विवेकको सन्तुलन: बोल्नु र मौन रहनु (The Balance of Wisdom: Speaking and Staying Silent)
एउटा घरमा एक व्यक्तिले कुकुर र बिरालो दुवै पालेका थिए। बिरालोको स्वभाव अलि फरक थियो— ऊ दिनरात 'म्याउँ-म्याउँ' गरिरहन्थ्यो। घरको मालिक दिनभरिको कामले थाकेर लखतरान भई घर फर्कन्थे, तर बिरालोको निरन्तरको आवाजले उनलाई निकै झर्को लाग्थ्यो। कतिपय रात त उनी बिरालोको कराइले सुत्न समेत पाउँदैनथे।
एकदिन रिसको झोकमा मालिकले बिरालोलाई लट्ठीले पिट्दै कराए, "के दिनरात म्याउँ-म्याउँ गरिरहन्छस्? चुप लागेर बस्न सक्दैनस्?"
यो सबै दृश्य छेउमै बसेको कुकुरले नियालिरहेको थियो। कुकुरले मनमनै सोच्यो, "यो बिरालो धेरै कराएर नै पिटिएको हो। मालिकलाई आवाज मन पर्दो रहेनछ। अबदेखि म पनि कहिल्यै भुक्दिनँ, चुपचाप मौन व्रत बस्छु।"
दुर्भाग्यवश, त्यही रात घरमा चोर पस्यो। चोरले घरका बहुमूल्य सामानहरू बटुल्दै गर्दा कुकुरले सबै देख्यो, तर मालिकको लट्ठीको डरले ऊ 'मौन' बसिरह्यो। ऊ भुकेन। चोरले आनन्दले चोरी गरेर भाग्यो।
भोलिपल्ट बिहान जब मालिकले चोरी भएको थाहा पाए, उनको रिसको सीमा रहेन। उनले कुकुरलाई लट्ठीले बजार्न थाले र आक्रोशित हुँदै भने, "मैले तँलाई केका लागि पालेको थिएँ? केका लागि तँलाई पेटभरि खुवाएँ? के यही दिनका लागि हो? चोर आउँदा भुकेर जानकारी दिनुको साटो तँ मुढोझैँ सुतिरहिस?"
बिरालो बढी कराउँदा कुटियो, तर कुकुर समयमा नभुक्दा अर्थात् मौन बस्दा कुटियो।
अब प्रश्न उठ्छ— बोल्नु राम्रो कि चुपचाप बस्नु?
यसको उत्तर हाम्रो विवेकमा लुकेको छ। जीवनमा न त पूर्ण मौनता सधैँ हितकर हुन्छ, न त अनावश्यक बाेलक्कडपन नै। जहाँ बोल्नुपर्ने हो, त्यहाँ नबोल्नु कायरता वा मूर्खता हुन सक्छ; र जहाँ मौन बस्नुपर्ने हो, त्यहाँ बोल्नुले समस्या मात्र निम्त्याउँछ। हाम्रो विवेकले कुन समयमा कुन व्यवहार गर्ने भन्ने निर्णय गर्न सक्नुपर्छ।
कहिलेकाहीँ हामी सोच्छौँ कि केही पाउनु (लाभ) नै सबैभन्दा राम्रो हो। तर दार्शनिक दृष्टिले हेर्ने हो भने कहिलेकाहीँ केही नपाउनु (अलाभ) पनि मानिसका लागि वरदान सावित हुन्छ। केही नपाउँदाको अभावले मानिसभित्र एक प्रकारको चिन्तन र वैराग्य पैदा गर्छ, जसले उसलाई आत्ममन्थन गर्न र जीवनको वास्तविक उचाइमा पुग्न मद्दत गर्छ।
त्यसैले, विवेकको साथ चल्ने मानिसले लाभ र हानि, शब्द र मौनताबीचको सन्तुलन बुझेको हुन्छ। अविवेकी त ती कुकुर र बिरालो जस्तै हुन्, जो परिस्थिति नबुझी एकै प्रकारको जिद्दीमा बाँच्छन् र अन्त्यमा दुःख पाउँछन्।
Post a Comment