अल्बर्ट आइन्स्टाइनले बालपनको आफ्नो मिल्ने साथीलाई दिएको विरोधाभासपूर्ण सुझाव एउटा किताबमा पढेको थिएँ - "प्रशासनको कठोर नियन्त्रणमा रही आफ्नो दिमाग खिया लाग्ने बनाउनलाई सरकारी जागिरे बन्नुभन्दा स्वविवेकले निर्णय लिने समुद्री डाँका बनेर हिड साथी । डाँका भयौ भने कमसेकम तिम्रो आफ्नो दिमाग त स्वतन्त्र रुपमा चल्छ । नत्र तिमी 'मान्छे' र 'कटपुलती' मा केही फरक छैन ।" (alert-success)
म वास्तबमै प्रभावित भएको थिएँ आइन्सटाइनमो त्यो भनाइबाट । त्यसैले त आफ्नो छुट्टै पहिचान खुद बनाउन फरक फरक परिकारका तरकारीहरुको नुन चाखेझैँ धेरै भन्दा धेरै करियरको क्षेत्रहरु चहार्दै हिँडिरहेको थिएँ । रंगमञ्चरुपी कलादेखि पत्रकारिता, भाषा अनुवादक देखि ज्योतिष परामर्शदाता, कम्प्युटर ग्राफिक्स, आइटी सहजकर्ता देखि अनलाइन ब्लगर र फ्रिल्यान्सरसम्म कुन क्षेत्रमा हात हालिनँ होला मैले । भलै जीवनस्तर नउकासिएपनी थोर बहुत कामबाट सन्तुष्ट थिएँ, केही इष्ट मित्रहरू कमाएकै थिएँ । तर, बर्षौं समय लगाएरै भएपनि आखिरमा दिमागमा चेत आएरै छोड्यो कि 'म आइन्सटाइन जस्तो फराकिलो सोंच भएको मानिसहरुको जमातमा छैन । म त छु केवल 'प' कै पछाडी कुद्ने यानकि 'पद', 'पैसा', 'पत्नी', 'पुत्र' र अन्त्यमा तिनै चिजका लागि बुद्धि विवेक 'पतन' गर्ने मान्छेहरुको भिडमा । वास्तवमा म पनि तिनै समाजको एक निस्सा हुँ । जहाँ कन्याको निम्ति विवाहको प्रस्ताव आए समाजले लमीसंग केटाको बारेमा सोध्दा 'सरकारी जागिर छ कि छैन' भनेर वार्तालापको प्रारम्भ गर्ने गरिन्छ । यस अर्थमा सरकारी नुन खाने प्रजातिमा परिणत भई मैले आफ्नो काँचुली फेरेको छु ती तमाम जमातको नजरमा । तर यी सबै कुरा दुनियाँको आँखामा छारो हाल्ने अनि मन बुझाउने बाटो र आफूलाई महान सावित गर्न खोज्ने ढोंग मात्र न हो । कामबाट प्रतिष्ठा नै मेरो जीवनको आदर्शको मुल मन्त्र थियो, सधैब रहिरहनेछ । घर परिवार, आफन्त, आत्मिय मित्रहरू, आफ्नो गुरुहरु एवं सहकर्मीहरु सबैजना खुसी थिए मेरो सानै भएपनि खास उपलब्धि देखेर । विगत धेरैदिनदेखि योजना बनाइरहेपनि यो खुसीको रौनक विद्यालय परिवारसंग मनाउँन वैशाख २७ गते शनिबारको दिन पर्यटकीय गाउँ 'पितलेक' जाने भनि साइत जुर्यो । म मात्र कहाँ हो र ? नयाँ पदस्थापन हुनुभएको सहकर्मी शिक्षक साथीहरू डि.आर. भट्टाराई 'आयुश' र कोपिला रोका के.सी. पनि समावेस हुनुहुन्थ्यो । यस अर्थमा कार्यक्रम हामी तीनजनाको संयुक्त आयोजनामा सञ्चालन हुँदै थियो ।
शनिबार विहान ५ बजेदेखि नै म एउटा झोला र हेल्मेट माउट लिएर पाठा तान्तै मूल बाटोमा निस्किएर स्कुलबाट आउने जीपको प्रतीक्षा गरेर बसिरहेँ । निकैबेर पर्खिँदा पनि जीप नआएपछि जिसी सरलाई फोन गरेँ । उहाँले साथीहरू जम्मा भएर बसिरहेको तर जीप आउन ढिलो भएकोले स्कुलमै भएको बताउनुभयो । म रमाइलो पलहरुलाई आफ्नो मोबाइलमा भिडियो बनाई कैद गर्ने मनसायले हेल्मेट माउटलाई जोडेर भ्लग भिडियो खिच्नको लागि तयारी अवस्थामा राखेँ । जब जीपको आवज आयो, मेरो खुसीको वास्तविक उन्माद पनि चढेर आयो । मैले पाठालाई जीपमा हालेँ अनि जीपको पछाडी केही नबोली साइलेन्ट भिडियो भ्लग बनाउँदै हिँडिरहेँ । म भ्लग बनाउँदा केही बोलिनँ तर मेरो मन भने खोला नाला, पाखा पखेरा थर्किने गरि चिच्याइरह्यो, बेसुरे पारामा दुनियाको पर्वाह नगरि एक्लै बर्बराइरह्यो । निकै दिनदेखिको खडेरीले गर्दा बाटोको धुलोहरु मुस्लोको मुस्लै उडिरहेका थिए । कच्ची बाटो त्यहीँ पनि चापाकोट नगरपालिका र वालिङ नगरपालिकाको सिमानामा परेकाले हेलामा रहेको बाटो राम्रो हुने त कुरा नै थिएनँ । मेरो स्कुटर र अगाडी जीप ट्याक्टर जस्तै गरि फुत्रुक फुत्रुक उफ्रदैँ हिँडिरहेका थिए । मलाई उकालो चढने क्रममा कमल ड्राइभरले ओभरटेक गरेर धुलोबाट जोगिन नलगाउनुभएको होइनँ । तर आफ्नो संचित खुसी तिनै धुलो माटोमा रंगिएर मनाउनु थियो मलाई । जीप दुम्सिखोला, हर्सेडाँडा, मिनाङकोट हुँदै कच्ची बाटो उकाली चढिरह्यो । म जीपले उडाएको धुलो आफ्नो शरिरभरी थाप्दै जीपलाई पछ्याइरहेँ । लगभग एक डेढ घण्टामा हामी हाम्रो गन्तव्य स्थल 'पित्लेक' पुग्यौं ।
पित्लेक पुग्नसाथ सबैजना मेरो कपडामा लागेको धुलो मैलो देखेर जिब्रो टोक्दै थिए । म भने जीवनकै रहस्यमय साहसिक र रोमाञ्चक यात्राको अनुभव गर्न पाएकोमा दंग थिएँ । वि.सं. २०६८ सालमा कक्षा १० का साथीहरूसंग बनभोज गएको त्यो ठाउँले साँच्चिकै आफ्नो स्वरुप परिवर्तन गरेको रहेछ । एकचोटि ती पुराना साथीहरूलाई सम्झेर भाव विह्वल भएँ । उट्पट्याङ गर्ने साथीहरूको चकचक, थपडी बजाउँदै गाएका रमाइलो दोहोरीहरु, कहिल्यै प्रस्फुटन हुन नसकेका किशोरवस्थाका त्यो आकर्षण विकर्षणहरु, पिकनिकमा दुईचोटी नुन हालेर मासु मुखभित्र राख्नै नसक्ने गरि नुनिलो बनाएकाले मासु धोएर खानुपर्ने अवस्था सिर्जना गराइदिएको साथीहरु मिलन र हिमाललाई झलझली समझिएँ । हेम्लेट उतारेर तल पाँडेथोक गाउँ र मास्तिरको कटेजतिर आँखा डुलाएँ । दशैं कालरात्रीको दिन दुई घण्टाको बाटो पैदल हिँडेर नाच हेर्न आएको ती चन्चले उमेर, मोबाइल, एसएमएस र मिगबाट साथी बनि भेटेर जिस्किएका ती बेखबर मित्रहरु सबैलाई एकएक गरि सम्झिएँ । आहा ! कति रमाइलो थियो त्यो समय । म निकै भावुक बनेको रहेछु ।
मोबाइलमा हेडसरको फोन आएपछि म झसंग भएँ । फोन कल ब्याक गर्दा फोन नलागेपछि मैले जीपबाट सामान झारेर प्रतिक्षालय भित्र लगेँ । त्यसपछि धुलाम्यै भएको ज्याकेट खोलेर नियालेँ । निकै प्यारो लाग्यो मलाई पुरानो यादहरु जोडिएको यो ठाउँको धुलो माटोहरु पनि । तर, एकछिनपछि पाइन्टमा लागेको धुलोहरु रुमालले टक्टकाएर ज्याकेटलाई चाहीँ पानीमा चोबलेर कम्पाउण्डिङको बारमा सुकाएँ । ती धमिलो पानी पनि मलाई निकै आत्मिय लाग्यो । अलिक पर कालिका मन्दिरको कम्पाउण्डिङमा फूलेर मुस्कान छोडेरहेको फूलहरुको जरामा मैले त्यो धमिलो पानीलाई खन्याएर आफ्नो पूराना यादहरुलाई तिलान्जली दिएँ । त्यसपछि ती सुन्दर फूलहरुको तस्बिरहरूलाई मोबाइको क्यामेरामा कैद गरेँ । लगतै संगै नियुक्ति भएको आयुस सरलाई फोन गरेँ । उहाँले मिर्दिमै रहेको कुरा बताउनुभयो ।
पानीको अभाव देखेपछि पशुपति सरको सुझाव बमोजिम पिकनिक स्पट प्रमुख तिलक गुरुङलाई फोन गरेँ । उहाँले ढिलै गरेर फोन उठाउनुभयो । मैले गुरुङ भाषामा 'हामी पिकनिकको लागि घुर्लिचौर स्कुलबाट आएको मामा' भनेर आफूलाई परिचित गराएँ । उहाँले 'आफू मन्दिर गएको र फर्किँदै गरेको' अभिव्यक्ती दिनुभयो । पाँच दस मिनेटमा उहाँ आइपुग्नुभयो र हामीलाई सहजीकरण गरिदिनुभयो ।
त्यसपछि छेउमै रहेको गुरुङ (तमू) जाती अर्थात बोन धर्मालम्बीको आस्थाको मन्दिर "क्होइबो धिं" को अवलोकन गरेँ । आफ्नो परम्परा र संस्कृतिलाई जोगाएर यस्ता संरचनाहरु निर्माण गरिनाले नयाँ पिँढीलाई जातीय पहिचानप्रति सचेत हुन तथा आन्तरिक वा बाह्य पर्यटक आकर्षित गर्न ठूलो टेवा मिल्छ । बोन धर्म भन्नाले साधारण भाषामा प्रकृतीको पुजा गर्ने धर्म हो । अन्य धर्मले मानव निर्मित मूर्तिलाई भगवान मानी पुजा गरेझैँ यस धर्ममा प्रकृतिलाई नै देबता मानेर पुज्नेे चलन हुन्छ । बौद्ध धर्मसँग झण्डै मिल्न खोज्ने यो धर्म बौद्ध धर्मको प्रचार प्रसार बढेपछि ७ औ शताब्दीबाट कमी आएको इतिहास छ । बौद्ध धर्मले अहिंसाको पाठ सिकाउँँछ भने बोन धर्मले हिंसा गर्नुमा समर्थन गर्छन् । बोन धर्मको संंस्कारमा पुजापाठ गर्दा पशुपंक्षीलाई बलि दिने प्रचलन हुन्छ तर बौद्ध धर्मले हिंसालाई बिरोध गर्दछ । बोन धर्म छ औं शताब्दी तिर तिब्बतमा मानिने गरेको थियो । वोँन धर्म अन्तर्गत खोलानाला, पोखरी, रुख, पहाड, डाँडाकाँडा, भिरपखेरो, बन–जङ्गल, ठुल्ठुला चट्टान, घाम–जुन, तारा, आकाश, भूमि, देउराली आदिलाई भोग–चलन गरी पूजा गर्ने चलन हुन्छ । आफ्नो जातीय पहिचान जोडिएकोले होला मलाई त्यो क्होइबो धिं निकै आकर्षक लाग्यो ।
बिष्णु पौडेल सर, गोकर्ण जिसी सर, मीन धामी र अरु सरहरु अगाडीनै आएर माथी कटेजमा गई वरपरको दृश्यहरु नियाल्दै हुनुहुन्थ्यो । एकछिन पछि सबैजना जम्मा भएर एकजुट भई कसैले पानी ओसार्ने, कसैले प्याज लसुन काट्ने, कसैले चिया पकाउने, कसैले पाठा बनाउने कामहरु गर्न थाल्यौँ ।
एकछिनमा आयुश सर पनि आउनुभयो । सदाझैं आयुश सर र म एकअर्कालाई विभिन्न ठट्टा र कटाक्ष गर्दै जिस्किन थाल्यौँ । आफू अविवाहित भएपछी अग्रज नै किन नहोउन् विवाहित सर मेडमहरुलाई नानाथरी भनी जिस्क्याउनुको मज्जा नै बेग्लै हुन्छ । मैले आयुश सरलाई जिस्क्याएर खुब मजा लुटेँ । उहाँ हाँस्नुभयो अनि म पनि । हिसाब बराबर थियो । यदाकदा सुनेने 'हाँस्दा आयु बढ्ने' कुरा सहि हो भने हामी दुबैको आयु बराबर बढिरहेको थियो । कारण हामी दुबै पेट मिचिमिचि बराबर हाँसेको थियौँ । स्पट छेउको मान्छेहरु तछाड मछाड गर्दै बोलेर आफ्नो कुरा अरुलाई यसरी लादिरहेको थियो मानौँ उनीहरु दोहोरो भलाकुसारी गरिरहेको मान्छेहरु नभएर रेडियो-टिभी प्रस्तोताहरु हुन्, जसको उदेश्य 'एनि हाउ आफ्नो बात गरेर छिटो कुरा सकाउ थियो । चाहे आफ्नो कुरा अरुले सुनोस् या नसुनोस् ।' कसैले मलाई 'डिठ्ठा बिचारी' भन्यो भने मैले नाक खुम्च्याउनु औचित्य रहन्नँ सायद नत्र दुनियाँ व्यस्त भैरहेको त्यो कोलाहलमय परिवेशमा 'कसले के गरेको छ' भनेर सुराकी गर्दै एक्लै हाँस्नु मेरो लागि कतिको शोभनिय थियो होला त कमसेकम त्यो बखत ?
जेठको अन्तिम जस्तै निखारिँदै गइरहेको महिना, खडेरी परेर धुम्म तुुँवालोको कारण अस्पस्ट देखिएका छिमेकी जिल्लाहरु, भर्खर पलाएका साल, कटुस, चिलाउने, खल्डुक, उत्तिस, काउरो, स्वामी आदी बोटका हरिया पालुवाहरु, आकाशमा देखिएका बादलको अनेकौँ रहस्यमय आकृतीहरु, बादलको घुम्टो ओडेर नियाल्ने घामका किरणहरु अरे वाह ! कति राम्रा थिए ती सब प्राकृतिक अवयवहरु । प्रकृति प्रेमी म अनि साहित्यमा रुचि राख्ने मेरो बानी । संसार भुलेर एक्लै टोलाउन यति नै काफि थियो मेरो लागि । मनलाई आहा बनाउने हरियो, सेतो, पहेंलो, रातो, कालो, गुलाफी, प्याजी, निलो इत्यादि संसारका रङ्गहरु सबै प्रकृतिको उपहार । मान्छे खुसिमा मात्र मुस्कुराउदछ तर प्रकुति मुस्कुराउँदछ सदाबहार ।
एक मन कवि बन्यो, एक मन गायक । तर ती सिर्जनाहरु फगत मनको लड्डु रुपी कला थिए । कुनै पनि कला कसैलाई मोहित पार्ने खालका थिएनन् । 'मलाई भीडमा नखोज, म एक्लै डुल्ने मान्छे हो… मलाई रंगिन संसारमा नखोज, म त उजाड संहारमा भुल्ने मान्छे हो…' सुर न बेसुर पारमा मौन संगित प्रकृति देवीको सुन्दरताबाट मोहित हुँदै मनमनै गुन्जिरहेको थियो । काश, मेरो घरतिरको दृश्यहरु पनि यस्तै रोमान्टिक भैदिए कति रमाइलो हुन्थ्यो होला । स्वार्थी मान्छेको जात अनि लोभी मेरो बानी, ईष्याले हो कि लोभले आफै व्याप्त भएँ ।
लगभग आधा घण्टामा चिया नास्ता भयो । लगतै एक घण्टापछि बिहानको खाना भुटुवा, सलाद, भुजा/चिउरा अनि चिसो । निकै मीठो मानिमानिकन मैले खान थालेँ । खाने क्रममा मोबाइल झिकेर एक चरण वरपर सबैले खाँदै गरेको भिडियो खिचेँ । खाना खाए लगतै एकछिन काममा सघाएर म र आयुश सर अर्गानिक फार्मिङ, होम स्टे, कटेज र भिउ टावर चढेर १३ वटा जिल्ला नियाल्न भनी मास्तिर लाग्यौँ । हामी हरेक आर्किटेक्चुरल मेच, बेन्च, कटेज र स्थानहरुमा बसेर पालैपालो फोटो खिच्यौँ । भिउ टावरमा गएर १३ जिल्ला पहिल्याउने जमर्को नगरेको पनि होइनौं तर १३ वटा गाउँ पनि पहिल्याउन सक्ने खुबी हामीमा भएनँ ।
फोटो खिच्दै गर्दा आयुश सरको म्याडमको फोन आयो । मैले उहाँलाई जिस्काउँदै फोन दिएँ । एकछिन उहाँ फोन वार्तामा लिप्त हुनुभयो । फोन राख्ने बेला म्याडमलाई गीत गाएर सुनाएको थाहा पाएपछि मलाई आयुश सर निकै रोमान्टिक हुनुहुँदो रहेछ भन्ने ठम्याई भयो । फोन राख्नसाथ जिस्क्याउने मौका मैले कहाँ छोड्थेँ र ? उहाँले पनि हाँसेर मलाई आफ्नै शैलीमा प्रहार गरेरै छोड्नुभयो । मैले उहाँलाई म्याडमलाई लिएर आउन भनेको थिएँ तर उहाँले विशेष कारणवश म्याडमलाई ल्याउन सक्नुभएनँ । मैले उहाँको मन चोर्नलाई "के हो पारा म्याडमलाई लिएर हिँडनु नि ! यो मान्छेले बुढीलाई घुम्नै नलानुहुँदो रै'छ" भनेँ ।
आयुश सरलाई तर्कमा म कहाँ जित्न सक्थेँ र । उहाँले धारवाहिक रुपमा भन्नुभयो -"सायद मैले जति आफ्नो बुढीलाई टाढा टाढा कसैले घुमाएको छैन होला । पोखरा, पाल्पा, घान्द्रुक, सिक्लेस…" खै ! उहाँले भन्नुभएको ठाउँहरुको नामसम्म मलाई याद नहुने गरि आफूले आफ्नो म्याडमलाई घुमाइसकेको दुहाई दिँदै आज पनि ल्याउने प्रयत्न गरेको तर केही कारणवश ल्याउन नसकेको बताउनुभयो ।
यतिकैमा तलबाट ४/५ जना जवान केटीहरु आएर फोटो खिच्दै टिकटक बनाउँदै यताउता हिँडिरह्यो । आयुश सरले मलाई कटाक्ष गर्न कहाँ छोड्नुहुन्थ्यो र ! उहाँले मलाई "गुर्सेनीहरु रहेछ जानूस संगै फोटो खिच्न" भनेर उक्साउनुभयो । ममा त्यो क्षमता र हिम्मत मौजुद थियो भने सायद मेरो जीवनशैली अहिलेको भन्दा फरक किसिमको हुन्थ्यो होला । तर, मैले आफ्नो कम्जोरीलाई उदाङ्ग हुन नदिने गरि भनेँ - "हैट हावादारी ! हजुर जानू न बरु । नानीको ममीहरु जस्तो छ ।"
हामी मस्तसंग जिस्किरह्यौँ । यतिकैमा भूमिका मिस र कोपिला मिस पनि आएर हामीभन्दा एउटा काल्ला तल्लो कटेजमा गफ गरेर बस्नुभयो । हामी एकछिनपछि उहाँहरु भएको ठाउँमा गएर कुर्सीमा बसेर ठट्टा र रमाइला किस्साहरु एक अर्कालाई सुनाउँदै हाँसिरह्यौँ । केही समयपछि हेटसर, हामी आयोजक मध्ये एक रहनुभएको सहकर्मी कोपिला केसी म्याडम, संगिता पौडेल म्याडम, संगिता अर्याल म्याडम, शिब गिरी सर, कार्यालय सहयोगी धनमायाँ थापा लगायत अन्य सर-म्याडमहरु हुल बाँधेर आउनुभयो । हामी एकैठाउँमा बसेर ठाउँको विश्लेषण, परम्परागत कलाकौशलको प्रसंशा, अर्गानिक खेती, धर्म र संस्कृतिहरुबारे स्वच्छन्द बहस गर्न थाल्यौँ । एकछिनपछि माथी गएर सामूहिक फोटो खिच्यौँ । हामीले सर म्याडमहरुलाई उक्साउँदै विभिन्न पोजहरु सिकाउँदै फोटो खिच्न थाल्यौँ । एकल, युगल तथा सामूहिक फोटोहरु खिचेर सरहरु पिकनिक स्पटतिर फर्किनुभयो ।
फेरि छोडिनेमा हामी युवा पुस्ताका आयुश सर, कोपिला मिस, म र भूमिका मिस मात्र भयौँ । पालैपालो फोटो खिच्दै मन नपरे डिलिट गर्दै निकैबेर फोटो खिचेर बसिरह्यौँ । आयुश सरले मिसहरु र मेरो लजालु प्रवृत्तिको फाइदा उठाउँदै जिस्काउँदै र छिल्याउँदै जोडी फोटो पनि खिचाउनुभयो । संगै पढाएको ३/४ वर्ष बितिसकेपनि सामूहिक फोटोको अलवा म कहिल्यै मिसहरुसंग यसरी नजिक सरेर फोटो खिचेको थिएनँ । उहाँकै दबाबको कारण मिसहरुसंग मेरो लजालुपन बिस्तारै कम हुँदै गयो । यस अर्थमा म आयुस सरप्रति आभार भएँ । मैले उहाँलाई पनि मिसहरुसंग फोटो खिचाएँ ।
हुँदाहुँदा कोपिला मिसले पनि मलाई र भूमिका मिसलाई जिस्क्याउँदै एकसाथ उभिएर विभिन्न हर्कतहरु सिकाउँदै फोटो खिच्न लगाउनुभयो । मलाई आयुश सर र कोपिला मिसले बुकीफूलको गुच्छा भूमिका मिसलाई दिएझैँ गर्न लगाएर फोटो खिचाउन चाहनुभयो तर हामीले असहज महसुस गर्यौं । फोटो खिच्ने सुरमा मैले अलिक पर मोबाइल र पावरबैंक यतिकै छोडेर हिँडेको रहेछु । एउटा बुवाले मलाई ल्याएर दिनुभयो । म मनमनै सोच्न थालेँ - "ओहो! मैले यतिकै छोडेर गएको भए के हुन्थ्यो होला ।"
अती नै कर गरेपछि चाहीँ मैले भूमिका मिसको अनुहारमा हेर्दै एक दुई स्न्याप लिएँ । संगै सहकर्मीको रुपमा काम गरेको बर्षौं भैसकेपनि म उहाँहरुसंग त्यति खुल्न सकेको थिएनँ जति आयुश सरसंग एकै महिनामा खुलेको थिएँ । खै किन खुल्न सकिरहेको थिएनँ म आफै अनविज्ञ छु । के पेशागत मर्यादालाई ख्याल गरेर एकअर्कासंग खुल्नु उचित हैन त ? के एक अर्कासंग अन्तरंगको कुराहरु गर्दा गलत हुन्थ्यो त ? म आफ्नो प्रश्नहरुप्रति विलकुल नजवाफ भएँ । आयुश सरले लज्जा मिश्रित भावमा एक अर्कालाई हेरिरहेको फोटो देखाएपछि मेरो मनमा लाज र सरमका लाभाहरु भकभक उम्लिन थाल्यो जुन लज्जा विक्षिप्त आँखा र ओठहरुबाट कम्पन भई बिस्तारै ज्वालामुखीको रुप लिन खोज्दै थियो । वारिपारी अनगिन्ती सोली घोप्टाएझैँ देखिने अपरिचित डाँडाहरु, कनिका छर्किएझेँ देखिने वालिङ, राम्बाच्छा, आँपडाली, रत्ने, राक्से, खहरे, त्रियासी, बयारघारी इत्यादि बजारहरु, हरियो लुंगीको माथी फनफनी बेरिएको पहेँलो पटुकी जस्तै देखिने मोटरबाटोहरु साँच्चै मनमोहक देखिन्थ्यो ।
मलाई प्रकृति नियाल्न पुगेकै थिएनँ तर आयुश सरले कर गरेर तल जाउँ अब भन्नुभयो । ओरालो झर्दै गर्दा फोटो खिचाईकै प्रसंगमा मैले आयुश सरलाई कटाक्ष हान्दै गर्दा गलत द्वित्व शब्दको चयन हुन पुग्दा अलिक लज्जित हुन पुगेँ । मलाई मनमनै निकै ग्लानी महसुस पनि भयो । लाज महसुस भएर म पछि पछि हुँदै आयुश सरसंग पनि एकछिन दुरी कायम गर्दै हिँडिरहेँ । केही समयपछि हामी सबै पिकनिक स्पटमा पुग्यौँ । सर, म्याडम र हाम्रा अन्य पाहुनाहरु छमछम रमाइलो गर्दै नाच्नुभयो । मैले भिडियो खिचिरहेँ । आयुस सरले मलाई नाच्न लगाउनुभयो तर मैले एकछिनपछि नाच्छु भन्दै उहाँको अनुरोधलाई टारिदिएँ ।
लगदै हामी तीनजनालाई आसन ग्रहण गराउँदै सहायक प्र.अ. पशुपति पौडेलले औपचारिक कार्यक्रम सुरु गर्नुभयो । विद्यालय परिवारले हामी तीनैजना आयोजकलाई अबिर, खादा र दोसल्ला ओडाएर सम्मान गरे । बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले हामीलाई बधाई दिँदै विद्यालयमा हामी शिक्षक कर्मचारीहरुलाई परेको बेला जुनसुकै बेला सहयोग गर्ने बाचा गर्नुभयो । त्यसपछि म, आयुस सर र कोपिला म्याडम तीनैजनाले पालैपालो प्रतिबद्धतारुपी मनतब्य प्रस्तुत गर्यौं । प्र.अ. लेस बहादुर खाँणले बधाई तथा शुभकामना मन्तब्य दिँदै औपचारिक कार्यक्रमको अन्त्य भएको घोषणा गर्नुभयो ।
औपचारिक कार्यक्रमको अन्त्य गरी सामूहिक फोटो सेसन पश्चात् हामीले साँझको खाना खायौँ । खाना सकिपछि स्पट परिसरमा सरसफाइ गरि स्पट दस्तुर बुझाएर ओराली लाग्यौँ । यसपालि पनि म जीपको पछिपछि आएँ । जीपलाई ओभरटेक गरि एक्लादुक्लै हिँड्नुभन्दा धुलो खाँदै सामाजिक परिवेशमा साथीहरुसंग रमाउँदै ओरालो झर्नु मलाई कयौँ गुणा उचित लाग्यो । लगभग पौने घण्टाको कठिन ओरालो बाटो झरेपछि बल्ल मूल बाटोमा निस्कियौँ । लग्दाको लाँकुरीडाँडामा रहेको प्रतिक्षालयमा सबैजना मोटरसाइकल तथा स्कुटर चलाएर यात्रा गर्ने साथीहरूलाई पर्खिएर एकसाथ हामी हिँड्न थाल्यौँ । यसरी पित्लेक पिकनिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
केहीं सपनाहरु यस्ता हुन्छन् जुन 'त्यति सजिलै प्राप्त अनि पूरा गर्न सकिदैनँ ।' केहीं खुसीहरु यस्ता हुन्छन् जुन 'लामो समयसम्म टिक्दैनँ' । यस्तै कुराहरुमा आफूलाई समावेश गर्दै अघि बढिरहनुलाई नै जिन्दगी भनिन्छ । लामो जीन्दगीको छोटो डायरीको पानामा जानी नजानी कोरिने अविस्मणीय यात्राको छोटो पल मेरा प्रिय पाठहरुसामू प्रस्तुत गरेँ ।