एउटा थोत्रो स्कुटी, बुबाको औकातको परिभाषा
पाँच दिनको माइती बसाई सकेर जब सुनिता आफ्नो घर फर्किइन्, उनका श्रीमान् गेटमै उनको प्रतीक्षा गरिरहेका थिए। गेटभित्र प्रवेश गर्नेबित्तिकै ग्यारेजमा टल्किरहेको नयाँ मर्सिडिज कार देखेर उनी टक्क अडिइन्। उनको आश्र्चयचकित आँखाको भाषा बुझेर श्रीमानले मुसुक्क हाँस्दै हातमा गाडीको साँचो थमाइदिए र भने, "भोलिदेखि तिमी यही गाडी चढेर चितवन मेडिकल कलेज जानू प्रोफेसरज्यू!"सुनिता निःशब्द भइन्। खुसीको सीमा रहेन। उनले भावविह्वल हुँदै श्रीमानलाई अङ्गालो हालिन्। उनका श्रीमानको उपहार दिने शैली सधैँ यस्तै अनौठो र आकस्मिक हुने गर्थ्यो। उनीसँग पहिलेदेखि नै 'स्विफ्ट डिजाएर' गाडी छँदाछँदै पनि श्रीमानले यति महँगो उपहार थपिदिएका थिए। चौध वर्षको वैवाहिक जीवनमा उनले पाएका उपहारहरूको सूची गन्न थाल्यो भने उनी आफैँ थाक्ने थिइन्। उनका श्रीमान् इमानदार थिए, कहिल्यै घुस लिँदैनथे; तर श्रीमतीलाई खुसी पार्न सापटी नै लिएर भए पनि उपहार ल्याइदिन्थे।
अङ्गालोबाट अलग भएर सुनिताले गाडीको निरीक्षण गर्न थालिन्। ठ्याक्कै उनलाई मनपर्ने रङ्ग थियो। तर अचानक उनको नजर ग्यारेजको त्यो कुनातिर गयो, जहाँ उनको पुरानो स्कुटी हुने गर्थ्यो। त्यहाँ अहिले खालि थियो।
"लौ! मेरो स्कुटी कहाँ छ?" उनले अलि ठूलो स्वरमा सोधिन्।
श्रीमानले सामान्य भावमा जवाफ दिए, "मैले बेचिदिएँ सानु! अब यो नयाँ गाडी आएपछि त्यो थोत्रो स्कुटर के राख्नु? पार्किङको ठाउँ पनि त छैन।"
त्यो सुन्नासाथ सुनिताको मुटुमा ढ्याङ्ग्रो ठोकियो। उनको अनुहारको रङ्ग उड्यो। उनले आक्रोश र पीडा मिसाउँदै भनिन्, "मलाई एक वचन नसोधी तपाईंले त्यसलाई कसरी बेच्न सक्नुभयो?"
"पुरानो त थियो नि, किन रिसाएकी?" श्रीमानको त्यो भावहीन स्वर सुन्नेबित्तिकै सुनिताका आँखाबाट आँसुका धारा बग्न थाले। श्रीमानका लागि त्यो केवल फलामको एउटा थोत्रो टुक्रा थियो होला, तर सुनिताका लागि त्यो उनको धड्कन थियो— उनका बुबाको अमूल्य निशानी!
उनले रुँदै भनिन्, "म तपाईंको उपहारको सम्मान गर्छु, तर मलाई त्यो स्कुटी बिना तपाईंको नयाँ गाडी चाहिँदैन! तपाईंले मेरो सबैभन्दा प्यारो चिज मलाई नसोधी बेचिदिनुभयो।"
सुनिता रोएको आवाज सुनेर सासूआमा बाहिर निस्कनुभयो र बुहारीको शिर सुम्सुम्याउनुभयो। उहाँले छोरालाई हप्काउँदै भन्नुभयो, "मैले तँलाई पहिल्यै भनेकी थिएँ, बुहारीलाई सोधेर मात्र केही गर् भनेर। जा, अहिले नै गएर त्यो स्कुटर फिर्ता लिएर आइज!"
श्रीमती रोएको कहिल्यै नदेखेका श्रीमान् नतमस्तक भए। उनलाई आफ्नो गल्तीको महसुस भयो। "सरी सानु, मलाई थाहा थिएन त्यो स्कुटरमा तिम्रो धड्कन जोडिएको छ भनेर। मैले त कवाडीलाई सात हजारमा बेचिदिएको थिएँ। म अहिले नै गएर लिएर आउँछु," भन्दै उनी कवाडी पसलतिर दौडिए।
सुनिता कोठामा गएर थचक्क बसिन् र विगतको यादमा हराउन थालिन्। त्यो स्कुटी केवल एउटा साधन थिएन, त्यो उनका बुबाको 'औकात' थियो। कलेज पढ्दा एकजना धनी साथीले नयाँ स्कुटी ल्याउँदा सुनिताले मूल्य सोधेकी थिइन्। तर त्यस साथीले सबैका अगाडि उनलाई अपमान गर्दै भनेकी थिइन्— "यसको मूल्य तेरो र तेरो बुबाको औकातभन्दा माथिको कुरा हो!"
त्यो वचनले सुनिताको आत्मसम्मानमा ठूलो चोट पुर्याएको थियो। घर पुगेर उनी आमालाई अङ्गालो हालेर रोएकी थिइन्। बेलुका बुबा आएपछि उनले सोधेकी थिइन्, "बुबा, के हामी साँच्चै गरिब छौँ?" बुबाले उनको शिर सुम्सुम्याउँदै भन्नुभएको थियो, "हामी गरिब छैनौँ छोरी, केही दिनका लागि हाम्रो समय मात्र गरिब चलिरहेको छ।"
भोलिपल्ट बुबाले एउटा सुन्दर सेतो स्कुटी ल्याइदिनुभएको थियो। सुनिताका लागि त्यो कुनै स्वर्ण-जडित रथभन्दा कम थिएन। पाँच दिनपछि उनी राजकुमारी झैँ शानका साथ कलेज गएकी थिइन्। तर पछि उनले थाहा पाइन्— बुबाले त्यो स्कुटी किन्नका लागि आफ्नो टेम्पो बेचेका रहेछन् र विगत छ महिनादेखि उनलाई थाहै नदिई रिक्साको पैडल मारिरहेका रहेछन्।
जब उनले बुबालाई रिक्सा चलाउँदै गरेको देखिन्, उनको मुटु फुटेर आयो। उनले रुँदै सोधेकी थिइन्, "बुबा, तपाईंले मेरो लागि किन यति धेरै दुःख सहनुभयो?" बुबाले भन्नुभएको थियो, "तिमी मेरो सान हौ छोरी, तिम्रो आँखामा आँसु आएको म कसरी हेर्न सक्छु र?"
हो, त्यही स्कुटी सुनिताको बुबाको रगत र पसिनाले आर्जेको 'स्वर्ण-जडित रथ' थियो, जसलाई उनका श्रीमानले अन्जानमा कवाडीमा बेचिदिएका थिए।
अचानक सुनिताको ध्यान भङ्ग भयो। बाहिर चिरपरिचित आवाज सुनियो— 'फट-फट-फट-फट'।
उनले झ्यालबाट हेरिन्, श्रीमान् त्यही पुरानो स्कुटी डोर्याउँदै ल्याउँदै थिए। त्यो महँगो मर्सिडिजको अगाडि उनको पुरानो स्कुटी ल्याउँदा श्रीमान् अलि अजीव देखिन्थे, तर सुनिताको नजरमा उनी संसारकै सबैभन्दा प्यारा 'राजकुमार' देखिन्थे, जसले उनको भावनाको कदर गर्दै उनको संसार फिर्ता ल्याइदिएका थिए।

Post a Comment