स्वर्ग भन्दा राम्रो घर (A Beautiful Home Than a Heaven)
![]() |
स्वर्ग भन्दा राम्रो घर (A Beautiful Home Than a Heaven) |
बुहारी कहाँ छौ तिमी?
"बुहारी कहाँ छौ तिमी?"
"थाहा छैन, छिनछिनमा काम छाडेर कहाँ जान्छे," रमाकी सासूले भनिन्।
रमा खाँदै गरेको नास्ता छाडेर उठ्न लागी। यो देखेर उसकी नन्द सुजाताले हात समातेर उसलाई बसाई र भनी, "पहिला तपाईं नास्ता खानुस्।"
रमाले भनी, "दिदी, आमा रिसाउनुहुन्छ। मलाई जान दिनुस्।"
"म आमालाई भन्छु, तपाईं बसेर नास्ता खानुस्," सुजाताले भनी।
सुजाता आमा भएको ठाउँमा गएर भनी, "आमा, कम्तीमा भाउजूलाई आरामसँग नास्ता खान त दिनुस्। बिहान सबैभन्दा अगाडि उठ्नुहुन्छ र सबैभन्दा पछाडि नास्ता खानुहुन्छ। तैपनि तपाईं छिनछिनमा भाउजू खोजिरहनुहुन्छ। घरमा केही बिग्रिए जसरी ठूलो-ठूलो स्वरमा बोलाउनुहुन्छ।"
"तँ भाउजूकी शुभचिन्तक, त्यसको लागि मसँग झगडा गर्न आइस् हैन?" सुजाताकी आमाले भनिन्।
"आमा, म झगडा गर्न आएकी होइन। राम्रो कुरा नै गरिरहेकी छु। जबदेखि विवाह गरेर भाउजू यहाँ आइन्, तपाईंले कहिल्यै राम्रो व्यवहार गर्नुभयो? कहिल्यै मायाले बोल्नुभएको छ भाउजूसँग? उमेरमा मभन्दा कान्छी छिन्। विवाहअगाडि हो त उनलाई पनि माया र सम्मान दिनुपर्छ। भाउजूलाई पनि आफ्नो छोरीझैं व्यवहार गर्नुहोस्। तपाईंको जीवन उनैको साथमा बिताउनु छ," सुजाताले भनी।
सुजाताले त भनी तर आमा कहाँ चुप लाग्न सक्थिन् र। "उसको साथमा कहाँ बस्छु र? हातगोडा अझै पनि चल्दैछन् मेरा। म आफै बनाएर खान सक्छु। थाहा छैन, बिहे गरेर आएको चार दिन भएको छैन, सबैलाई आफ्नो बसमा पारी यो केटीले। मेरी छोरीलाई पनि मेरो विरुद्ध उक्साउन लागी।"
रमाको विवाह भएको भर्खर २ महिना हुँदै थियो। उसको श्रीमान् रामहरि र उसको नन्द सुजाता धेरै नै राम्रा थिए। दुःखसुख बुझ्ने थिए। ससुरा थिएनन् तर सासू धेरै नै कडा स्वभावकी थिइन्। उनी बुहारीलाई हुकुम जमाउँथिन्। बुहारीलाई मात्र काम लगाउँथिन्। छोरीले भाउजूलाई कुनै काममा सहयोग गर्न दिँदैनथिइन्। तर सुजाता भाउजूको ख्याल पूरा राख्थिन्। भाउजूको साथमै हुन्थिन्।
बेलुका सुजातालाई हेर्न केटापक्षका आउनेवाला थिए। नास्ता खाइसकेपछि रमा तयारीमा लागी। जिद्दी गर्दै सुजाता पनि भाउजूलाई भाँडाकुँडा पखाल्न सहयोग गरी। बेलुका केटापक्ष आए। केटोलाई सुजाता मन पर्यो।
चियापान गरेर केटापक्ष घर फर्किए। त्यसपछि सुजाताले आमालाई भनी, "देख्नुभयो आमा! तपाईंले कति केटा मलाई हेराउन ल्याउनुभयो। आमा, हाम्रो भाउजूको गृहप्रवेश हुने बित्तिकै मेरो लगन जुर्यो।"
सुजाताको विवाह भयो। उसका घरवाला राम्रा थिए। सबैजना सकारात्मक विचारका थिए। सुजाताको स्वभाव राम्रो हुनुको कारण उनी सबैभन्दा राम्री लाग्थिन्। उनी माइत पनि कहिलेकाहीँ जान्थिन्।
रमा र उसको श्रीमान्ले आमालाई धेरै स्याहारसुसार गर्थे। आमाको धेरै सेवा गर्थे। तर सासू कहिल्यै खुसी हुँदिनथिइन्। एकदिन सासूले जानीजानी छोरी सुजातालाई फोन गरी, "मेरो स्वास्थ्य बिग्रँदै गएको छ, मलाई भेट्न चाँडै आइजा।"
सुजाता माइतीघर आइपुग्ने बित्तिकै आमाको गुनासो सुरु हुन्छ। "बुहारीले मेरो हेरचाह गर्दिनँ। कता हराउँछे हराउँछे, बोलाउँदा पनि आउँदिनँ। मेरो भाग्य नै फुटेको रहेछ। म त मेरो छोरा र बुहारीको बोझ भइसकेको रहेछु।"
छोरी सुजाताले भनी, "आमा! भाउजूलाई दोष नदिनुस्। म भाउजूलाई राम्रोसँग चिन्दछु। उहाँ आफै नखाई नखाई तपाईंलाई खुवाउनुहुन्छ र तपाईंको ख्याल पनि राम्रोसँग राख्नुहुन्छ। तर दाजुले के गर्छ थाहा छैन। आमा, तपाईं यो झुट बोलेर भाउजूलाई नराम्रो देखाउन खोज्दै हुनुहुन्छ। यदि मेरो सासूले मसँग यस्तो व्यवहार गरिन भने मेरो सासूआमाले मेरो नन्दहरूभन्दा बढी मलाई माया गर्नुहुन्छ। किनकि उहाँ भन्नुहुन्छ, 'म उहाँको बुहारी होइन, छोरी हुँ' भनेर। आमा, तपाईं पनि मेरो सासूबाट केही सिक्नुहोस्, जुन कुराले भाउजू तपाईंको छोरी बन्न सकून् अनि म पनि ढुक्क भएर श्रीमान्को घरमा बस्न सकूँ।"
त्यसै समय आमाको कोठामा बुहारी रमा आइ र "दिदी" भन्दै सुजातासँग नजिक आइ र अँगालो हाली। सासूआमा यो नन्द-भाउजूको माया देखेर लज्जित भइन्। अनि थाहा पाइन् कि जसले मेरी छोरीलाई यति धेरै माया गर्छे भने यदि म पनि उसलाई राम्रो व्यवहार गरें भने मेरो बाँचेको जीवन स्वर्ग बनाइदिन्छे।
लाडप्यारको पारामा सासूले भनिन्, "तिमीहरू दुई नन्द-भाउजू कुराकानी गर्दै गर। म चिया नास्ता लिएर आउँछु। बुहारी, तिमीलाई मन पर्ने पकौडा र छोरीलाई मन पर्ने हलुवा।"
"होइन, होइन! आमा, म पकाएर ल्याउँछु। तपाईं बिरामी हुनुहुन्छ, बस्नुस्," बुहारी रमाले भनी।
"भाउजू, तपाईं चिन्ता नगर्नुहोस्। आमाले बनाएको पकौडा खानलाई पर्खिनुहोस्। आमा, बुहारी होइन आजबाट छोरी रमा भनेर बोलाउने गर्नुस्," सुजाताले भनी।
सासूआमाले नास्ता तयार गरेर भान्साकोठाबाट बोलाइन्, "रमा छोरी, नास्ता तयार भयो, आऊ। आउँदा मेरी चिप्ली छोरीलाई पनि साथैमा लिएर आऊ।"
नन्द-भाउजूको सम्बन्ध मायालु हुन्छ, जसले आफ्नो आपसी समझदारी र विश्वासले घरलाई स्वर्गभन्दा सुन्दर बनाइराख्दछ।
- सन्तोष कार्की मौसुफ
Post a Comment