आत्महत्याको त्यो अनपट्यार क्षण
![]() |
𝐒𝐮𝐜𝐢𝐝𝐞 𝐢𝐬 𝐧𝐨𝐭 𝐬𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧 𝐬𝐨 𝐩𝐥𝐞𝐚𝐬𝐞 𝐬𝐭𝐨𝐩 𝐢𝐭! |
अन्तिम पटक उसलाई म्यासेज पठाएँ। "आजबाट म कहिल्यै तिमीलाई सताउने छैन। सधैँ खुसी हुनु तिमी। तिमीले जित्यौ अनि मैले हारेँ।"
आँखाबाट आँसुका धारा बगिरहेका थिए। मुटु भतभती पोलिरहेको थियो। बुक र्याकको छेउमा उसले चिनो दिएको रातो ढाकाको गलबन्दी थियो। मैले त्यसलाई तानेर धेरैबेरसम्म नियालिरहेँ। ओठमा लगेँ र आत्मीय चुम्बन गरें। मलाई झनै गाह्रो भएर आयो। उनले त्यो गलबन्दी उपहार दिँदाको पल आँखामा नाच्न थाल्यो।
मलाई असह्य भएर आयो। म खाटबाट उठें र छेउमा रहेको कुर्सी तानेर बीचमा ल्याएँ। हातमा गलबन्दी लिएर म कुर्सीमाथि उभिएँ। गलबन्दीको एक कुना घाँटीमा बेरेँ र गाँठो पारें। गलबन्दीको अर्को कुना तन्काएर माथि दलिनमा बाँध्न खोजें। दलिन अलिक माथि भएकोले मैले सजिलै भेट्न सकिनँ। खुट्टाका औंलाले मात्र कुर्सीमा टेकेर केही तन्किएपछि बल्ल दलिनमा गलबन्दीको फेरो हाल्न पुगें। निकै सास्ती खेपेर बल्लतल्ल गलबन्दी बाँधिसकेपछि सोचें— "अब उसलाई थाहा हुनेछ कि म उसलाई कति धेरै माया गर्थें। ऊ पछुताउनेछे, मलाई यसरी धोका दिएकोमा।"
मैले लामो सास फेरें र खुट्टाले बल गरेर कुर्सीलाई ठेलिदिएँ। कुर्सी भुइँमा लड्यो। म तर्लङ्ग गलबन्दीमा झुन्डिएँ। घाँटीमा जोडले गलबन्दी कसियो। म केहीबेर छटपटाइरहेँ अनि बिस्तारै शान्त भएँ। मेरा आँखा बन्द भए। मेरो अगाडि अन्धकार र शून्यता छायो।
तर, मलाई होस आयो। मैले आँखा खोलेर हेर्दा म चकित भएँ। यस्तो कसरी हुन सक्छ? म पासो लगाएर आत्महत्या गरेको मान्छे कसरी जीवित छु अझै? म गलबन्दीमा तुर्लुङ्ग झुन्डिएको छु तर पनि म कसरी अझै मरेको छैन? अहँ, यस्तो हुनै सक्दैन। घाँटीमा पासो लगाएर झुन्डिएको मान्छे कसरी जीवित हुन सक्छ? मसँग प्रश्नैप्रश्न थिए तर जवाफ एउटा पनि थिएन।
असम्भव कुराहरू भइरहेका थिए। मैले घाँटीमा कसिएको गलबन्दी फुकाएँ र खाटमा गएर बसें। म यो आश्चर्य हुनुको जवाफ खोज्दै थिएँ। त्यति नै खेर मेरा नजर दलिनतिर पुगे। म झनै चकित भएँ। अर्को ठूलो झट्का लाग्यो मलाई। चक्कर आउलाझैँ भएर आयो। दलिनमा गलबन्दी झुन्डिएको थियो अनि गलबन्दीमा म पनि तुर्लुङ्ग झुन्डिरहेको थिएँ। म आत्तिँदै खाटबाट उठें र झुन्डिएको मेरो आफ्नै शरीरलाई समाउन खोजें। तर अहँ, मैले आफ्नो शरीरलाई छुन पनि सकिनँ। मेरा हातहरू मात्र हावामा सलबलाए।
यो के हुँदैछ? म आफ्नो शरीर झुन्डिएको देख्दैछु तर त्यसलाई छुन पनि सक्दिनँ। कस्तो अचम्म! म हार खाएर फेरि ओछ्यानमा बसें र सोच्न थालें। सुनेको थिएँ, आत्मा र शरीर अलग कुरा हुन्। भौतिक शरीर मर्दैमा आत्मा मर्दैन र मृत शरीरसँग आत्माको मिलन हुन पनि सक्दैन।
अब भने मैले केही बुझेंझैँ लाग्यो। जीवित त केवल मेरो आत्मा थियो। मेरो पार्थिव शरीर त मरिसकेको थियो। म आत्मा मात्र थिएँ। सोच्दासोच्दै बाहिरबाट आवाज आयो।
"कान्छा! ए कान्छा! यति बेलासम्म किन उठ्दैनस् आज?" आवाज आमाको थियो।
म आत्तिँदै कराएँ, "आमा! यहाँ आउनुस् न।"
थाहा छैन उहाँले सुन्नुभयो वा भएन, तर पनि आउनुभएन।
केही घडी वातावरणमा एक किसिमको सन्नाटा छायो। आमाको आवाज आएन। तर एकछिन पछि फेरि सन्नाटालाई चिर्दै आमा ढोकै बाहिरबाट कराउनुभयो, "हैन तँ केटा किन सुन्दैनस् हँ? उठ् भनेको छिटो।"
म उस्तै आत्तिँदै र रुँदै बोलें, "आमा! ए आमा! सुन्नुस् न मेरो आवाज।"
आमाले ढोका ढकढकाउँदै एकोहोरो भुन्भुनाउँदै बोल्नुभयो, "हैन यो केटा बोल्दा पनि बोल्दैन त।"
मैले निकै बेर ढोका नखोलेपछि उहाँ आफै जोडले झट्काएर ढोका खोल्नुभयो। ढोका खोल्नेबित्तिकै उहाँको होस उड्यो। आत्तिएर ठूलो आवाजमा कराउनुभयो, "कान्छा! ए कान्छा! ए बाबु, के गरिस् तैंले?"
आमा मेरो झुन्डिएको शरीरलाई समातेर पागलझैँ चिच्याउँदै रुन थाल्नुभयो। बाहिरबाट बाबाको आवाज आयो, "हैन के भयो हँ?"
आमा उस्तै विह्वलको भावमा चिच्याउनुभयो, "यहाँ हेर्नू न... हाम्रो कान्छा! कान्छा... मेरो छोरा।"
बाबा दगुर्दै कोठामा आउनुभयो। मेरो शरीर पक्रिएर उभिनुभएकी आमा रुँदै भुइँमा मुर्छा परे। आमाको आवाज मधुरो भयो।
बाबाले आत्तिँदै मेरो शरीर समातेर चिच्याउनुभयो, "ए विकास! यो तैंले के गरिस् केटा?"
बाहिरबाट छिमेकीहरू 'के भयो?' भन्दै कोठामा एक-एक गरी पस्न थाले। सबै चकित भए। आमाबाबासँगै धेरै जनाको रुवाइ र चिच्याहटले कोठा शोकाकुल भयो।
म भुइँमा ढलेकी आमा भएको ठाउँमा गएर उहाँलाई उठाउन खोजें। तर अहँ! मैले आमालाई छुन सकिनँ। म कराएँ, "आमा! ए आमा! मेरो आवाज सुन्नु न..." तर पनि मेरो आवाज कसैले सुनेनन्।
मैले बुझें अब म बोल्नु व्यर्थ छ। मलाई कसैले देख्न र सुन्न सक्दैनन्। म त मरिसकेको छु। म हार खाएर फेरि कोठाको खाटमा नै थ्याच्च बसें।
आमाको फेरि आवाज आयो, "ए कान्छा! मेरो छोरा... किन यस्तो गरिस् बाबु? हामीले माया गरेको थिएनम् तँलाई? मलाई पहिला मारेको भए हुन्थ्यो नि बाबु।"
चिच्याउँदाचिच्याउँदै आवाज सुकेर आमा फेरि लडेर मुर्छा पर्नुभयो। छिमेकी फुपुले अम्खरामा पानी ल्याएर आमाको टाउकोमा छ्याप्दै किट्टिएको दाँत र मुठ्ठी परेको हात फुकाल्न चेष्टा गर्दै आफ्नो काखमा आमालाई राख्नुभयो। बाबा पनि रुँदारुँदै लड्न खोज्नुभयो। छिमेकी अंकलहरूले बाबालाई सम्हाल्दै भुइँमा बसाए।
बाबा भक्कानिएर रुँदै भन्नुभयो, "के दशा लाग्यो यो? म त मनमनै एक्लै घमण्ड गर्थें। छोरो धेरै पढेको छ, बुद्धिजीवी छ जस्तो लाग्थ्यो। कति ठूलो सपना देखेको थिएँ मैले। हे भगवान! कुन जन्मको पापको सजाय दिइस् मलाई?"
मैले कहिल्यै मेरो बाबा यसरी रोएको देखेको थिइनँ। कहिलेकाहीँ रिसाउँदाखेरि लाग्थ्यो बाबाले मलाई माया गर्नुहुन्न होला। किनभने उहाँ प्रायःजसो अलि कडा देखिनुहुन्थ्यो र ठूलो स्वरमा बोल्नुहुन्थ्यो। बाबा फेरि भक्कानो छोडेर रुँदै भन्नुभयो, "हामीले के गरेको थियौं र तँलाई? भगवानले सातवटा लगे पनि सातवटा त मेरो हो भनेर बसेको थिएँ मैले। हामीलाई के को सजाय दिइस् तँ पापीले यस्तो? तिमीहरू भनेर मैले बाह्र वर्ष बाहुन र ठकुरीको हली बसेर 'हजुर हजुर' भन्दै, कति 'छि छि' र 'दुरदुर' सहेर कति काम गरेर हिँडें। कति डोको, डालो, सुपो, चाङ्लो, नाम्लो, दाम्लो, भकारी बेचेर हुन्छ कि चाकडी गरेर हुन्छ, यत्रो कक्षा पढाएर मास्टर बनाएको थिएँ। तल ठकुरी गाउँतिर जाँदा 'मास्टरको बाउ आयो' भन्दा मेरो छाती फुलेर आउँथ्यो। तँ मास्टर भएर यस्तो बुद्धि लिने? उठ न केटा, उठ।"
हुन पनि हो, मेरा बाबाआमाले हामी छोराछोरीको लागि सबथोक गर्नुभएको थियो। आफ्नो हैसियतभन्दा धेरै गर्नुभएको थियो। दुःखसुख गरी पढाउनुभएको थियो। आफूहरूले अभाव खेपेर भए पनि हामीलाई क्षमताले भ्याएसम्म अभाव हुन दिनुभएको थिएन। बाबाले घरको पाठापाठी, भैँसी बेचेरै भए पनि मलाई राम्ररी पढाउनुभएको थियो। आमाले बिहानदिउँसो निमेक गरेर भए पनि घरलाई चाहिने सामान जुटाउनुभएको थियो।
छोराछोरीको लागि आफूहरूको ज्यान बन्धकमा राखिरहेका बाबाआमालाई बिर्सिएर मैले केही महिनाको जाली प्रेमको लागि ज्यान दिएको थिएँ। मलाई आफैदेखि धिक्कार लागेर आयो। म भक्कानो छोडेर रुन थालें। तर मेरो रुवाइ कसैले सुनेनन् र वास्ता गरेनन्। घरमा गाउँभरिका मान्छेहरू जम्मा भएर खचाखच भरिएका थिए।
यतिकैमा कोठामा दार्सिङ चौकीका प्रहरीहरू प्रवेश गरे। मान्छेहरूले बाटो छोडिदिए। प्रहरीले सबैलाई कोठाबाहिर निस्किन भने। छिमेकीहरू बाहिर निस्किए। प्रहरीले मेरो शरीरको तस्बिर लिए। कोठा र ओछ्यानको तस्बिर लिए अनि गलबन्दी काटेर मेरो शरीरलाई भुइँमा झारे।
आमाले चिच्याएर रुँदै मलाई अँगालो हालेर "मेरो छोरालाई कतै लान दिन्नँ" भन्नुभयो। तर प्रहरीले आमाको कुरा सुनेनन्।
आमाले रुँदै भन्नुभयो, "मलाई पनि कसैले विष ल्याइदेओस्। म पनि जान्छु मेरो कान्छासँगै।"
मुचुल्का उठाएर "हामीले छानबिन गर्न पोस्टमार्टमको लागि लानुपर्छ। हामीलाई आफ्नो कर्तव्य पूरा गर्न दिनुस्" भनेर एकजना प्रहरी नायबले मेरो परिवारलाई सम्झाइबुझाइ गर्दै हुनुहुन्थ्यो।
एक समूह प्रहरी भने मेरो लास गाडीमा हालेर हर्न बजाउँदै रफ्तारमा त्यहाँबाट कुदिहाल्यो। यतिका दृश्य आफैले हेरिरहेको थिएँ तर जोसँग बोल्न खोजे पनि मेरो कुरा कसैले सुन्न सकेनन् र मलाई कसैले देखेनन् पनि।
म रन्थानिएर बाहिर निस्किएँ। घरबाहिर जताततै मान्छेहरूको भीड थियो। सानासाना केटाकेटी खित्तिँदै हाँस्दै कुदिरहेका थिए। कोही आँसु पुछ्दै थिए त कोही खासखुस गर्दै थिए।
छिमेकी भाइ 'प्रेम', जुन सात कक्षामा पढ्ने मेरो विद्यार्थी थियो, ऊ रुन्चे मुख लगाएर बस्दै थियो। उताबाट उसका साथीहरू गगन, विशाल, सागर, एस्पल, विवश सबै कुदेर आएर सासैसासमा सोधे, "के भयो विकास सरलाई?"
प्रेमले जवाफ दियो, "विकास सरले त सुसाइड गर्नुभएछ।"
उनीहरू सबै एकाएक मलिन देखिए। मैले उनीहरूको अनुहार हेरिरहन सकिनँ।
म उनीहरूबाट छलिएर गाउँका केटाहरू भएको ठाउँमा पुगें। केटाहरूमध्ये एउटाले बिस्तारै भन्यो, "कस्तो हुतियारा रहेछ यार। झुन्डेर मर्नेको त माया पनि लाग्दैन।"
अर्कोले बोल्यो, "केटि धोका दिएर मरेको रे।"
फेरि अर्को बोल्यो, "मास्टरजस्तो मान्छेले के बुद्धि लिएको होला यार।"
उताबाट केटाहरूको कुरामा सही थाप्दै गाउँका एकजना बाजे मेरै आलोचना गर्दै आउनुभयो, "यस्ता सन्तान त नजन्मिनु बरु... थुक्क असत्ति! हेर त त्यो बाआमालाई जिउँदै मारेको... बिचरा।"
मैले उनीहरूको अरू कुरा सुन्न सकिनँ। म बाटोको छेउतिर पुगें। त्यहाँ मेरा साथीहरू जम्मा भएर बसेका थिए। कोही रुँदै थिए त कोही बिस्तारै बोल्दै थिए।
म उनीहरूको नजिक गएँ। साथी विनोदले बोल्यो, "किन यस्तो गरेको होला यार त्यसले?"
सुरेशले आँसु पुछ्दै भन्यो, "अस्तिदेखि तनावमा थियो तर यस्तो गर्छ होला भनेर त सोचेको पनि थिएन यार।"
पल्लवले लामो सास फेरेर बिस्तारै बोल्यो, "कस्तो केटीको लागि ज्यान दियो यार! जसका लागि ज्यान दियो त्यसलाई त अलिकति पनि फरक परेको छैन।"
विनोदले उत्सुक हुँदै सोध्यो, "उसलाई सुनाइस्?"
पल्लवले भन्यो, "अँ, अघि फोन गरेको थिएँ।"
विनोदले सोध्यो, "के भनि त उसले?"
पल्लवले सुनायो, "के भन्नू यार, 'मैले उसलाई मर भनेको होइन नि' पो भन्छे। उसको स्वरमा अलिकति पनि दुःख र पश्चात्ताप थिएन यार।"
पल्लवले फेरि थप्दै भन्यो, "मरेको खबरलेसम्म मन नपगाल्ने केटीको लागि के ज्यान दिएको होला यार विकासले।"
मलाई रिङ्गटा लाग्ला जस्तो भयो। मेरो सास रोकिन खोज्यो। मैले जसको प्रेममा मृत्यु रोजेको थिएँ, उसलाई मेरो मृत्युको खबरले कत्ति पनि फरक परेन रहेछ। मलाई आफूले व्यर्थै मृत्यु रोजेकोमा निकै पछुतो लागेर आयो। प्रेममा पागल भएर मैले मेरा बाबाआमा, घरपरिवार र साथीभाइलाई नै बिर्सिएर यस्तो गलत कदम उठाएको थिएँ। बाबाआमाको बुढेसकालको साहारा म आफैले गलत कदम चालेपछि उहाँहरूको सपना अस्तव्यस्त भएर खुशी छिनिएको थियो।
मैले केही महिनाको झुटो प्रेमको लागि वर्षौंदेखिको निश्चल प्रेमको हत्या गरेको थिएँ। जसले मलाई प्रेमको बदलामा प्रेम दिएन, उसको लागि मैले आफूलाई भन्दा बढी प्रेम गर्ने अनि मलाई संसार ठान्ने बाबाआमाको प्रेमलाई लात हानेको थिएँ। पासोमा म झुन्डिएको थिएँ तर वास्तवमा मरेको मेरो सारा परिवार थियो।
म रुँदै कोठाभित्र पसेँ। मेरा बाआमा र आफन्तहरू डाँको छोडेर रोइरहेका थिए। रुँदा रुँदै आमाको आवाज बिलिन हुन लागेको थियो। बाबाको पनि स्वर सुकिसकेको थियो। बुबाआमा दुवैजना अर्धचेत अवस्थामा हुनुहुन्थ्यो।
मलाई असह्य भएर आयो। नचाल्नुपर्ने गलत कदम मैले चालिसकेको थिएँ, अब म फेरि साधारण मान्छेको जस्तो अवस्थामा फर्कन सक्दिनँ किनकि मलाई कसैले देख्दैनन् र मेरो बोली कसैले सुन्न सक्दैनन्। लाग्यो म अब सधैँभरि यसरी नै भड्किएर बस्नुपर्छ, किनकि यत्रो ठूलो पाप गर्नेले पक्कै स्वर्गमा ठाउँ पाउन सक्दैन। मलाई अन्तिम चोटी आमाको काखमा गएर रुन मन लाग्यो र बाबाको खुट्टामा ढोगेर माफी माग्न मन लाग्यो।
म अघि बढ्न खोजें तर अदृश्य शक्तिले मलाई घाँटीमा डोरी लगाएर कालो संसारमा तान्दै थियो।
म "आमा! बाबा! मलाई यहीँ बस्न मन छ। म त्यो कालो संसारमा जान्नँ। म भड्किएको आत्मा नै सही, तर हजुरहरूको वरिपरि बस्न चाहन्छु" भन्दै अनुनय विनय गर्न थालें। तर मेरो आवाज अब एकाएक हराएर गयो।
म बोल्न खोजें तर सकिनँ। घाँटीको डोरी कस्सिँदै गयो। म त्यो कालो संसारभित्र तानिन थालें। मैले हात फैलाएँ तर समाउन सकिनँ, खुट्टा फटफटायें तर उम्किन सकिनँ। भाग्न खोजें तर भाग्न सकिनँ। हुँदाहुँदै म नचाहेरै त्यो कालो संसारमा पुगें। जताततै कालो, तातो हावा, धुलोधुवाँ उडिरहेको त्यो संसारमा मलाई सास फेर्न पनि मुस्किल भयो।
म निस्सासिएर "आमा! बाबा!" भन्दै बुरुकबुरुक उफ्रिन थालें।
यतिकैमा अन्धकारमा कसैले हात दिँदै भन्यो, "यदि यस्तो गल्ती गर्दैनौ भने म तिमीलाई उज्यालोमा लगिदिन्छु।"
म निस्सासिएरै टाउको हल्लाउँदै "हुन्छ" भनेर बाचा गरें। उसले मलाई त्रिशूल निकालेर "यहाँ समाऊ" भन्यो।
मैले त्रिशूलमा समाएँ। आँखाले उक्त मान्छेलाई नियाल्न निकै पहल गरें। छेउमा धमिलो महादेवको जस्तो आकृति देखियो। उहाँले मलाई आकाशमा बाजा-गाजाको तालमा निकै बेर उडाउनुभयो अनि पृथ्वीमा ल्याउनुभयो। बाजाको ताल सकिएपछि महादेवले शिव ताण्डब गर्न थाल्नुभयो । एकछिनमा महादेवको त्रिशूल आकाशमा गएर स्वास्तिक चिन्हमा बदलियो अनि आकाशमा सूर्य देखिन थाल्यो। महादेव अलप हुनुभयो।
जब त्यो अत्याधिक उज्यालोले मेरो नेत्र खुल्यो, तब मैले आफूलाई ओछ्यानमा पाएँ। ल्यापटपको स्क्रिनको बत्ती बलेको रहेछ। कानको हेडफोन घाँटीमा कस्सिएर बेरिएर कानमा शिव ताण्डबको धुन घन्किरहेको रहेछ। कम्मलभित्र शरीर गर्मीले असिनपसिन भएको रहेछ। हात बाउन्डिएको रहेछ अनि खुट्टा खोच्चिएको रहेछ। अनि त... सबैभन्दा ठूलो कुरा - त्यो आत्महत्याको घटना त सब सपना रहेछ। मैले कस्तो नराम्रो सपना देखेको रहेछु। मलाई कस्तो नराम्रो ऐठन भएको रहेछ। सपनाको त्यो कस्तो विचित्रको संसार! एकछिन घोरिएँ अनि पानी खाएर ह्याङओभर हटाएँ।
मोबाइलमा अञ्जु पन्तका विरहका गीतहरु क्रमशः 'तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमे पनि, मलाई घृणा गर्छन् भन्ने हल्लाहरू सुनेपनि । तिम्रै माया लाग्छ कसम, तिम्रै माया लाग्छ…', 'हाँस्नलाई ओठ खोले आँखाभरी आँसु भयो, बाँच्नलाई साथ रोजें दुनियाँ टाढा भयो…', 'तिमीलाई माया गर्ने अधिकार भए, तिमीसँगै जुनी काट्ने अधिकार भए, म त ज्यानकै बाजी लाउन तयार थिएँ, तिमी त अर्कैको भइसकेछौ, सिन्दुरपोते अर्कैको लाइसेकेछौ कसम खाइसकेछौ...' यस्तै विरहका गीतको प्लेलिस्ट युट्युब म्युजिकमा बजाएर एयरफोनले कानमा सुनेर सुतिरहेको थिएँ। सायद मैले गीतको भावसँगै बिछोडिने प्रेमीको रूपमा आफूलाई लिएछु क्यार! मनोवैज्ञानिक प्रभावले सपना त्यस्तै उल्झिएर आयो।
एकचोटि विरक्त लागेर आयो आफ्नै सेन्टिमेन्टल गीत प्रतिको क्रेज भएको बानी सम्झेर। सपनामै भए पनि साथ दिने भगवानको नाम "ॐ नमः शिवाय" भनेर पुकारा गरें।
कानबाट हेडफोन झिकेर गीत बन्द गरें। ल्यापटप बन्द गरेर टेबुलमा मिलाएर राखें अनि एउटा प्रतिज्ञा गरें— "बरु जीवन सन्यासी बनेर बिताउँछु तर म कहिल्यै प्रेमको नाममा आत्महत्या गर्दिनँ।"
Post a Comment