नमस्ते! हार्दिक स्वागतम्
Live
wb_sunny

Breaking News

अन्तिम निर्णय (Final Decision)

अन्तिम निर्णय (Final Decision)

त्यो रात रामबहादुर काकाका लागि निकै कष्टकर रह्यो। शरीर ज्वरोले भतभती पोलिरहेको थियो भने बिहानीपखदेखि सुरु भएको सुक्खा खोकीले छाती नै फुट्लाझैँ भइरहेको थियो। बुबाको यो अवस्था देखेर कान्छो छोरो श्याम हतासियो, तर त्यो चिन्ताभन्दा बढी डर थियो। उसले निकै टाढैबाट दाजु रामहरिलाई बोलाएर भन्यो, "दाजु, बुबालाई त बिहानैदेखि सुक्खा खोकी लागिरहेको छ। कतै यो कोरोनाकै लक्षण त होइन?"

रामहरिको अनुहारमा पनि त्रासका काला बादल मडारिए। उनले थर्कमान स्वरमा भने, "हो, मलाई पनि त्यस्तै शङ्का लागिरहेको छ! तिमी एउटा काम गर, बुबाको ओछ्यान तानेर बाहिर दलानमा पुर्‍याइदेऊ। तबसम्म म हेल्पलाइनमा फोन गर्छु।"

"अहँ! म सक्दिनँ दाइ," श्यामले तुरुन्तै हात ठड्यायो, "ओछ्यान त के, म त बुबालाई छुदा पनि छुन्नँ। यो भाइरस सरिहाल्यो भने मेरो श्रीमती र छोराछोरीको हालत के होला? बरु तपाईं नै जानुस्।"

रामहरि पनि पछि हटे, "म मात्रै किन जाने? मेरो पनि त परिवार छ, छोराछोरी छन्। म पनि जोखिम मोल्न सक्दिनँ।"

भान्साकोठाबाट दुई दाजुभाइका कुरा सुनिरहेका बुहारीहरू बाहिर निस्किए। उनीहरूको स्वरमा सहानुभूति होइन, सास्ती लुकेको थियो। उनीहरूले कडा स्वरमा भने, "तपाईंहरू दुवैलाई बुबाको नजिक जानु पर्दैन। आमालाई भन्नुस् न, आफ्नो श्रीमान्‌को स्याहार उहाँ आफैँले गर्नुहुन्छ।"

भित्र ओछ्यानमा पल्टिरहेका रामबहादुर काकाका आँखामा टिलपिल आँसु भरिए। जुन छोराहरूलाई उनले बुढेसकालको सहारा र आफ्नो जीवनको बलियो लाठी सम्झेका थिए, आज तिनै छोराहरू एउटा बिमारीको डरले आफ्नै बाबुलाई अछूत झैँ ठानिरहेका थिए। उता उनकी धर्मपत्नी शकुन्तला आफैँ बाथको रोगी थिइन्, जसलाई दुई कदम हिँड्न पनि सहारा चाहिन्थ्यो।

काकाको मनभित्र एउटा ज्वालामुखी विष्फोट भयो। उनी काँप्दै ओछ्यानबाट उठे र कठोर स्वरमा भने, "ए नालायकहरू! मैले तिमीहरूलाई कहिले मलाई छुनु भनेँ र? मलाई कोरोना लागेकै हो भने पनि कुन बुबाले चाहला र कि आफ्नो सन्तानलाई रोग सरोस्? तिमीहरूको सेवा मलाई चाहिएन।"

उनले आँट बटुलेर थपे, "म स्वयम् आफ्नो ओछ्यान बाहिर लैजान्छु। म अझै मर्दिएको छैन, मसँग फोन छ र म आफैँ मेडिकल टिमलाई बोलाउँछु।"

काकाले हेल्पलाइनमा फोन गरेर बाहिरै बसे। भित्र भान्साबाट फेरि बुहारीको स्वर सुनियो, "कोही नजिक नजानू है, पानी पनि दिनु पर्दैन, कतै कोरोना सल्किएला!"

यो कठोर वचनले काकाको मुटु छियाछिया भयो। उनी जान्दथे—रोग सर्छ, सावधानी अपनाउनुपर्छ। तर, सावधानीको नाममा मानवीय संवेदना नै हराएको देख्दा उनी स्तब्ध बने। उनी मनमनै प्रार्थना गर्न थाले— छिटो एम्बुलेन्स आओस् र यो 'नक्कली सम्बन्ध' को घरबाट उनलाई टाढा लिएर जाओस्।

शकुन्तला रुँदै नजिक आउन खोजिन्, तर काकाले इशाराले नै उनलाई रोके। आफूले जीवनभर साथ दिएकी जीवनसङ्गिनीलाई उनी जोखिममा पार्न चाहँदैनथे। केही बेरमै स्वास्थ्यकर्मीको टोली आयो, घरलाई स्यानिटाइज गर्‍यो र काकालाई अस्पताल लिएर गयो। परिवारका अन्य सदस्यलाई घरमै क्वारेन्टाइनमा बस्न कडा निर्देशन दिइयो।

अस्पतालमा पहिलो रिपोर्ट 'पोजेटिभ' आयो। तर, उचित उपचार र आत्मबलका कारण १४ दिनपछि काकाको दोस्रो रिपोर्ट 'नेगेटिभ' आयो। डाक्टरहरूले उनलाई निको भएको घोषणा गर्दै घरैमा आराम गर्न सुझाएर डिस्चार्ज गरिदिए।

घर पुगेपछि काकाले आँगनबाटै दुवै छोरा र बुहारीलाई बोलाए। उनको स्वरमा यसपटक कुनै कमजोरी थिएन, बरु एउटा दृढ निर्णय थियो। उनले भने, "मैले वकिलसँग सल्लाह गरेर आफ्नो सबै सम्पत्ति दान गर्ने फैसला गरेको छु। जुन छोराहरूले बिरामी बुबालाई घिनौना व्यवहार गरे, तिनले बुढेसकालमा मेरो सेवा गर्लान् भन्ने आश अब मलाई छैन। तिमीहरूलाई मैले हुर्काएँ, पढाएँ र आफ्नो खुट्टामा उभिने बनाएँ। अब यो घर खाली गरिदेऊ।"

छोरा-बुहारीहरू छाँगाबाट खसेझैँ भए। काकाले थपे, "प्रशासनले लकडाउन खोलेपछि तिमीहरू यहाँबाट निस्कनू। मेरो सम्पत्तिमा मेरो शेषपछि शकुन्तलाको अधिकार हुनेछ र त्यसपछि यो सबै एक वृद्धाश्रमको नाममा जानेछ।"

छोरा-बुहारीहरू पछुतोले जलिरहेका थिए, उनीहरू एकअर्काको मुख हेर्दै रुन थाले। तर, रामबहादुर काका र शकुन्तला भने आफ्नो अन्तिम निर्णयमा निकै सन्तुष्ट देखिन्थे।

Tags

Newsletter Signup

Sed ut perspiciatis unde omnis iste natus error sit voluptatem accusantium doloremque.

Post a Comment