खेेताला लोग्ने: कथा
![]() |
खेेताला लोग्ने 'सामाजिक कथा' |
धेरै वर्षपछि आज अचानक भेट हुँदा रबिन र कमल असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरूको मानसपटलमा बाल्यकाल चल्मलाउन थाल्यो। बाल्यकालको साथी कमल हङकङबाट सफ्टवेयर ईन्जिनियरिङ सकेर माइक्रोसफ्टमा आबद्ध भएको खबर सुनेर रबिनका आँखा खुसीले रसाए। ‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ,’ रबिनले कमलसँग दुखेसो पोख्यो। ‘म त कृषक पो भएर बसेको छु।’
काम सानो ठूलो हुँदैन भनेर कमलले सम्झायो। दुवैले बाल्यकालका सम्झनामा डुबुल्की मार्न थाले। खोलामा पौडी खेलेको, माछा मारेको क्षण सम्झे। एकदिन पौडी खेलेर निस्कँदा खोलाले दुवैको लुगा बगाएको थियो। अन्डरवेयर समेत नहुँदा दुवैले आ-आफ्ना हातले लाज छोपेर घरसम्मै दौडँदै गएको कुरा सम्झने बित्तिकै हाँसोको फोहोरा छुट्यो।
रबिनले कमललाई आफ्नो गाउँ घुम्ने निम्तो दियो। समय मिलाएर फेरि भेट्ने बाचा गर्दै उनीहरू छुट्टिए। पारिवारिक तनावले गलेका रबिनको अनुहारमा अनायासै खुसीका रंग पोतिएको देखेर उसका छोराहरू समीप र सौगात पनि खुसी भए। सौतेनी आमाको कचकचले पिरोलिएका उनीहरूको अनुहारमा छाएको मुस्कानले केही हदसम्म शीतलता प्रदान गर्यो।
एक दिन आत्मीय मित्र रबिनको गाउँ जान भनेर कमल निस्कियो। साथीको स्वागतमा रबिनले गच्छेअनुसार मीठो मसिनो जोहो गरेको थियो। सुरुमा उसले परिवारका सदस्यहरूसँग परिचय गरायो— श्रीमती जानु र छोराहरू समीप र सौगातसँग।
भर्खर सत्र-अठार वर्षकी जस्ती देखिने जानु रबिनकी श्रीमती भन्दा कमल छक्क पर्यो। तैपनि उमेरमा रबिन आफूभन्दा सात महिना जेठो भएकाले उसले भाउजू भन्दै जानुसँग साइनो गाँस्यो। समीप र सौगातले पनि कमललाई अङ्कल भनेर सम्बोधन गरे।
भान्सामा पाकेका परिकार पस्किन थालिन् जानुले, साथमा मीठो मुस्कान पनि। रमाइलो मिसिएको थियो आज रबिनको परिवारमा। बेलाबेलामा जानुको हातमा बजेको चुरीको धुन, चिटिक्क मिलेको जिउडाल, निहुरिँदा बिकिनी छिचोलेर निस्कूँझैँ गर्ने टम्म मिलेको छातीले कमलको मुख रसाएर आउँथ्यो। अनि रबिनको स्वच्छ गाउँले भोजनसँगै चपाएर निल्थ्यो उसले त्यो रस पनि।
खानापछि समीप र सौगात दुवै स्कुल गए। जानु मेलापात गइन्। वर्षौंपछि दुवै साथी फुर्सद निकालेर आँगनमा गफिए, न्यानो घाम ताप्दै।
कुरैकुराको शृंखलामा रबिनले सोध्यो, ‘कमल बिहे गरिस् कि छैनस्? कि सधैँ माइक्रोसफ्टमै कम्प्युटर बन्ने विचार छ? बुढो होलस् नि?’
कमल फिस्स हाँस्यो र रबिनका प्रश्नको सहज तरिकाले जवाफ दियो। ‘अध्ययनमा व्यस्त हुँदा बिहे गर्ने मुडै चलेन। हङकङमा पढ्दा गलफ्रेन्ड त थुप्रै थिए। रिल्याक्स गरियो,’ कमलले भन्दै गयो; ‘पछि सबैले आ-आफ्नो सुर गरे। म पनि नेपाल आएँ, र आफ्नो मोबाइल ग्यालरी खोलेर बसेँ। समय त्यसै बित्यो। तैँले त विदेशमा खुब मोज गरिछस् नि,’ उल्यायो कुमारले। अनि दुवै हाँसे गलल। ‘रबिन, तैँले त चाँडै बिहे गरिछस् नि, भाउजू त भर्खरकी हुनुहुँदो रहेछ त?’ कमलले सोध्यो।
‘बाबु-आमा बितेपछि घर सम्हाल्ने कोही भएन, तैँले जस्तो विदेशमा पढ्न, केटी घुमाउन र मोजमस्ती गर्न मेरो तकदिरमा लेखेको रहेनछ क्यार,’ रबिनले भन्यो। ‘जानु मेरो दोस्रो बिहे हो, अनि किन भर्खरकी नहुनु त?’ रबिनको जवाफ नसकिँदै कमलले सोध्यो, ‘अनि पहिलेकी भाउजू खोई त?’ रबिनको पहिलो बिहे गाउँमै भएको थियो। समीप र सौगात उनकै सन्तान हुन्। ‘दैवले अकालमै चुँडेर लग्यो उनलाई,’ रबिनले गहभरि आँसु झार्यो, ‘त्यसपछि जानुसँग बिहे गरेँ।’
दुवैले सुखदुःखका कुरा गरेर दिन बिताए। जानुको जवानी सम्झेर बेलाबेलामा कोक्याइरहन्थ्यो कमलको मन। ऊ घुटुक्क थुक निल्थ्यो। दुवैले लामो समयसम्म हराएको मित्रतालाई निरन्तरता दिने बाचासहित बिदा भए। हिँड्ने बेला दुवैका आँखा रसाए, मायालुका जस्तै।
साँच्चै असल मित्रता थियो यी दुईबीच। मित्रताको साइनोभित्र दुवैका भावना अविरल बगिरहेका थिए। दिनहरू जसोतसो बित्दै थिए। ‘सन्तान चाहियो’ भनेर रातदिन जानुले कचकच गर्न थालिन्। सुन्दासुन्दा रबिन दिक्क भइसकेको थियो। ‘मलाई जसरी भएपनि सन्तान चाहियो, सौताका छोराहरू त खील हुन्, पछिसम्म दुखिरहन्छन्,’ बारम्बार जानु घुर्की लगाउँथिन्।
सुनेर पनि नसुनेझैँ गर्नु रबिनको बाध्यता थियो। जवान जानुले सन्तानको चाहना गर्नु स्वाभाविक थियो। तर, श्रीमतीको रहर पूरा गर्न उनी सक्दैनथे। जानुका अपुरा रहरहरू पूरा गर्न स्वास्थ्यकर्मीसँग सल्लाह गरेर उनका लागि गरिएको कृत्रिम गर्भाधानको प्रयास तीन पटकसम्म पनि असफल भयो। गाउँले भाषामा भन्नुपर्दा ‘साँढेले नि नसकेको वा साँढे नफापेको कोरेली बाच्छी’ झैँ भयो उनको जीवन।
हैसियतले भ्याएसम्म उपचार गर्दा पनि रहर चुँडिँदा विचलित थिइन् उनी र कलह मच्चाउन थालिन् सानो परिवारमा। उनको कलहबाट मुक्त हुन रबिनले अनेकौँ उपाय रच्न थाल्यो। अन्तमा रबिन बाल्यकालको मित्र कमलकोमा शरणार्थीझैँ हात फैलाउन पुग्यो।
शहरको शानदार महलमा शान्तसँग जीवन बिताइरहेको कमल आफ्नो अगाडि रबिनलाई देखेर दङ्ग पर्यो। ग्वाम्लाङ्ग अँगालोमा बेर्यो। पहिले जस्तो रबिनको अनुहारमा खुसी नदेख्दा कमलको मन खिन्न भयो। ऊ सशंकित भयो, ‘कतै मैले जानु भाउजूको रूपलाई भित्रभित्रै मन पराएको कुरा रबिनले थाहा पायो कि!’ उदास रबिनका नयन नियाल्दै उसले सोध्यो, ‘रबिन, किन चिन्तित देख्छु नि, के भयो? मबाट केही सहयोग हुन सक्छ कि?’ रबिनका आँखाबाट बररर आँसु बर्सिन थाले। उसको मुखबाट फुत्त एउटा आवाज निस्कियो, ‘कमल, म साँच्चै सहयोग माग्न आएको हुँ, सहयोग गर्छस्?’
‘दिल खोलेर सहयोग गर्नु त मित्रको कर्तव्य नै हो नि, नत्र केको मित्र भन्नु? के सहयोग गर्नुपर्यो मैले, भन् न रबिन,’ कमलले सहानुभूति देखायो। रबिनले आफ्नो व्यथा सुनायो। ‘गरीबीमा भए पनि खुसी थियो मेरो परिवार। दुई छोरा, श्रीमती र म। कति सुन्दर थियो हाम्रो संसार। एकदिन म र श्रीमती घाँस काट्न जङ्गल गएका थियौँ। अचानक भिरबाट चिप्लेर लड्दा श्रीमतीको मृत्यु भयो। म भने रुखमा च्यापिएर घाइते भएछु। भगवान दाहिना भएर मलाई जीवनदान त दिए तर मेरो प्रजनन शक्ति त्यसैदिनबाट खोसिएर टाढा भयो, सधैँका लागि। उपचारपछि म बाँच्न सफल भएँ। त्यसपछि जानुसँग मागी विवाह भयो। तर, सन्तानको रहरमा डुबुल्की मार्ने उसको चाहनाको अघिल्तिर मेरो कमजोरी के लुक्न सक्थ्यो र? **यही कुराले उनी दिनहुँ कलह गर्छिन्। समीप र सौगातलाई पनि आमाकोभन्दा सौतेनी गिद्धे दृष्टिले हेर्छिन्।’
रबिन सुनाउँदै गयो, ‘कैयौँ पटक कृत्रिम गर्भाधान गराउन खोज्दा पनि असफल नै हुन पुग्यो। महँगा आधुनिक उपचार गर्नु मेरो हैसियतभन्दा माथि छ। त्यसैले कमल, केही समय तैँले मेरो जीवनमा खेतालाको रूपमा काम गरिदिनुपर्यो। त्यसका लागि म ज्याला दिन त सक्दिनँ। तर, पनि सहयोग गरिदिए आभारी हुनेथिएँ।’
रबिनको कुरा सुनेपछि कमलको मन पनि पीडाले घोच्न थाल्यो। त्यसभन्दा ठूलो त ऊ दोधारमा पर्यो। जानु भाउजूप्रति उसको प्रेम अव्यक्त रूपमा हृदयमै लुकेको थियो। तर, जानुलाई खोसेर रबिनको जीवन अलपत्र बनाउन चाहँदैन्थ्यो ऊ। रबिनको जीवनमा सहयोग गरूँ या कलहमै छाडिदिऊँ, ऊ अलमलमा पर्यो। तैपनि असल मित्रको हैसियतले रबिनको दुःखमा साथ दिने निर्णय गर्यो उसले।
कमलले वचन दियो। जानुको रहर पूरा भएपछि रबिनको जीवनमै फर्काउने शर्त र बाचामा मन्जुर भए दुवै। भोलिपल्ट रबिन जानुलाई लिएर कमलको घरमा पुग्यो। उसलाई खेतालाको रूपमा जानुको फुलबारीमा काम गर्न सुम्पेर रबिन गाउँ फर्कियो। गाउँमा सोधखोज हुँदा उपचारका लागि शहरमा राखेको छु भनेर ढाँट्थ्यो। जानुको रूप र बैँसमा त्यसै पनि लठ्ठिएको कमल अब स्वतन्त्र थियो उनको बैँसालु रसमा भिज्न। कमलको सुखसयलमा मोहित जानु वर्षौंदेखिको कुण्ठित रहरले शिखर चढ्न सफल भएकोमा अझ मख्ख थिइन्। आफ्नै गोठको साँढे बेकम्मा भएपछि गोठ सरेकामा खुसी भइन् उनी। चिल्ला गाडी, भौतिक रस र जैविक रस दुवै मिसिएको सुन्दर जीवन जिउन छाडेर बाँझो रबिनको जीवनमा नफर्कने निर्णय गरिन् उनले।
उकाली-ओराली गर्दा मीठो बास्ना आउने कमलको रस छाडेर गोबर गन्हाउने रबिनको रसमा फर्कन मनले मान्दै मानेन जानुको। कमल र जानुको जीवन रसिलो बन्यो। खेताला र मालिक्नीको सम्बन्ध होइन, बरु दुवैको सम्बन्धमा प्रगाढ माया बस्यो। कमललाई आफ्नो उजाडिएको फूलबारीमा फुलीरहने फूलका रूपमा जानुलाई भेट्टाएको महसुस हुन्थ्यो।
समय बित्न कति पो दिन लाग्दो रहेछ र? उनको पेटमा आफ्नो हातले सुम्सुम्याउँदै ऊ आफ्नो उत्तराधिकारीको धड्कन सुन्ने गर्थ्यो। उनी लजाएझैँ गर्थिन्। यसरी मायालु फूलबारीमा लुकामारी खेल्दै अघि बढेका उनीहरूले रबिनसँगका बाचा र शर्त भुल्दै गए।
एक दिन अनायसै मिर्मिरे बिहानीमा रबिनको आगमनले कमल र जानुको जीवनमा खिन्नता ल्याइदियो। लत्रेको पेट र बढेर फुटबल जत्रो भएको नितम्बमा आँखा गाड्दै रबिनले जानुलाई भन्यो, ‘अब घर जाऊँ, अब त कलहको बिउको पनि अन्त्य भयो नि जानु। समीप र सौगातले पनि तिमीलाई खोजेका छन्।’
जानु अनकनाउँदै पर भागिन् र पुलिसले चोर पक्रेझैँ बेस्सरी समातिन् रबिनका हात।
रबिनले कमलका सामुन्ने गएर भन्यो, ‘सहयोगका लागि धन्यवाद साथी।’ म जानुलाई फिर्ता लिएर जान्छु।’
कुनै जवाफ नदिई कमलले जानुलाई बेस्सरी अँगालोमा बेर्यो, ‘जानु र मेरो प्रेमले शिखर चुमिसक्यो रबिन! उनीभित्रको अंशले यो घरको अधिकार पाउने निश्चित भइसक्यो अब। त्यसैले म शर्त र बाचाहरू तोड्दैछु। मलाई माफ गर रबिन।’ ‘मेरो फूलमा भमरा बनेर अब कहिल्यै नआउनु है,’ विश्वास गरेको प्रेम मित्रले घात गरेको देखेर रबिन नाजवाफ भएर फर्कियो। सदाका लागि आफ्नो जीवनबाट बिदा होस् भन्ने कामना गर्दै उनीहरूले रबिनलाई बिदाइको हात हल्लाइरहे। रबिन आफ्नो मित्रको छायाँमा लतपत भएको अविश्वासको पीडा बोकेर बढिरह्यो आफ्नै पुरानो संसारतिर…।
Post a Comment