घडी हेर्दा चार बज्न लागिसकेको थियो अनि बैंक बन्द हुनु अगाडी वालिङ जो पुग्नु थियो ।
बाटोमा एक्लै निकैबेर एक्लै क्रोधित हुँदै हिँडिरहेँ तर अशान्त मनलाई धेरैबेर पछि वैज्ञानिक सर आइज्याक न्युटनको भनाइ सम्झिएर शान्त पारेँ । सायद उहाँ सहि भन्नुहुन्थ्यो - "सरकारी जागिरे बनेर ढिमाग भुत्ते बनाउनुभन्दा बाटोमा ढुक्ने डाँकु बन्नू, कमसेकम आफ्नो दिमागको प्रचुर प्रयोग हुन्छ ।" हो, उसले आफ्नो दिमागको सही सदुपयोग गर्‍यो, चाहे त्यो गलत काम गर्नकै लागि किन नहोस् । जय भयो बौद्धिकताको, पराजय भयो मानवताको ।

Tags

Newsletter Signup

Sed ut perspiciatis unde omnis iste natus error sit voluptatem accusantium doloremque.

Post a Comment