ज्ञानी छोरी (Intelligent Daughter)
सिता श्रीमान रामहरिको लागि भान्साबाट चिया कोठामा लिएर जाँदै थिई । तब छोरी नमुनाको आवाज सुनेर सिता उभिन्छे ।
बुबा लिनुस आँप खानुस् ।
रामहरि - छोरी नमुना कतिपटक भनी सके कि मलाई आँप मनपर्दैन भनेर ।
नमुना - ठिक छ मेरो लागि भएपनि यति त खानुस् न बाबा हेर्नुस् त कति मिठो छ ।
रामहरि - ठिक छ तिमीहरु नै खाऊ छोरी । तिमीहरुको लागि त ल्याउने गर्छु आँप ।
कति खानु बुबा । मामाको घरबाट पनि एक झोला आँप आको छ । पाकेको आँप राख्दा बिग्रन्छ यति त खानुस् ।
छोरीको झुट सुनेर सीता झस्की झ्यालबाट पर्दा हटाएर हेर्न लागि कति राम्रो सँग पिलेटमा आँप सझाएर राखेकी थिइन छोरीले तर यो देखेर रामहरि निराश थियो ।
सीतालाई थाहा थियो । आँप रामहरिलाई असाध्यै मन पर्थ्यो ।आँप उसको कमजोरी नै थियो । जति जति परिवार बढ्दै गए, महंगाई पनि उति नै बढ्दै गयो । रामहरिको अब आँप खाने इच्छा दिनानुदिन घट्दै थियो । दुई किलो आँप किनेर ल्याउँथ्यो । दुई किलो उसको आमा, बुबा, भाइ र बुहारी लाई १/१ र बच्चाहरुको लागि २/२ भागमा आउँथ्यो । रामहरि आफ्नो भागको आँप दुई छोरीलाई दिन्थ्यो । छोरीहरुले खाएको देखेर उसले आँप खानुभन्दा बढी तृप्त हुनुको महसुस गर्थ्यो ।
अब यस महंगाइमा घरको अन्य आवश्यक र दुई किलो भन्दा बढी किन्ने पैसा हुदैन थियो । सानी छोरीको पटक-पटक आग्रह पछि रामहरिले भन्यो ठिक छ जाउ आफ्नो ममीलाई लगेर खुवाऊ ।
ममीको भाग भान्सा कोठामा आरिले छोपेर राख्देकी छु । छोरी नमुनाले भनी ।
श्रीमान रामहरिले आँपको पिलेट समातेको देखेर सीता चिया लिएर भान्साकोठा फर्किएर गई । श्रीमानको लागि पिलेटमा सजिएको आँप जसरी नै त्यहाँ पनि आँप थियो । साथमा एउटा कागजपनि । कागजमा लेखिएको थियो - "चुपचाप यसलाई खानु ममी । हामी दुई छोरीहरुको कसम । हामी पनि एक/एक टुक्रा नै खान्छौ । तपाईं नै भन्ने गर्नुहुन्छ दोस्रोको भाग खानु हुदैन भनेर । आँप खानुस् बाकी बुबाको लागि लिएर बुबाको कोठा गकि छु ।
चिठी पढ्दै गर्दा सीताको आँखामा आँसु आयो । आफ्नो पिलेट उठाई र श्रीमान हुनेठाउ गई । त्यहाँ रामहरि आनन्द सँगले आँप खाइ रहेको थियो ।
आफू पनि खान लागि र मुस्कुराउँदै भनी - छोरी कति पटक भनिसके कि, झुट बोल्नुहुन्न भनेर । यो झुट बोल्ने बानी राम्रो हैन ।
के झुट बोले ? नमुना रिसाउँदै बोली ।
यहीँ, मामाको घरबाट एक झोला आँप आको थियो भनेर ।
नमुना - मुस्कुराइ र बुबाको खाली पिलेट उठाउँदै बुबातिर हेर्दै भनी - पहिला ठुलो मान्छेले "साचो" बोल्नको लागि बानी बसाल्नुहोस् ममी । मलाई आँप मन पर्न छाड्यो मलाई त आँप देख्ने बित्तिकै उल्टि हुन लाग्छ भनेर ।
लाड्ली पारामा बुबातिर हेर्दै भनी - आज हजुरआमा र फुपुदिदीले भन्नुभएको कि आँप तपाइँलाई धेरै नै मन पर्छ भनेर । यतिसम्म कि तपाईं हजुरबुबाको भागको आँप पनि चोरेर खानु हुन्थ्यो रे । हाँस्दै खाली पिलेट लिएर भान्साकोठा तिर नमुना गई ।
छोरी गएको बाटो रामहरि र सीता एकोहोरो हेरिरहे र भिजेको आँखाले एक दोस्रो हेरेर सोचिरहेका थिए साच्चै नै छोरीहरु समयभन्दा पहिला नै ज्ञानी हुन्छन् ।
- - सन्तोष कार्की 'मौसुफ'
Post a Comment